काठमाडौं : नयाँ बानेश्वरकी राधिका महर्जनकी कक्षा १ मा अध्ययनरत सात वर्षीया छोरीलाई अनलाइन कक्षाप्रति रुचि छैन । राधिकाले आफ्नी छोरीले अनलाइन कक्षा लिन नमान्ने गरेको बताउँदै भनिन्, “विद्यालय जाँदा जहिले खुसी भएर जान्थी । अनलाइन कक्षामा बस्नै मान्दिनन् ।”

अनलाइन कक्षामा धेरै सिक्न नसकेको गुनासो आम अभिभावकको छ । बालमनोविज्ञ गङ्गा पाठकले सुरुमा अनलाइन कक्षाले बालबालिकालाई कोरोना महामारीको जोखिम र तनावबाट मुक्ति दिए पनि अनलाइन कक्षाको भार बढ्दै गएपछि पुनः तनावको स्थिति सिर्जना हुन थालेको बताए ।

उनका अनुसार चञ्चले स्वभावका कारण बालबालिका लामो समयसम्म एकै स्थानमा बस्न सक्दैनन् । पढाइका लागि अधिकांश समय एक्लै बस्नुपर्ने हुँदा उनीहरूले दबाब अनुभव गर्ने गरेको विज्ञहरूको भनाइ छ । उनले बालबालिकामा रुने, खान मन नगर्ने, डराएको जस्तो गर्ने, टोलाउनेजस्ता समस्या देखिएमा चिकित्सककहाँ लैजान सुझाव दिए ।

“बालबालिकाका लागि दौड, साइक्लिङ, नाचगानजस्ता व्यायाम आवश्यक हुन्छन्,” उनले भने, “यस्ता व्यायामले एन्डोर्फिन हार्मोन बढाउन मद्दत गर्छ । एन्डोर्फिन हार्मोनले मस्तिष्क दुःखाइ र तनावको तह कम गर्छ ।”

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग विशेषज्ञ डा। रवि शाक्यले बालबालिका, किशोरकिशोरी, वयस्क वा वृद्धवृद्धा जुनसुकै उमेर समूहका व्यक्तिमा तनाव हुने र दैनिक क्रियाकलापमा असहज महसुस हुँदा हुने दबाबले तनाव उत्पन्न हुने बताए ।

उनले अभिभावकले बालबालिकालाई प्रत्येक व्यक्ति आफ्नो स्थानमा विशिष्ट हुन्छ भन्ने सिकाउनु जरुरी रहेको बताउँदै उत्कृष्ट नतिजाका लागि प्रतिस्पर्धा गर्नुपर्छ भन्ने सिकाउनुपर्छ भने ।

विश्व स्वास्थ्य सङ्गठनले हालै प्रकाशित गरेको सर्वेक्षणअनुसार पछिल्लो समय विश्वभर मानसिक समस्या निकै बढेको पाइएको छ । सर्वेक्षणअनुसार मानसिक समस्या भोगिरहेकामध्ये करिब ७२ प्रतिशत बालबालिका र किशोरकिशोरी छन् ।

२०७८ असार ३०, बुधबार ०८:२५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!