
गोविन्द महतो / जनकपुरधाम
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले किसानको धान खरिद सुरु गरेको छ । चालु आर्थिक वर्षको माघ १५ सम्म तोकिएको कोटाअनुसार १५ सय मेट्रिक टन खरिद गर्नेगरी धानको कोटा अनुसार खरिद सुरु गरिएको हो । धान खरिदको पहिलो दिन बुधवार जनकपुर शाखाले ४ सय ६.११ किवन्टल धान खरिद गरेको छ । धान खरिदका लागि पहिलो चरणमा झण्डै २ सय किसानलाई टोकन सिस्टमबाट धान खरिद गरिरहेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जनकपुरधाम शाखाले गत वर्ष सोना मन्सुली १५ सय मेट्रिक टन र वासमति ३ सय मेट्रिक टन खरिद गरिएपनि यसवर्ष सोना मन्सुली धान खरिदको कोटा मात्र पाएको निमित्त कार्यालय प्रमुख उपेन्द्र लिङदेलले बताए । सोना मन्सुली धानको मुल्य निर्धारण संघीय सरकारले नै निर्धारण गर्ने गरेको छ । अन्य जातका धान खरिदमा प्रमुख जिल्ला अधिकारी नेतृत्व संयोजक रहेको स्थानीय प्राथमिक खरिद समितिले मुल्य निर्धारण गर्ने गरेको छ । गत वर्ष कम्पनीले धान खरिदमा पाएको कोटा भन्दा यस वर्ष कम छ ।
गत वर्ष सोना मन्सुलीको खरिद मूल्य २ हजार ८ सय ८५ र बासमति झण्डै ९५ सयमा धान किसानबाट किनेको थियो । तुलनात्मक रुपमा गत वर्षको मुल्य र चालु आर्थिक वर्षको मुल्यमा धेरै भिन्नता नरहेपनि बजारको मुल्य भन्दा महँगोमा खरिद खरिरहेको निमित्त प्रमुख लिङग्देलले जानकारी दिए । उनले भने, ‘अहिले सोना मन्सुलीको बजार भाउँ प्रति क्विन्टल २१ सय देखि २५ सय सम्म छ । जसमा धानको गुणस्तरीयता कुन प्रकाकारको हो त्यसमा फरक पर्छ, हामीले राम्रो गुणस्तर भएको धान २९ सय २ रुपैयाँमा किनिरहेको छौं ।’
धान विक्रि गर्न गाउँ गाउँबाट किसानहरु उत्साहपुर्ण रुपमा व्यापार कम्पनीमा विक्रि गर्न आउने गरेको छ । ‘धान विक्रि गर्न आउँदा किसानले स्थानीय पालिकाबाट सिफारिस पत्रसंगै लिएर आउन भनेका छौं । अन्यथा किसानभन्दा व्यापारी तथा विचौलियाले लाभ उठाउने भएकाले किसान सोही पालिकाको स्थानीय बासि हुन र वास्तविक किसान भए पालिकाले सिफारिस दिने भएकोले व्यापारीवर्ग तथा विचौलियालाई धान विक्रिबाट प्रतिबन्ध लगाउन यो वर्षदेखि नियम लागू गरेका हौं ।’ निमित्त प्रमुख लिङग्देलले बताए ।
किसानको हितमा सरकारले वर्षेनी किसानबाट बजार मुल्य भन्दा बढी मुल्यमा धान खरिद गर्दै आएको छ । त्यसैको मौका छोपेर विचौलियाले लाभ उठाउने उदेश्यले शाखामा धान ल्याउने गरेका थिए । विगत झैं यस वर्षपनि नदोहोरियोस् भन्ने उदेश्यका साथ धान ल्याउने परिमाणमा कमी गरेका छौं । लिङग्देलले भने,‘ गत वर्ष एउटा किसानको बढीमा १०० क्विन्टल सम्म धान हामीले खरिद गछौं, तर यसपालि ४० क्विन्टल अधिकत्तम धान किन्ने परिपार्टी राखेको छौं, जसले गर्दा धेरै भन्दा धेरै साना तथा मझौला किसानले यसको फाईदा लिन सकोस् ।’
निमित्त प्रमुखले भने, ‘यसको मुख्य काम चाँही नेपाल सरकारको खाद्य सुरक्षा नीति अर्थात फुट सेक्यूरिटी अनुरुप चलेको छ । यसको खाद्य भण्डार गर्ने मुख्य काम हो । अर्को चाँही खाद्य अभाव ‘क्राईसिस’ भएको बेलामा माग बमोजिम खाद्य सामग्री परिपूर्ती गर्ने काम हो । यसमै दैविक प्रकोप, महामारी जस्ता समयमा बजारको मुल्य नियन्त्रण र सन्तुलनको लागि भुमिका खेल्छ । हामीले यहाँबाट अनलाईन सिस्टमबाट बजारमा बेचिरहेको छौं ।’
टायरगाडामा धान लिएर आईपुगेका धनुषा लक्ष्मिनियाँ गाउँपालिकाका किसान सौखीलाल यादवले नीजि क्षेत्रभन्दा बढी मुल्यमा सरकारले धान खरिद गरिदिदा आफुजस्ता साना किसानलाई सहुलियत भएको बताए । उनले भने, ‘व्यापारी भन्दा सरकारले बढी मुल्य दिदा हामीलाई फईदा पनि भयो ।
खेती गर्न उत्साहित पनि ग¥यो । तर यही धान सरकारले धान काटेको बेलामा किन्दिएको भए झन फाईदा हुन्थ्यो ।’ धानको गुणस्तर हुर्ने अधिकार सञ्जुरानी मण्डलले किसानले ल्याएको धानमा जलाम्स, डयामेज ग्रेन, डस्ट सबैको मापन गरेर मात्र धान खरिद गरिरहेको बताईन् । उनले भनिन, ‘धानको गुणस्तरीयतामा बालुवा, माटो, ढुङ्गाको टुक्रा अन्य सबैको गुणस्तरीयता मापण गरिसकेपछि मात्र धन खरिद गर्छौ, विग्रीएको भिजेको लगायत काम न लाग्ने धान भए हामी फिर्ता गरिदिन्छौं ।’