गोविन्द महतो / जनकपुरधाम
सिरहाको हिमालय सुगर मिल्स लिमिटेडले उखुको मुल्य निर्धारण नहुदा सम्म तत्काल लागि ५ सय ८४ रुपैयाँमा उखु खरिद सुरु गरेको छ । उखुको मुल्य निर्धारण नहुँदा अलमलमा परेका किसानको न्युनतम मुल्य ५ सय ८४ रुपैयाँ तोकेर खरिद गर्न लागेको हो । सरकार, चिनी उद्योगका उद्योगपति, किसान प्रतिनिधि बीच बिचार नमिल्दा निर्धारण हुन नसकेको उखुको न्युनतम मुल्य निर्धारण गरेर उखुको खरिद गर्न थालिएको हो ।

हिमालय सुगर मिल्स लिमिटेडका उखु महाप्रबन्धक अवधकिशोर यादवले उखुलाई खेतमा सुकाउनु भन्दा न्युनतम ५ सय ८४ मुल्य तोकेर उखु खरिद गर्न थालेको बताए । उनले भने, ‘यो बेला उखु काट्ने ठीक्कको सिजन हो, अहिले उखु काटेर किसानहरुले तेलहन र दलहन बाली लगाउन सक्छ र तत्काका लागि हामीले उद्योगबाट न्युनतम मुल्य तोकेर उखु किने वापतको भुक्तानी दिने गरेको छौं । पछि सरकार, उद्योगी र किसान बीच सम्झौता जुन दररेटमा हुन्छ, त्यही अनुसारको भुक्तानी हामी उपलब्ध गराउँछौं । अहिले पेश्की स्वरुप भुक्तानी उपलब्ध गराउँछौं ।’

उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले सरकारले मुल्य नतोक्दा चिनी उद्योगहरु आफु अनुकुल किसानसंग उखु खरिद गरीरहेको बताए । सरकार र उद्योगी बीचको मिलोमतोमा किसान सधैं मारमा परेका छन, मैनालीले भने, ‘किसानले कहिल्यै उचित मूल्य पाएनन् । सरकारले तोकेकै मूल्य पनि चिनी उद्योगले सहज रुपले दिंदैन । उखुको भुक्तानिका लागि हरेक वर्ष किसान आन्दोलन गर्नुपरेको छ । सरकारले उखुलाई नगदेबालीका रुपमा सूचीकृत गरेको छ । तर किसानले भने उखु बेचेर नगद त पाएका छैनन् ।’

कृषि प्रधान रहेको मुलुकमा किसानको दुःख पीडामा सरकारले मलम लगाउन नसकेको उखु उत्पादक संघ रामनगर महोत्तरी अध्यक्ष नरेश सिंह बताउँछन । उखु किसानले राज्यको अनुभुती नै गर्न सकेको छैन, ‘समयमा उखुको भुक्तानी नपाउदा गुलीयो उखु उब्जाउने किसानको पिडा तितो कथा बनेको छ ।’ गत वर्ष चिनी उद्योगलाई किसानले बेचेको उखुको भुक्तानी माग गर्दै आएका किसान चालु क्रसिङ्ग सिजनको मुल्य समेत निर्धारण हुन सकेको छैन । वर्ष दिन खेतमा हुर्काको उखु चिनी उद्योगलाई किसानल बेचिरहेका छन् तर मुल्यको टुङ्गो छैन ।
धनुषा मिथिला नगरपालिका नक्टाझिजका किसान राजकुमार महतोले बेचेको उखुको मुल्य कति पाउने, कहिले पाउने जानकारी नभएपनि बाध्य भएर उखु काट्न थालेको बताए । ‘उखु हुर्कान बिउ, मल, मजदुर, सिचाइ नगदमै खर्च गर्ने किसान उखु काटेर उद्योग सम्म पु¥याउन मजदुरलाई नगद ज्याला दिनुपर्छ । तर, उखु उब्जाउने किसान चिनी उद्योगबाट कति रकम कहिले पाउने टुंगो छैन ।’

उखु उब्जाएर वर्षभरि ऋणको भारी बोकेका किसान चिनी उद्योगबाट एकमुष्ट भुक्तानी लिएर कर्जा र उधारो चुक्ता गर्ने सपना देखेका छन् । तर, उखुको मुल्य निर्धारण नै नहुँदा किसान अन्यौलमा परेको गौशलाकै अर्का उखु किसान हरिश्चन्द्र महतोले बताए । उखुको जायज पैसा समयमा माग्दा पनि सरकार र उद्योगीले आफूहरुलाई नसुनेको किसानको गुनासो छ । चिनी उद्योगलाई उखु बेच्दा एकमुष्ट नगदै किसानले भुक्तानी पाउन थालेपछि किसानले उखु खेतीलाई नग्दे बालीको रुपमा आकर्षित भएका थिए । तर, पछिल्लो समय उखुको मुल्या निर्धारण र भुक्तानी समस्याले नग्देबाली उखु उधारो र ऋणको भारि बोकाउने खेतीमा परिणत भएको महतोको ठम्याई छ ।

गत वर्ष कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ४४ रुपैयाँ ३३ पैसा प्रस्ताव गरेको थियो । उखुको समर्थन मूल्य मंसिरभित्र तोकिएर चिनी उद्योगले उखु क्रसिङ सुरु हुन्छ । तर चालु आवमा उखुको मुल्य नतोकिदा प्रदेश २ का चिनि उद्योग सञ्चालमा आउन सकेको छैन् ।


२०७८ पुष ११, आईतवार १९:२८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु