बर्दिबास (महोत्तरी) : कोभिड-१९ महाव्याधि र त्यसलाई छल्न जिल्लामा जारी निषेधाज्ञाबीच महोत्तरीको बर्दिबास क्षेत्रमा महाव्याधि प्रतिकार्यमा बढेको सहयोगले राहत दिएको छ । आपद्का बेला मन फुकाएर सहयोग गर्ने थपिदै गएपछि महाव्याधिसँगैको निषेधाज्ञामा सर्वसाधारणले राहत पाएका छन् ।

बर्दिबास अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको सुरक्षाका लागि बिभिन्न संस्था र व्यक्तिले स्वास्थ्य सामग्री प्रदान गर्नसँगै बिरामीको सघन उपचारका लागि लगातार अकिस्जनको सहयोग हुँदै आएको छ । “हामीलाई सामान्यतया सर्जिकल मास्क, ह्याण्डग्लोथ, सेनिटाइजर र फेससिलसहितका सुरक्षा सामग्रीको अभाव खट्केको छैन” अस्पतालका जनस्वास्थ्य निरीक्षक तथा बर्दिबास नगरपालिकाको स्वास्थ्य शाखाका कोभिड-१९ व्यवस्थापन केन्द्रका स्रोतव्यक्तिसमेत रहनु भएका रामबाबु यादवले भन्नुभयो, “लाग्दो जेठदेखि हामीले सञ्चालनमा ल्याएको आइसोलेशनमा यहाँका मनकारी व्यक्ति र संस्थाले अक्सिजनको अभाव पनि हुन दिनु भएको छैन ।”

जताततै अक्सिजनको अभावले उपचार प्रभावित भएको खबर प्रवाहित भइरहेका बेला बर्दिबास-१ का ब्यापारी उमेश साहले ५० सिलिण्डर अक्सिजन उपलव्ध गराउनु भएपछि अस्पतालले कोविड-१९ सङ्क्रमितका लागि सघन उपचार सेवा शुरु गरेको थियो । “हामीले सेवा शुरु गरेपछि अक्सिजनको अभाव खेप्नु परेन” जनस्वास्थ्य निरीक्षक यादव भन्नुहुन्छ, “एकपछि अर्को सेवा पाई रहेका छौं ।” भर्खर हिजो सोमबार साँझमात्र श्रेष्ठ इलेक्ट्रिक बर्दिबासका सञ्चालक सन्तोस श्रेष्ठबाट ४२ सिलिण्डर अक्सिजन प्राप्त भएको अस्पतालले जनाएको छ । यसअघि रेडक्रस बर्दिबास उपशाखाले ४० सिलिण्डर अक्सिजन उपलव्ध गराएको थियो ।

“जसले आफ्नो आर्थिक सामथ्र्यले जति सकेका छन् , मन फुकाएर सहयोग गरेका छन्” अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. सुनिलकुमार दाहा भन्नुहुन्छ, “स्वास्थ्य सामग्री वा अक्सिजनको अभाव भए हामीलाई भन्नोस् है भन्नेको लामो पङ्ति छ ।” अस्पतालले सम्झनासाथ त्यस्ता सामग्री आउने गरेको डा. दाहा बताउनुहुन्छ ।

केही दिनअघिमात्र हेल्प फाउण्डेशन बर्दिबासमा आवद्ध बर्दिबासका उत्साही युवाले महाव्याधिका बेला अग्रपङ्तिमा रही काम गर्ने जिल्लाका पत्रकारलाई सहयोग पुगोस् भन्ने उद्देश्यका साथ नेपाल पत्रकार महासङ्घ, महोत्तरी शाखाको विपद् व्यवस्थापन कोषमा ५० हजार रकम दिएका छन् । यो कोषमा बर्दिबास-१४ स्थित होटल गौतमका कामदारले आफ्नो तलबबाट ५१ हजार ७३५ थपे । त्यसैगरी बर्दिबास-१ स्थित होटल विनायकका सञ्चालक विष्णु खड्काले ३१ हजार रकम कोषमा दिनु भएको महासङ्घ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलले बताउनुभयो । यसबाहेक बर्दिबासमा नागरिकस्तरबाट गठित कोभिड-१९ सङ्कट व्यवस्थापन समिति र होटल विनायकका सञ्चालक खड्काबाट पर्याप्त स्वास्थ्य सामग्री पनि प्राप्त भएको मण्डलको भनाइ छ ।

यसैगरी होटल विनायकका सञ्चालक खड्काले सीमा सुरक्षामा खट्ने सशस्त्र प्रहरीलाई कोभिड-१९ महाव्याधिबाट बच्न पूर्वसुरक्षा र सतर्कताका लागि आफैंले सशस्त्र प्रहरी बल, प्रदेश-२ कार्यालयमा स्वास्थ्य सामग्री पुर्‍याउनुभयो । खड्काले प्रदान गर्नु भएको सामग्रीमा सात हजार सर्जिकल मास्क, दुई हजार गोदरेज साबुुन, ५०० थान ह्याण्डग्लोथ, ४० लिटर सेनिटाइजर, १०० थान फेससिल, २० थान पकेट सेनिटाइजर र एक थान अटोमेटिक सेन्सर सेनिटाइजर मेसिन रहेको सशस्त्र प्रहरी बल, प्रदेश-२ कार्यालय छिन्नमस्ता वाहिनी बर्दिबास-४ महोत्तरीले जनाएको छ ।

यस्तै गत वर्ष (२०७७) मा बर्दिबास नगरपालिकाले सञ्चालन गरेको कोभिड-१९ विरुद्धको अभियानमा क्वारेन्टिनमा दैनिक ४५ जना सरदर बसेका हरुलाई स्वास्थ्य सामग्रीसँगै एक महिनासम्म दैनिक चार पटक खाना/ खाजा ख्वाउनु भएको बर्दिबासबासी सम्झन्छन् । “जताततै क्वारेन्टिनमा खानपान र बसोबासको राम्रो प्रवन्ध भएन भन्ने गुनासो चुलिएका बेला खड्काले उत्कृष्ट सेवा दिनु भएको थियो” त्यतिखेर क्वारेन्टिनमा रहनु भएका बर्दिबास-१३ बिजलपुरा भेडियारीटोलका प्रमोद राउतले भन्नुभयो, “म त क्वारेन्टिनबाट निस्कदा त्यहाँको खानपानले तगडा भएको थिएँ ।”

यसपालि (२०७८) दोहोरिएर कोभिड-१९ सङ्क्रमण बढेसँगै बर्दिबासमा नागरिकस्तरमै कोभिड-१९ सङ्कट व्यवस्थापन समिति गठन गरेर सहयोग जुटाउने र आपद्कालीन सामग्री उपलव्ध गराउने काम हुँदै आएको छ । समितिले कोभिड-१९ प्रभावित बस्तीमा स्वास्थ्यकर्मीको टोली पुर्‍याउने, स्वास्थ्य सचेतताका सामग्री उपलव्ध गराउने, अक्सिजन सिलिण्डरको व्यवस्था गर्नेदेखि खाद्य बैङ्क नै सञ्चालनमा ल्याएर भोकाहरुलाई खाजा, खाना दिदै आएको छ ।

लाग्दो जेठमै सञ्चालनमा आएको बैङ्कले हालसम्म तीन हजारलाई खाना/खाजा ख्वाइसकेको खाद्य बैङ्क व्यवस्थापन समितिका संयोजक रेवन्त कार्की ‘सुदिप’ बताउनुहुन्छ । महोत्तरी-१ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य शारदा थापाको अध्यक्षतामा गठित नागरिकस्तरको कोभिड-१९ सङ्कट व्यवस्थापन समितिमा बर्दिबासक्षेत्रका एक दर्जनभन्दा बढी सामाजिक सङ्घ संस्था आवद्ध छन् । खाद्य बैङ्कको व्यवस्थापनमा सुरक्षा गस्तीमा निस्केका प्रहरी, कोविड-१९ सङ्क्रमित बिरामी, अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी , सरसफाईकर्मी, एम्बुलेन्स चालक, लामो बाटो तय गरीरहेका यात्री, भोका बटुवा र गरिबहरुले भोजन पाइराखेका छन् ।

समितिलाई बर्दिबास उद्योग वाणिज्य सङ्घ, बर्दिबास रोटरी क्लव, नेपाल होटल तथा पर्यटन व्यवसायी सङ्घ , बर्दिबास हेल्प फाउण्डेशन र बिभिन्न व्यक्तिले आवश्यक सामग्रीको प्रवन्धमा सहयोग गर्दै आएका अध्यक्ष थापाको भनाइ छ । बर्दिबास अस्पताललाई हालै हेल्भाटस् नामक संस्थाले १२ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

आपद्का बेला बर्दिबास क्षेत्रमा देखिएको आपसी सहयोग भाव अत्यन्त अनुकरणीय रहेको आम प्रतिकृया बढेको छ । बर्दिबासमा देखिएको यो उदात्त सामाजिक सेवाको भाव जिल्लाका अन्य भेगमा अनुकरण हुनसके कोभिड-१९ नियन्त्रण र निषेधाज्ञाबीच भोकाहरुको व्यवस्थापनमा ठूलो सहयोग पुग्ने जिल्लाका वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानि बिन्देश्वरीप्रसाद मण्डल बताउनुहुन्छ ।

२०७८ जेष्ठ १८, मंगलवार ११:२८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय