विराटनगर : मोरङको अलगअलग स्थानमा टिपर र मोटरसाइकलको ठक्करबाट आइतबार राती दुई जनाको ज्यान गएको छ। कटहरी गाउँपालिका–३ स्थित भित्री सडक खण्डमा को १ ख ४७८३ नम्बरको टिपरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको हो।

पश्चिमतर्फ जाँदै गरेको टिपरले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री कटहरी–२ का ३७ वर्षीय बच्चु मल्लिकलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो। उपचारका लागि कोसी अस्पताल विराटनगर पुर्‍याउनसाथ मल्लिकको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए।
उनका अनुसार दुर्घटनापछि टिपर चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१४ का २८ वर्षीय मुकेश चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ। तीव्र गतिमा रहेको टिपरले ठक्कर दिएर ज्यानै जाने गरी दुर्घटना गराएको प्रहरीको भनाइ छ। दुर्घटनापछि आक्रोसित बनेका स्थानीय बासिन्दाले टिपर तोडफोड गरिदिएका छन्। तोडफोडबाट टिपरको अगाडिको भागमा क्षति पुगेको छ। घटनास्थलमा जम्मा भएको भीड आक्रोशित बनेर ढुंगामुडा गर्दै तोडफोड र आक्रमणमा उत्रन थालको थियो। प्रहरीले टिपर चालकलाई भने आक्रमण हुनबाट जोगाउन सक्यो।

त्यस्तै पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सुन्दरहरैँचा नगरपालिका–५ दुलारीमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ। पूर्वतर्फ जाँदै गरेको को १८ प १८०२ नम्बरको मोटरसाइकलले राति १० बजेतिर ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका सुन्दरहरैँचा–६ का ५६ वर्षीय इन्द्रबहादुर श्रेष्ठको मृत्यु भएको डीएसपी राईले बताए।

दुर्घटनापछि गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ज्यान गएको हो। दुर्घटनामा परेर मोटरसाइकल चालक इटहरी–५ का २६ वर्षीय सेवन्तमणि कोइराला पनि गम्भीर घाइते भएका छन्। उनको नोबलेमै उपचार भइरहेको छ। प्रहरीले मोटरसाइकललाई नियन्त्रणमा लिएर दुर्घटनाको अनुसन्धान थालिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!