एक दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय महोत्तरी बलवा नगरपालिका–१० की ममता महतोले यस पटक उपप्रमुखको टिकटको अपेक्षा राखेकी थिइन ।

तर पार्टी भित्रको राजनीतिक खेलले उनले पाउने पक्का भइसकेको टिकट अर्काेलाई दिइयो । राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी महतो पार्टीमा युवालाई अवसर दिनुपर्नेमा पाखा लगाउने काम हुनु दुःखद भएको बताउँछिन । २०७४ सालको स्थानीय चुनावमा पनि उनी उपप्रमुखको प्रवल दावेदार थिइन । त्यसबेला पनि उनलाई टिकटबाट बञ्चित गरियो ।

पार्टीमा व्याप्त गुटबन्दीले आफ्नो टिकट गुमाएको दाबी गर्ने नेपाली कांग्रेसको जिल्ला सदस्यसमेत रहेकी महतोसँग राजनीतिकै सेरोफेरोमा रहेर गरेको कुराकानीको सम्पादीत अंशः

राजनीतिमा कसरी आउनु भयो ?
म ७ कक्षासम्म गाउँकै विद्यालयमा अध्ययन गरें । विद्यालयमा पढ्दादेखि नै हाम्रो गाउँ समाजमा छोरीमाथि हुने हिंसा तथा दुव्र्यवाहारलाई नियाल्ने गरेको थिएँ । मैले कक्षा १० मा अध्ययन गर्दादेखि नै राजनीतिमा सक्रिय भएर लागेको हुँ ।
मधेसमा हुने महिलामा हिंसा अन्त्य गर्न र उनीहरूको आवाज वुलन्द गर्न म राजनीतिमा आएको हुँ । म राजनीतिमा सक्रिए भएर लागेको करिब एक दशकभन्दा बढी भइसकेको छ । अहिले म बलवा नगरपालिकाको भूगोल तर्फबाट जितेको कांग्रेसको जिल्ला सदस्य पनि हुँ ।

तपाईं जत्तिको प्रतिभाशाली र पढेलेको व्यक्ति स्थानीय चुनावमा उठ्नु भएन । पार्टीले टिकट नदिएको कि तपाईंले इच्छा नदेखाउनु भएको ?
मैले इच्छा गरेको पनि हो र मलाई पार्टीले टिकट पनि दिएको हो । तर अन्त्यमा टिकट अर्कैले पाउँनुभयो । मैले नै टिकट पाउँछु भनेर अग्रज व्यक्तिहरुले बधाईसमेत दिइसक्नु भएको थियो । तर अन्तिम चरणमा टिकट अर्कैलाई दिइयो । तर त्यसमा दुःख छैन । मैले नपाए पनि कांग्रेसकै साथीले पाउनुभएको छ । मैले मेरो तर्फबाट गर्न सक्ने सम्पूर्ण सहयोग उहाँलाई रहन्छ । उहाँको जित नै मेरो जित हो भनेर लागेको छु ।

पार्टीले तपाईंलाई टिकट नदिनुको कारण के हो ?
मैले टिकट नपाउने कारण त देख्दिनँ । टिकट पाउन म सक्षम छु जस्तो लाग्छ । म कांग्रेसको झण्डामुनी बसेर पार्टीलाई सहयोग गर्ने मान्छे हुँ । मलाई अहिले पनि कांग्रेसको निष्ठाले बचाएको छ । कांग्रेसप्रति मेरो सद्भाव छ । मैले टिकट नपाउनुमा जातिय विभेदिकरण र गुटले गर्दा हो कि जस्तो लाग्छ ।

पार्टीको यस्तो निर्णय आउँदा तपाईंलाई कस्तो लाग्यो ?
मैले सुनेअनुसार उम्मेदवारहरुको टिकट प्रदेशबाट जिल्ला सभापतिसम्म जाँदा टिकटमा मेरो नाम थियो । त्यसपछि मेयरको हातमा जाँदा टिकटमा मेरो नाम छैन भन्ने थाहा पाएँ । त्यतिबेला केही भावुक पनि भएँ ।

टिकटबाट नाम हटेको विषयमा जिल्लाको कांग्रेस नेतृ किरण यादव र क्षेत्रीय सभापतिलाई कुरा गर्दा उहाँहरुले मेयरलाई सोध्न आग्रह गर्नुभयो । कांग्रेसलाई मजबुत बनाउन मैले इमान्दार भएर काम गर्ने तर चुनावमा टिकट अर्कैले हात पार्ने अवस्था आउँदा दुःख लाग्यो ।

बलवा नगरपालिकाको उपमेयरका लागि क–कसको नाम सिफारीस भएको थियो र तपाई छुट्नु भयो ?
नगरपालिका उपमेयरका लागि मेरो, उर्मिला ठाकुर, ऋणा साह र रामदुलाल ठाकुर गरी ४ जनाको नाम सिफारिस भएको थियो । पार्टीले उपमेयरको टिकट रामदुलाल ठाकुरलाई दिएको छ ।

कांग्रेसमा गुटको राजनीति मौलाएको हो ?
कांग्रेसमा गुटको राजनीति मौलाएका कारण मैले टिकट पाइँन । उपमेयरका लागि सिफारिस भएका चार जनामध्ये सबैभन्दा दाबेदार र टिकट पाउनुपर्ने मान्छे म हुँ ।

म नेविसंघ हुँदै मेहनत गरेर राजनीतिमा आएको व्यक्ति हुँ । तर टिकट दिँदा नेताले राजनीतिमा ल्याएका व्यक्तिले पाउनुले पनि कांग्रेसमा गुटगत राजनीति भइरहेको छ भन्ने स्पष्ट देखिन्छ ।

म मधेस जस्तो ठाउँमा रातदिन नभनी पुरूषहरुसँग हातमा हात मिलाएर काम गर्ने व्यक्ति हुँ । त्यो हैसियतले पनि मैले टिकट पाउनुपर्ने हो । तर नेताहरुलाई के लाग्यो र मलाई टिकट दिनुभएन त्यो उहाँहरुलाई सोध्नुपर्छ । समय मिलेर भेटेको बेला सोध्छु ।
काम गरेको आधारमा कसैले टिकट पाउँछ भने बलवा नगरपालिकाको उपमेयरको पहिलो दाबेदार म हुँ । मैले अरु चुनावमा सहयोग गरेकै नेताहरुले नगरपालिका उम्मेदवारहरूको टुंगो लगाउने भएकाले मैले टिकट पाउँछु भन्नेमा म ढुक्क थिए । तर गुटगत राजनीतिकले गर्दा टिकट भने पाउँन सकिन ।

आफूले टिकट नपाएका कारण कांग्रेसमा गुटको राजनीति बढेको त भन्नु भएको हैन नि ?
त्यस्तो हैन । यसअघि जिल्लाको चुनाव हुँदा र जिल्ला सदस्यका लागि उम्मेदवारी दिँदा पनि मसँगै बलवा नगरपालिकामा काम गर्ने कार्यालय सहयोगीले उम्मदेवारी दिनु भएको थियो ।

म निर्विरोध हुने मान्छेलाई नेताहरुले आफ्नो मान्छे ल्याएर उम्मेदवारी दिन लगाए । कांग्रेसको १४ औँ महाधिवेशन प्रतिनिधिमा पनि मेरो नाम काटियो ।

महिलाको लागि ८ वटा कोटा भएपनि मेरो नाम किन काटियो ? म लामो समयदेखि राजनीति गरेकोले टिकट पाउँदिन तर राजनीतिमा भर्खर आएको कुनै व्यक्तिले टिकट पाउँछ भने त्यहाँ गुटबन्दी भएको छैन भनेर कसरी भन्न सकिन्छ ?

पार्टीले दिएको जिम्मेवारी इमान्दारी साथ पुरा गरेको छु । अहिलेसम्म जिम्मेवारी दिइएको कुनै पनि काम गर्दिनँ, सक्दिनँ नभनेको व्यक्तिलाई चुनावमा भेदभाव गरिन्छ भने त्यहाँ गुटगत राजनीति भएको छैन भनेर कसरी भन्न सकिन्छ ? म दुर्घटनामा परेर गम्भिर घाइते हुँदा पनि ६ महिनामा ठिक भएर पार्टीको काममा लागेको मान्छे हुँ ।

बागी उम्मेदवारी दिउँ जस्तो लागेन ?
पार्टीका अग्रज नेताहरूको सल्लाह बमोजिम मैले बागी उम्मेदवारी नदिएको हुँ । पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले फोन गरेर बागी उम्मेदवारी नदिनु, पार्टीले गरेको निर्णयलाई मान्नु, कांग्रेसकै साथी उम्मेदवार बन्नु भएको छ उहाँलाई सहयोग गर्नुपर्छ भनेपछि मैले बागी उम्मेदवारी नदिएको हुँ । मैले टिकट नपाएपनि कांग्रेसबाट टिकट पाएका साथीलाई सहयोग गर्छु ।

मधेशमा छोरीहरुले उच्च शिक्षा पढ्ने मौका पाउँदैनन भन्ने गरिन्छ । तपाईंले उच्च शिक्षासँगै सक्रिय राजनीतिमा सहभागी हुन पाउनु भयो । कसरी ?

मेरो बुवा शिक्षित हुनुहुन्छ । उहाँले कक्षा १२ सम्म अध्ययन गर्नु भएको छ । बुवा शिक्षित भएका कारण छोरो–छोरीलाई पढाउनुपर्छ भन्ने चेतना उहाँमा भएकाले मैले पढ्ने अवसर पाएको हुँ । गाउँ समाजले मेरो १२ वर्षको उमेरमै विवाह गराउन दवाब पनि दिएका थिए । तर बुबाले त्यसलाई वेवास्ता गर्दै हामीलाई पढाउनु भयो । पढेपछि छोरा–छोरीले जुनसुकै ठाउँमा गएर पनि आफ्नो जीवन निर्वाह गर्न सक्छन् भन्ने सोच बुबामा रहेकाले हामीले पढ्ने मौका पाएका हौँ । पढ्दै गर्दा नै मलाई राजनीतिमा इच्छा जाग्यो र म राजनीतिमा लागे । मेरो राजनीतिक यात्रा सुरु भएको करिब एक दशक भयो ।

विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला जस्ता अग्रज राजनीतिज्ञहरूले अध्ययनसँगै राजनीतिलाई अघि बढाउन प्रोत्साहन दिएका कारण राजनीति गर्ने मेरो इच्छा अझ बढेर आएको हो ।

मधेशमा छोरीहरु, महिलाहरुको अवस्था कस्तो देख्नुभएको छ ?
मधेसमा धनीका छोरा–छोरीहरुमा खासै विभेद थिएन । उनीहरू सबै विद्यालय जान्थे तर गरिब परिवारका छोरा–छोरीहरूमा धेरै विभेद थियो र अहिले पनि छ ।

तर देशमा संघीयता लागू भएपछि छोरीहरूलाई पनि पढाउनुपर्छ भन्ने सोचको विकास भएको छ । सरकारले महिलाहरूका लागि विभिन्न क्षेत्रमा कोटा छुट्टाएपछि अभिभावकहरूमा पनि छोरीहरूलाई पढाउनुपर्छ भन्ने चेतनामा वृद्धि विकास भएको छ । छोरीहरूलाई पनि राजनीति गर्न दिनुपर्छ भन्ने सोचको पनि विकास भएको छ । पहिलेको तुलनामा मधेसमा अहिले हरेक कुरामा निकै परिवर्तन भएको छ ।

छोरा–छोरीलाई शिक्षा दिएन भने उनीहरुको जीवन अन्धकार बन्छ भन्ने सोचको विकास भएको छ । अहिले मधेसका छोरीहरू डाक्टर, इन्जिनीयर, मन्त्री बनेका छन् ।

अब तपाई आफ्नो राजनीतिलाई कसरी अघि बढाउनुहुन्छ ?
२०७४ सालको स्थानीय निर्वाचनमा पनि बलवा नगरपालिकाको उपमेयरको आकांक्षी थिएँ । त्यतिबेला पनि मलाई टिकट दिइएन र अहिले पनि अर्कैलाई दिइयो । तर यो कुराले मलाई निराश भने बनाएको छैन् । कांग्रेसकै नेताले उपमेयरको टिकट पाएकोमा खुशी नै छु । कांग्रेसका जो सुकै नेताले टिकट पाएपनि उहाँलाई हामीले जिताउन सक्नुपर्छ । टिकट नपाएका कुराले मेरो राजनीतिलाई रोक्दैन भोलिका दिनहरूमा पनि म राजनीतिमा सक्रिय नै रहन्छु । राजनीतिमा आउन मैले घर र समाजबाट धेरै विद्रोह गरेको छु । पुरूषहरुसँग बाहिर खुला हिड्न नदिने समाजबाट आएको व्यक्ती हुँ त्यसलाई यतिकै खेर जान दिन्न ।

महिलाले राजनीति गर्नुहुन्न भन्ने सोचलाई भत्काएर राजनीतिमा आएकाले अहिले गाउँमा जाँदा गर्व महशुस हुन्छ । गाउँ समाजले पनि मलाई सम्मानको दृष्टिकोणले हेर्छ । कुनै न कुनै दिन मेरो कामको मुल्यांकन हुनेछ र पार्टीले मलाई मेहनत गरेकै आधार टिकट दिनेछ भन्नेमा पनि विश्वस्त छु ।

नेपाली कांग्रेस डमोक्रेटीक पार्टी भएकाले हामी जस्ता महिला र अन्य जात धर्मका मान्छेहरुलाई पनि मिलाएर लग्छ भन्ने मेरो विश्वास हो ।

वि.स २०७४ को स्थानीय निर्वाचनमा पनि तपाई बलवा नगरपालिकाको उपमेयरको आकांक्षी हुनुहुन्थ्यो । त्यतिबेला चाँही किन टिकट पाउनु भएन ?
त्यसबेला विमलेन्द्र निधि, किरण यादावलगायत अग्रज नेताहरुले छोड्न आग्रह गरेकाले मैले उपमेयरको आकांक्षीबाट पछि हटेको थिएँ । त्यतिबेला पनि कांग्रेसका उम्मेदवारलाई जिताउन म दिन रात एक गरेर लागेको थिएँ । म कांग्रेसप्रति निष्ठावान छु र कांग्रेसलाई जिताउन हरप्रयास गर्छु । काम गर्ने र पार्टीका लागि खटिने व्यक्तिले चुनावमा टिकट पाउनुपर्छ भन्ने मेरो भनाइ हो । तर त्यस्तो भएको म देख्दिनँ । ममा केही कमजोरी भएर पो मैले टिकट नपाएको हुँ कि जस्तो पनि लाग्छ । आफूमा सुधार गर्नुपर्ने कुराहरु सुधार गर्छु ।

कांग्रेस पार्टी र आफूलाई मजबुत गराउन मेरो प्रयास निरन्तर रहन्छ । यसपटक मैले टिकट पाउनुपथ्र्याे तर पाइन अब टिकट पाइन भनेर निराश हुँदिन । पार्टीको काममा निरन्तर लाग्छु ।

पूर्वसांसद् एवम् कांग्रेसको पूर्वकेन्द्रीय सदस्य किरण यादव र तपाईबीच मनमुटाव भएकै कारण तपाईले टिकट नपाउनु भएको भन्ने कुरा सत्य हो ?

म किरण दिदीको कार्यकता हुँ । उहाँलाई जिताउन मैले विभिन्न समयमा धेरै मेहनत गरेको छु । उहाँलाई अहिले पनि म सम्मान गर्छु । उहाँ हाम्रो सम्माननीय नेता हो । तर उहाँकै कारण टिकट नपाउँदा केही दुःख भने पक्कै लागेको छ ।

नेताहरूले गरेको निर्णयलाई मैले सम्मान गर्नुपर्छ । मलाई टिकट नदिनुमा केही कारण पनि हुनसक्छ । ममा धैर्यता छ भनेर पनि उहाँले मलाई टिकट नदिएको हुनसक्छ । किरण दिदी र मबीच कुनै मनमुटाव छैन् ।

उहाँले मलाई माया गर्नुहुन्छ म उहाँलाई समम्मान गर्छु । मेरो मनमा लागेको कुरा अगाडि नै भन्ने मेरो बानी छ ।

२०७९ बैशाख १७, शनिबार १०:५०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय