निश्चित समयावाधिमा विषयवस्तुको प्राप्ति कुन हद सम्म भयो भनेर विषयवस्तुको उपलब्धी परीक्षण गर्ने मूल्याङ्कनको साधनलाई परीक्षा भनिन्छ। परीक्षाले विद्यार्थीको उपलब्धीको मापन गर्दछ। पाठको अन्त्यमा लिइने परीक्षा एकाई परीक्षा, मासिक परीक्षा, त्रैमासिक परीक्षा, अर्धवार्षिक परीक्षा, वार्षिक परीक्षा र प्रयोगात्मक परीक्षा आदि परीक्षाका उदाहरणहरु अन्तर्गत पर्दछन्। तर यस पालि कोभिड १९को पहिलो र दोस्रो लहरले मानवको जीवन यापनमा प्रत्यक्ष प्रभाव पर्यो।

मानिसका नियमित कार्यहरु लगायत सबै तह कक्षाका परीक्षाहरु प्रभावित भएका छन्। विगत वर्ष २०७६ चैत्र देखि नै पठन पाठन प्रभावित हुँदै यस वर्ष पनि कोभिड १९को दोस्रो लहरले स्थिति दिन प्रतिदिन भयावह बन्दै गएको अवस्था सर्वविदित नै छ। अहिलेको स्थितिमा तुरुन्तका तुरुन्त समाधान वा समान्य वा रोकिएला भनि अनुमान गर्न कठीन छ। त्यसैले केही न गर्नु भन्दा केही गर्दै जानू वा छलफल वा अन्तरकिर्या गरी पूर्वतयारी गर्नु र गराउनु आवश्यक देखिन्छ। जसरी किसानले वर्षभरि खेती गर्दा लगानीको रुपमा श्रम/धन/मन लगाएर घाम रहेको/पानी परेको समयमा पनि पटकपटक मल/जल/खाद्यको व्यवस्था गर्दै रेखदेख गरी समय पुगेपछि प्राप्त भएको अन्न बालिलाई घरभित्र भित्र्याउँदछन्। यसरी खडेरी परे पनि/नपरे पनि प्राप्त अन्न बालीलाई स्वीकार्दछन्। तर किसान हरेस खाइरहेको हुँदैन। ठीक त्यसरी नै यस शैक्षिक सत्रको सुरुमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा पठन पाठन (शिक्षण सिकाइ किर्याकालाप) प्रभावित भए पनि केही समय पछि निरन्तर रुपमा पठनपाठन चलेको सर्वविदित नै छ।

तसर्थ भएको पठनपाठनलाई आधार लिई वार्षिक मूल्याङ्कन गरी आएको नतिजालाई स्वीकार्नु पर्ने अवस्थाको सृजना भएको छ। विद्यार्थी मूल्याङ्कन शैक्षिक प्रक्रियाको एक अभिन्न अंग हो। वर्ष भरीको पठन पाठन को उपलब्धीको लेखाजोखा मूल्याङ्कनद्वारा गरिन्छ। त्यसैले गत वर्षको मूल्याङ्कनबाट पाठ सिक्दै केही आवश्यक अन्तरकिर्या सञ्चालन गरी आएका सुझावहरुलाई समेट्दै परिस्थिति समान्यतर्फ फर्कन थालेपछि उपयुक्त ढाँचाको प्रयोग गरी विद्यालयले उपयुक्त समयमा उपयुक्त विधि अवलम्बन गरी परीक्षा लिन सकिन्छ।

परीक्षाको आवश्यकता किन ?
विद्यार्थीहरुको स्तर योग्यता र क्षमता पत्ता लगाउन
विद्यार्थिहरुको शैक्षिक उपलब्धिको लेखाजोखा गर्न
सिकाइको लागि पृष्ठपोषण प्रदान गर्न
पाठ्यक्रम र पाठ्यपुस्तकको लेखाजोखा गर्न
सिकाइ सम्बन्धित समस्याहरु पत्ता लगाउन
विद्यार्थीहरुलाई सिकाइप्रति उत्प्रेरित गर्न
शिक्षण विधि र सामग्री आदिको उपयुक्ता बारे लेखाजोखा गर्न
विद्यार्थिहरुलाई श्रेणीकरण गर्न

नेपालको सन्दर्भमा निरन्तर मूल्याङ्कन प्रणालीको अवस्था
कक्षा १ देखि ७ सम्म निरन्तर मूल्याङ्कन पद्धति तथा कक्षा १ देखि ३ सम्म निरन्तर मूल्याङ्कन सहित उदार कक्षोन्नतिको व्यवस्था अपनाइदै आएको छ।
कक्षा ८मा स्थानीय तह स्तरीय परीक्षा (आधारभूत तह उतिर्न परीक्षा ) पद्धति (स्थानीय सरकार सञ्चालन एन २०७४ अनुसार) अपनाइएको छ।
कक्षा ९मा विद्यालयमा आधारित मूल्याङ्कन पद्धति तथा कक्षा १०मा माध्यमिक शिक्षा परीक्षा राष्ट्रिय परीक्षा बोर्डले अक्षारांकन पद्धति अपनाई (प्रदेश स्तरमा) व्यवस्थापन गर्दछ। कक्षा ११ र १२ मा राष्ट्रिय परीक्षा बोर्डले राष्ट्रिय रुपमा अक्षारांकन पद्धतिमा मूल्याङ्कन गर्दछ।साथै कक्षा १२को अन्त्यमा राष्ट्रिय रुपमा सञ्चालन गरिने परीक्षालाई माध्यमिक शिक्षा उतिर्न परीक्षा भनिन्छ।
कक्षा ३ मा विद्यार्थी पठन सक्षमता परीक्षण हुने, कक्षा ३, कक्षा ५ र ८ को उपलब्धी परीक्षा लिने गरिएकोमा विद्यालय क्षेत्र विकास कार्यक्रम (२०७३/०७४-२०७९/०८०) ले कक्षा ५, ८ र १०मा NASA मार्फत उपलब्धी परीक्षण गर्ने व्यवस्था गरेको छ।
अहिलेको अवस्थामा मानव जीवनको रक्षा गर्दै परिस्थितिमा सुधार भएपछि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड भित्र रही सरकारका निर्देशनहरु पालना गर्दै विद्यालयलबाट परीक्षा/मूल्याङ्कन गर्नको लागि सम्भावित सुझावहरु मध्ये उपयुक्त सुझाव अवलम्वन गर्न सकिन्छ।

सम्भावित अपनाउन सकिने सुझावहरु के-के हुन सक्छन् त ?
सुझाव न १
विद्यालय स्वयमले लिने परीक्षा सम्बन्धी किर्याकलाप उपयुक्त कार्य ढाँचा बनाई सो कार्य ढाँचामा उल्लेख भएबमोजिम विद्यालय स्वयमले मापदण्ड बनाई विविध पक्ष समेट्दै सुरक्षित रुपमा आन्तरिक मूल्याङ्कन गर्न सकिन्छ। साथै स्थानीय तह र विद्यालयले विद्यालयमा हुने सबै तह विषय प्रकृतिका परीक्षाहरुको सञ्चालन र व्यवस्थापन गर्दा नेपाल सरकार प्रदेश सरकार र स्थानीय तहबाट समयसमयमा जारी गरिएको जन स्वास्थ्य एवम् सुरक्षा सम्बन्धी मापदण्डहरु पूर्ण रुपमा पालना भएको सुनिश्चित गरी परीक्षा लिन सकिछ। कक्षा ११ को परीक्षा र माध्यमिक शिक्षा उत्तिर्ण परिक्षा (कक्षा १२को परीक्षा) लगायत राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालन र व्यवस्थापन हुने परीक्षाका सम्बन्धमा राष्ट्रिय परीक्षा तयार पारिएको मापदण्ड समयसमयमा दिएकको जिम्मेवारी अनुसारका कार्यहरुको पालना गर्दै परीक्षा लिन सकिन्छ।

सुझाव २
शैक्षिक सत्र २०७७को वार्षिक मूल्याङ्कन पाठ्यक्रमले व्यवस्था गरे बमोजिम विद्यालयले कोभिडको अवस्था विश्लेषण गरी अनूकुल उपयुक्त मूल्याङ्कन प्रक्रिया (अनलाइन परीक्षा/अफलाइन परीक्षा/यसै शैक्षिक सत्रमा सञ्चालित भएको त्रैमासिक वा अर्धवार्षिक परीक्षाको आधारमा मूल्याङ्कन गरेर/ टेलिफोन निरन्तर मूल्याङ्कन इमेलबाट प्रश्नहरु पठाएर वा अन्य उपयुक्त ढाँचाको प्रयोग गरी )मूल्याङ्कन गर्न सकिन्छ।

सुझाव न ३
SEE र कक्षा १२ बाहेकका कक्षागत परीक्षाहरु विद्यालय स्वयमले विद्यालयमा पठन पाठन भएको पाठ्यवस्तु पर्ने गरी स्थिति सामान्य भएपछि निश्चित मापदण्ड बनाई निरन्तर मूल्याङ्कन पद्धतिद्वारा परीक्षा लिन सकिन्छ र सोको पालना भएन नभएको सम्बन्धमा नजिकको स्थानीय तहबाट अनुगमन गर्न सकिन्छ। साथै कक्षा ८को हकमा पालिका स्तरिय अन्तर किर्या तथा छलफल गरी उपयुक्त ढाँचाको प्रयोग गरी एकरुपता कायम हुने खालको पालिका स्तरिय परीक्षा सञ्चालन गर्न सकिन्छ र SEE तथा कक्षा १२को हकमा प्रश्नपत्रहरु इमेलमार्फत पठाई २० २५को समूह बनाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड भित्र रहेर सरकारका निर्देशनहरु पालना गर्दै स्थिति सामान्य भएपछि मात्र परीक्षा लिने तर त्यस्तो गर्न सम्भव नभएमा विगतको कमीलाई सुधार गर्दै विषय शिक्षक प्रधानाध्यापक पालिका हेर्ने शिक्षा प्रमूख र प्रशासकिय प्रमूख सहितको मूल्याङ्कन समिति गठन गरी निर्धारित फर्मेटमा आन्तरिक मूल्याङ्कन गर्न सकिन्छ र उच्च शिक्षा क्षेत्रमा दूर शिक्षा /पत्रचार/ भर्चुअल/ अनलाइन मध्ये उपयुक्त कुनै विधि अबलम्बन गर्न सकिन्छ। साथै प्रयोगात्मक परीक्षा अन्तर्गत वस्तुगत प्रश्नहरु इमेलमार्फत पठाएर परीक्षा लिन सकिन्छ।

निष्कर्ष
कोभिड १९को संक्रमण पहिलो र दोस्रो सँगसँगै नयाँ प्रजातिका भाइरस नेपालमा पनि फैलिएको हुँदा यसबाट सबै उमेर समूहका व्यक्तिहरुलाई प्रभाव पर्न सक्ने भनी समाचार माध्यमबाट आएको हुँदा यस्तो परिस्थितिमा भौतिक उपस्थिति गराई परीक्षा लिनु पर्ने अवस्था एकदमै न्यून देखिन्छ। तसर्थ यस्तो अवस्थामा स्थानीय र विद्यालय तहमा समीक्षा गरी विद्यालयलाई स्रोत साधन उपलब्ध गराई उपयुक्त ढाँचाको प्रयोग गरी विविध पक्ष समेट्दै उपयुक्त विधि अवलम्बन गर्दै मूल्याङ्कन प्रक्रियालाई सहज र सबैको पहुँच योग्य बनाई जोखिमको अवस्था हेरी आवश्यकता अनुसार परीक्षा लिन सकिन्छ।औपचारिक शिक्षा र परीक्षा एकै सिक्काका दुई पाटाजस्तै हुन्। शिक्षा प्राप्त गर्ने व्यक्तिको सिकाइ उपलब्धी मापन गरी प्रमाणीकरण प्रयोजनको लागि परीक्षा पद्धतिको विकास गरीएको हो।

विद्यार्थीहरुमा भएका ज्ञान सिप र प्रवृतिजस्ता गुणहरुलाई आधार मानेर त्यसलाई संख्यात्मक रुपमा व्याख्या गरी अकं प्रदान गरिन्छ र त्यसउसको उनीहरुको स्तर क्षमता योग्यता निर्धारण गरिन्छ। परीक्षा एउटा नाप जाँच गर्ने कार्यक्रम हो। जहाँ भौतिक अभौतिक (शैक्षिक ) वस्तु वा कार्यमा भएका गुणहरुलाई निर्धारित नियम अनुसार अंक प्रदान गरिन्छ। परीक्षा जति शुद्ध र प्रभावकारी हुन्छ त्यतिनै मूल्याङ्कन गर्ने ठोस आधार प्राप्त हुन्छ। परीक्षा यस्तो प्रक्रिया हो जसबाट सबै सहमत भएको नियम अनुसार कुनै वस्तुलाई अंक प्रदान गरी उपलब्धी हेरिन्छ। त्यसैले कोरोनाको दोस्रो लहरमा पनि उपयुक्त विकल्प सहीतको ढाँचामा परीक्षाको व्वस्थापन गरी बालबालिकाहरुको शैक्षिक उपलब्धीको लेखाजोखा गरी कक्षोनति गर्न सकिन्छ।

नाम: राजदेव यादव
पद: शाखा अधिकृत
शिक्षा विकास तथा समन्वय इकाई, धनुषा।

२०७८ जेष्ठ ७, शुक्रबार ११:५३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!