काठमाडौं : राजधानी काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । कारोना संक्रमण नियन्त्रण र रोकथाम गर्नको लागि सरकारले हालसम्म ७३ वटा जिल्लामा लकडाउन घोषणा गरिसकेको छ ।

देशभरका अस्पतालको वेड कोरोना संक्रमितले भरिँदा गम्भीर संक्रमितले उपचार नपाउने अवस्थासमेत सृजना भएको छ । सरकारले थप कोराना संक्रमण फैलिन नदिन लकडाउन घोषणा गरे पनि नागरिकहरूले अटेर गर्ने क्रम अझै घटेको छैन् ।

प्रहरीले सात वटा प्रदेशमा आधा महिनाको अवधिमा २५ हजार चार पाङग्रे र ४८ हजार मोटरसाइल गरी ७३ हजार साना ठूला सवारी साधनमाथि कावाही गरेको बताएको छ । प्रहरीले नागरिकलाई अनावश्यकरूपमा घरबाट बाहिर नहिँड्नको लागि ५ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

प्रहरीले यस अवधिमा एक लाख पचास हजारभन्दा बढी नागरिकहरूलाई माक्स वितरण गरी छोडेको छ । प्रहरीले ‘नागरिकले नटेर्दा प्रहरी हैरानको मास्क खोइ’ अभियानअन्तर्गत सात हजार आठ सय कार्यक्रम सञ्चालन गरेको प्रवक्ता वसन्तकुमार कुँवरले बताउनुभयो ।

लकडाउन कोरोना संक्रमण र नियन्त्रण गर्नको लागि गरिएको बताउँदै प्रवक्ता कुँवरले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘हरेक नागरिक यति बेला जिम्मेवार बन्न आवश्यक छ, प्रहरीलाई अनावश्यकरूपमा हैरान पार्ने काम नहोस् ।’नागरिकहरू सचेत भएको अवस्थामा कोरोना महामारी नियन्त्रण गर्न सहयोग पुग्ने बताउँदै उहाँले सडकमा अनावश्यकरूपमा विभिन्न बहानाबाजी गर्दै नहिड्न आग्रह गर्नुभयो ।

कोरोना नियन्त्रण र रोकथामको लागि हाल देशभर साढे ३३ हजार प्रहरी परिचालन गरिएको र १० हजारलाई तयारी अवस्थामा राखिएको प्रहरीले बताएको छ ।प्रहरीले माइकिङ गर्ने, तपाईंको मास्क खोई ? जस्ता जनचेतनामूलक कार्यक्रम दैनिकरूपमा गर्दै आए पनि नागरिकबाट बेवास्था गर्ने क्रम बढेको नेपाल प्रहरीका प्रवक्ता कुँवरले बताउनुभयो ।तर, लकडानलाई नै चुनौती दिँदै नागरिक भने वहानाबाजी गरेर सडकमा हिडने क्रम नरोकिएको प्रहरीले बताएको छ ।

२०७८ जेष्ठ ४, मंगलवार ०८:३१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय