भनिन्छ परिवर्तन आन्दोलन र क्रान्तिबाट मात्र सम्भव हुन्छ । विश्वकै परिपेक्षय वा नेपालमा अहिले सम्म भएका परिवर्तन आन्दोलन र क्रान्तिबाट मात्र सम्भव भएको छ । जहाँनिया राणा शासन देखि लिएर वंशवादका प्रतिक शाह वंशिय राजतन्त्रलाई बिदा गरी देशमा संघियता र गणतन्त्र सम्मको यात्रामा जनताले बिभिन्न कालखण्डमा दिएको बलिदानीबाट मात्र सम्भव भएको गौरवपूर्ण इतिहास यथावत नै छ ।
नेपालमा कम्युनिष्ट राजनीतिको चर्चा गर्ने हो, भने २००६ साल बैशाख १० गते नेपालको पहिलो कम्युनिष्ट पार्टी भारतको कलकत्ता स्थित श्यामबजारमामा गठित पार्टी बाट भएको हो । र समयको बेग अधिक द्रुत गतिमा हिँड्ने भएका कारण बिभिन्न उतार चढाब पार गर्दै २०७८ साल जेठ महिनामा नेपालमा कम्युनिष्ट नेताहरुले इतिहासा रचेको घटना धेरै पुरानो भइसकेको छैन् ।

नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्यिुनिष्ट पार्टीको निर्माण भयो । कम्युनिष्ट राजनीतिक शक्तिहरु नेपालमा राम्रो उपस्थिती देखाउँदै आएता पनि खण्डित अवस्थामा रहँदै आएको कारण सदनमा निर्णायक उपस्थिती देखाउनबाट असमर्थ हुँदै आएका थिए । नेपालको बामपन्थी क्रान्तिको इतिहासमा माओवादी शस्त्र जनक्रान्तिको योगदान हो । जसले नेपालमा कम्युनिष्ट शासनको आवश्यकता छ भनी सिद्ध गरेको थियो । किनकी माओवादी आन्दोलनमा देशका हरेक वर्गबाट सहभागिता रहेको थियो । सामाजिक, आर्थिक, धार्मिक, राजनैतिक जस्ता हरेक हिसाबले बञ्चितीकरणको पिँधमा बस्न बाध्य नेपाली जनतालाई माओवादी आन्दोलनले नै एकजुट गरी संघियता, गणतन्त्र, समावेशी–समानुपातिक, धर्म निरपेक्षता जस्ता आमुल परिवर्तनको सपना साकार गराउन सफल भएको थियो र छ पनि !

माओवादी जनयुद्धबाट प्राप्त परिवर्तहरुको माध्यमबाट नयाँ संविधान कायान्वयनसंगै देखिएका परिवर्तनको अनूभुती आम जनतालाई होस् वा त्यसको लागि सबैभन्दा प्रारम्भिक आवश्यकता भनेको स्थाइ सरकार नै थियो । हो यही पुनित उदेश्यका साथ एमाले र माओवादीले गठबन्धन बनाएर चुनाब लडेका थिए । आम नेपाली जनताले एमाले माआवादीको गठबंधनलाई पत्याएर झन्डै दुई तिहाइ सहितको अपार बहुमत दिए । तर आजको परिस्थिती भिन्न छ । अर्थात नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकिकरणपूर्वको अवस्थामा छ । नेपाली कम्यिुनिस्ट शक्तिहरु !

यो अवस्था आखिर किन उत्पन्न भयो त ? अहिले जुन अवस्थामा कम्युनिष्ट शक्तिहरु छरिएका छन् त्यसको बिभिन्न कोणबाट इतिहासले समिक्षा गर्ने नै छ तर बामपंथी राजनीतिमा लागेका हामी सबैले वर्तमानमा समेत यसबारे निष्पक्ष चर्चा गर्नुपर्ने बाध्यता र कर्तव्य पनि हो । अपार बहुमतका साथ नेपाल कम्युनिष्ट पार्टीले सरकार बनायो । पार्टी एकिकरण पश्चात पार्टीमा दुई अध्यक्षीय प्रणाली समहमतिले पारित भयो । आम नेपाली जनताको लागि पाएको बहुमतको कदर गर्नको लागि भएपनि जनमुखी कार्य गरी कम्युनिष्ट सरकारले इतिहास रच्नुपर्ने भार थियो । सरकार र पार्टी दुई पृथक कुरा हुन । प्रधानमन्त्री बन्नुभएका केपी शर्मा ओलीले सरकारको बागडोर पाउनुभयो अर्थात नेकपा बाट देशको प्रधानमन्त्री चयन हुनुभयो ।

साथै आदरणीय पुष्पकमल दहाल प्रचण्ड र ओली सँगै मिलेर पार्टी चलाउने सहमति भएको थियो । दुई पार्टीबीच भएको ६ बुँदे सहमती अनुसार पार्टी कति चल्न पायो पाएन त्यसबारे पछी चर्चा गरौँला । तर समय बित्दै जाँदा प्रधानमन्त्री केपी ओलीज्यूमा दम्भ प्रकट हुन थाल्यो । दम्भ कस्तो भने पार्टी पद्धतीको बिधान नमान्ने, कुनै पनि विषयमा अधिकत्तम छलफलको बिना निर्णयहरु लिने, पार्टी भित्र त उहाँ प्रतिकुलता सिर्जना गनु नै भयो साथै देशले आपार बहुमत दिएर सत्तासिन बनाएका कुरालाई समेत नदेखेको जस्तो व्यवहार देखाउन थाल्नुभयो । नढाँटी भन्ने हो भने ओलीज्यूमा संशोधनवादी चरित्रको विकास भइसकेको रहेछ ।

संशोधनवाद विश्व कम्यिुनिस्ट आन्दोलनभित्रको अवसरवादी धार हो । यसले माक्र्सवादको मूल प्रस्थानहरुलाई संशोधन गर्दछ । मजदुर वर्ग र उसको क्रान्तिकारी पार्टीलाई कमजोर र निहत्था बनाउँदछ । लेनिनले भनेका छन्, ‘शत्रुतापूर्ण वर्गका बिच मिलेर काम गर्नु तथा सर्वहारावर्गको अधिनायकत्व र क्रान्तिकारी कारबाही गर्न सिद्धान्तलाई परित्याग गर्नु संशोधनवादको राजनीतिक सार हो ।’ उनले दक्षिणपन्थी अवसरवादद्वारा अघि सारिएको कार्यनितिको आत्मसम्पर्णवादी प्रवृत्तिको भण्डाफोर गरेका थिए । लेनिनले भनेका छन, ‘हरेक परिस्थिती अनुसार आफ्नो आचरण निर्धारण गर्नु, दिनदिनका घटनाहरु र छुद्र राजनीतिक तिकडम तथा फेरबदल सहित आफूलाई ढाल्नु, सर्वहारा वर्गको मूलभूत हित र सम्पूर्ण पुँजीवादी व्यवस्थाका आधारभूत लक्षणहरु, सम्पूर्ण पुँजीवादी विकासबारे बिर्सिदिनु, तत्कालिक वास्तविक अथवा काल्पनिक लाभका लागि यी मूलभूत हितहरुलाई बली चढाउनु यही हो संशोधनवादीका नीति ।’

प्रधानमन्त्रीको कारण बिशाल नेकपा माथि भ्रष्टाचारका बिभिन्न आरोपहरु लाग्न थाल्यो । यती होल्डिङ्गस देखि लिएर ओमनी काण्ड सबैमा सरकारमा बसेका निकायबालाहरुको संलग्नता मिडियाले सार्वजनिक गर्न थाल्यो । प्रधानमन्त्री ओलीका प्रियपात्र एकजना मन्त्रीमाथि करोडौको डिल गर्न लागेको अडियो काण्डले सम्पूर्ण नेपाली जनतामा लज्जाबोध गराएको हुनुपर्छ । तर ओलीज्यू यी सबै मुद्दालाई अति सामान्य ढंगले लिनुभयो । यती मात्रै हो र ! गत वर्ष र यसवर्ष पनि विश्वमहामारीले नेपाललाई समेत अछुतो नराखेको बिदितै छ । र समाजवादी व्यवहारमा प्रस्तुत हुनुपर्ने प्रधानमन्त्रीका आसेपासेहरु नफाखोरीका बिभिन्न व्यपारमा लागी रहे र प्रधानमन्त्री आफु चाहीँ नेपाली जनतालाई कोरोना भगाउने हाँस उठ्दो चुटकिला सुनाएर दिन बिताए । देशमा सरकारलाई कोरोना भाइरसले ल्याएको समस्या समाधान गर्नुतर्फ सरकारको गम्भिरता नरहेको बुझाई आम नेपालीको रहँदै आएको छ । ओलीज्यूलाई तत्कालिन नेकपाका अन्य अग्रनी नेताहरुले सचेत गराउँदा कहिल्यै मानेनन् । पार्टीको बिधान अनुसार मिटीङ बस्नुपनेै लोकतान्त्रिक संस्कारलाई उहाँले संशोधन गरी व्यक्तिवादको दिशामा उन्मुख भइसकेका थिए ।

संशोधनवादी चरित्र अंगिकार गरीसकेका जोकोहीले पनि बिधी र प्रक्रियालाई महत्व दिन चाहँदैनन् । त्यह ीभएर होला प्रधानमन्त्रीहरु संशोधनवादी हुँदा संबिधान र संसदमाथि हम्ला गर्छन । संसदबाट हुनुपर्ने निर्णहरु अध्यादेश मार्फत किर्ते गरे जस्तो व्यवहार देखाउँछन् । हाम्रो प्रधानमन्त्रीज्यूले ठ्याक्कै यस्तै गर्दै आईरह्नुभएका् छ । तर जनता आत्तिनु हुँदैन् संशोधनवादी भए पश्चात् जो कोही शासक पनि यस्तै हुनेहुन् । नेकपा भित्र नेपालको भू–भाग रहेको लिम्पीयाधुरा, लिपुलेक र कालापानीको विषय बहसमा ल्याउँदा ओलीजी तीन हात उफ्रेर भारतलाई देखाइदिने गरी नेपालको भौगोलीक तथा प्रशासनिक नक्सा छापे । संबिधानको अनुसूचीमा समेत संशोधन सहित समावेश गरिदिए । र आम नेपाली जनतामाझ महान राष्ट्रवादी छबी प्रस्तुत गर्न मरिहत्ते गरे । तर भयो के ? भारतका ‘रअ’ प्रमुख नेपाल आएर बालुवाटारमा ओलीज्यूलाई दुई घण्टाको क्लास मै दक्षिणपंथीय संशोधनवादी बनाई दिए । अनि त प्रधानमन्त्री ज्यूले संशोधित नक्सा पाठ्यपुस्तकमा समाबिष्ट गरी छाप्नबाट ठाडो रोक लगाएका थिए । पशुपतीनाथको मंदिरमा पण्डाको रुप धारण गरी कर्मकाण्ड गरी नेपाली जनतालाई आफू संशोधनवादी भएको प्रमाणहरु पेश गर्न थाले ।

यी र यस्ता हर्कतहरुको बिरोध पार्टीका अन्य नेताहरुले गर्दा आफूलाई पार्टीभित्रै काम गर्ने वातावरण बन्न दिइएन भनी प्रपंचिय आधारहिन अभिव्यक्ति दिँदै देशलाई तमाशा बनाउन खुलेरै अघी बढे । राजनीतिले आफ्नो आकार परिवर्तन गर्ने क्रममा अदालतको एउटा आदेशले नेकपा एमाले र माओवादी केन्द्रलाई एकिकरणपूर्वको अवस्थामा फर्काइदियो । तर आज एमाले भित्र संशोधनवादी चरित्रका स्वामी ओलीजी आफ्नै पार्टीभित्र पनि गैरकानूनी राजनीतिक ताण्डब गरिरहनु भएको छ । आफ्नै पार्टीका पूर्वप्रधानमन्त्रीको ओहदामा रह्नुभएका माधव नेपाल, झलनाथ खनाल लगायत वरिष्ठ नेताहरुलाई किर्ते ढंगले कारबाही गर्नुभएको छ ।
मलाई लाग्छ लोकतन्त्र र बिधीको शासनको महत्व बुझ्ने नेपाली जनताले वर्तमान संशोधनवादी शक्तिको हरेक क्रियाकलापलाई राम्ररी नियाली रहनुभएको होला । संशोधनवादीहरु अराजकताको हरेक हदपार गर्न रुचाउँछन् । राष्ट्रपति विद्यादेवी भण्डारी र केपी ओलीले सम्भवतः देशलाई एउटा ठूलो राजनीतिक संकटको जल्दो भठ्ठीमा धकेल्न उन्मुख छन् ।

नाम : उदेय बरबरिया (यादव)
मेयर
शहिदनगर नगरपालिका, धनुषा (प्रदेश-२)

२०७८ असार ७, सोमबार १५:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय