काठमाडौं : गएको चैतदेखि नेपालमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । अहिले दैनिक ५ हजारभन्दा बढी संक्रमित भेटिन थालेका छन् भने यसबाट मृत्यु हुनेको संख्या पनि बढ्दो छ । संक्रमणको जोखिम बढेपछि काठमाडौंसहित विभिन्न ठाउँमा निषेधाज्ञा लगाइएको छ । यो समयमा नेपाली कलाकारहरुले सामाजिक सञ्जालको माध्यमबाट कोरोनाबारे सर्वसाधारणमा जनचेतना फैलाउन थालेका छन् ।

अभिनेत्री वर्षा सिवाकोटीले शनिवार फेसबुकमा स्टाटस लेख्दै नियमित व्यायाम गरेर शारीरिक र मानसिक रुपमा तन्दुरुस्त रहन आग्रह गरेकी छन् । उनले लेखेकी छन्, ‘घरभित्रै बसौं, घरकै स्वास्थयकर खाना खाऔँ, नियमित व्यायाम गरौं, शारिरीक तथा मानसिक रूपमा तन्दुरुस्त रहौं । सामान्य रूघालाई घरमै घरेलु उपचारबाट निको पारौँ । नियमित रूपमा तातो पानी खाऔँ ।’

उनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनु परेमा माक्स तथा सेनिटाइजर प्रयोग गर्न आग्रह गरेकी छन् । ‘कुनै पनि शंकाजनक लक्षण देखिएमा परिवारका सदस्यहरुभन्दा पर बस्नुहोला । स्वास्थ्य जटिल बन्दै गए मात्र अस्पताल जानुहोला । यो लकडाउको समयलाई भार हैन, आभार सम्झनुहोला । आज सजक भयौं भने भोलि सहज हुन्छ,’ उनले फेसबुकमा लेखेकी छन् ।

गत चैतमा फिल्म ‘ए साथी सुन’ को छायांकन पूरा गरेकी वर्षाले लकडाउन अन्त्य भएपछि फिल्म ‘परदेशी २’ को पनि छायांकन सकेकी थिइन् । सोलो अभिनेत्रीको रुपमा अभिनय गरेका फिल्म बक्सअफिसमा सफल हुन नसके पनि वर्षाको करिअर रफ्तारमा चलेको छ । उनी आजसम्म फिल्मविहीन हुनु परेको छैन । बरु, सेड्युल जुधेर उनले साइन गरेका फिल्म समेत छाड्नु परेको छ ।

२०७८ बैशाख २०, सोमबार १२:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय