चितवन : चितवनको राप्ती नगरपालिका-३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव मृतावस्थामा फेला परेको छ । आइतबार साँझ स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा उनको शव फेला परेको हो । उनी यही असार ११ गतेदेखि हराइरहेकी थिइन् ।

असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।

जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेको छ । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले शव नजिकै बोतलमा सेतो पदार्थ भेटिएको र शव नउठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिएका छन् । घटनाको अध्ययनकै लागि शव नउठाइएको प्रहरीको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले युवती हराए लगत्तैदेखि केन्द्रीय अनुसन्धान ब्यूरोले घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिँदै सूक्ष्म रूपमा त्रुटिरहित ढङ्गले सजगता अपनाउँदै प्रहरीले काम गरिरहेको बताएका छन् ।

उता बैतडीको सिगास गाउँपालिकाका एक कर्मचारी मृत फेला परेका छन् । गाउँपालिकाको आयुर्वेद शाखामा कविराज पदमा छनोट भएका कञ्चनपुरको वेदकोट नगरपालिकाका ३६ वर्षीय मीनराज भट्ट मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिएका छन् ।

नयाँ नियुक्त भएका भट्ट गाउँपालिकातर्फ नियुक्ति बुझ्नका लागि जाँदै गरेका बेला अपराह्न ४ः३० बजे सिगास-२ कुर्चेनेटा भन्ने स्थानमा मृत भेटिएका हुन् । शाहीका अनुसार नयाँ नियुक्ति लिनका लागि गाउँपालिका जाँदै गर्दा पेट दुख्यो भनेर एक्कासी ढलेको भन्ने बुझिएको छ ।

गाउँपालिका केन्द्र गर्जे जाँदै गरेका भट्ट अचानक पेट दुख्यो भनेर अस्पताल जान्छु भनी बाटोबाटै फर्किएको र फर्केको ठाउँबाट ५०० मिटर वर आउँदा एक्कासी ढलेको बताइएको छ । भट्टको मृत्युको कारण भने खुल्न सकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

२०७८ असार २१, सोमबार ११:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय