
काठमाडौँ : मोरङमा एक उम्मेदवारको घर अगाडि शंकास्पद बस्तु फेला परेको छ । जिल्लाको सुन्दरहरैँचा नगरपालिकामा शंकास्पद वस्तु फेला परेको छ।
सुन्दरहरैँचा–११ शुक्रबारेस्थित वडा सदस्यका उम्मेदवार जीवनाथ ढकालको घरनजिक शंकास्पद वस्तु फेला परेको हो। नेकपा एमालेका तर्फबाट सदस्य पदमा उम्मेदवारी दिएका ढकालको मकैबारीमा बिहान तारसहित टेपले बाँधिएको अवस्थामा प्रेसर कुकर भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले बताए।
घटनास्थलमा प्रहरी पुगिसकेको छ। घटनास्थलमा प्रेसर कुकरसँगै निर्वाचन बहिस्कारका पर्चा र पम्पलेट समेत फेला परेको छ।
प्रहरीले घटनास्थललाई सुरक्षित राखेर सो क्षेत्रमा आवतजावतमा रोक लगाइएको छ भने नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुग्ने क्रममा रहेको प्रहरीले जनाएको छ।