जनकपुरधाम : मिथिलामा चन्द्रमाको पूजाआराधना गरिने यो मुख्य पर्व मानिन्छ ।  यो पर्व भाद्र शुक्लपक्षको चौथी तिथिका दिन मनाइन्छ । चन्द्रमाको पूजाआराधना गरिने यो मुख्य पर्व मानिन्छ ।

चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्ठान्न परिकार खाजा (पिरुकीया) र खिर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य फलफूल र वस्त्रआभूषण चढाइने परम्परा छ । पर्वको तयारीमा अहिले मैथिल (मिथिलाका बासिन्दा) हिन्दूहरु आफ्नो सामग्री जुटाउने तयारीमा छन् । पर्वमा घरमूली महिला दिनभरि निराहार ब्रत बसेर साँझ चन्द्र दर्शन गरेर यो पर्व समापन गर्छन् । ब्रतालुले एक दिनपूर्व नै ब्रत सङ्कल्प गरेर चोखोनितो भई बस्ने र सात्विक भोजन गर्ने परम्परा छ ।

भदौ शुक्ल चौथीका दिन मनाइने चौरचन पर्वमा साँझ सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाइएको आँगन माझको अरिप्पन (चतुष्कोण यज्ञस्थल) मा दिप प्रज्वलित गर्दै घरमूली ब्रतालुले फलपूmल र मिष्ठान्न परिकार चन्द्रमालाई देखाएर ब्रत समापन गर्ने परम्परा छ ।

खासगरी खिर, पुरी, दही र गच्छेअनुसारका अन्य परिकार तथा केरा र मौसमअनुसारका फलफूल चन्द्रमालाई देखाएर इष्टजनसहित परिवारजनलाई चतुष्कोण वेदीस्थलमै बसाएर प्रसाद ख्वाएपछि यो पर्व सम्पन्न गरिने परम्परा छ ।

अरिपन चामलको पिठोले रेखाङ्कित गरिन्छ । भदौ शुक्लपक्षको चौथी तिथिको चन्द्र दर्शन शास्त्रीय मान्यताले दोषपूर्ण मानिएकाले ब्रत बसेर मिष्ठान्न परिकार र फलफूल देखाएर दोष मेटाउने प्रचलन चलेको मैथिली संस्कृतिका जानकार बताउँछन् ।

गाउँघर बस्तीमा राती सानातिना बिग्याँई गर्दा छिमेकीले गाली गरेपछि चन्द्र दर्शनको दोष मेटिने विश्वास रहेको छ । तर, दोष मेटाउन बिग्याँई गर्न पर्ने पुरानो परम्पराभने ठिक नरहेको नयाँ पुस्ताका युवा बताउँछन् ।

२०७८ भाद्र २५, शुक्रबार ०८:०८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय