
नेपालवाणी / जनकपुरधाम
जनकपुरधाम १४ स्वतन्त्रबाट वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार रामकुमार चौधरीले स्थानीय तहको अधिकतम् परिचालन र गाउँ–गाउँमा सिंहदरबारको नारालाई व्यावहारिक रुपमा कार्यान्वयन गराउने लक्ष्यका जनताको घर–आँगन गएर मत मागिरहेका छन् ।
उनले स्थानीय सरकार भएकाले पनि स्थानीय तह बलियो, सक्षम र जनमैत्री हुनुपर्ने विषयलाई महत्वका साथ सामाजवादोन्मुख समृद्धिका लागि आफ्नो वडा बनाउन जनतासंग मत मागीरहेको बताए ।
उनले सामाजिक न्याय सहित आर्थिक–सामाजिक रुपान्तरण नै समाजवादोन्मुख समृद्धिको सार भएको विषयलाई महत्व दिदै सामाजिक न्याय सहितको आर्थिक विकास र राष्ट्रिय स्वाधीनताको थप सुदृढीकरणका लागि आफ्नो उम्मेदवारी भएको चौधरीको भनाई छ ।
उनले भने, ‘समाजवादको परम्परागत मोडेलप्रति उदासिन र बजारका एकाधिकारबाट पीडित हुँदै निराशा र निमुखा बन्दै गएकालाई समाजवादोन्मुख समृद्धिमा ल्याउन मैले स्वतन्त्रबाट उम्मेदवारी दिएको हुँ।’
जनताको आधारभूत स्वास्थ्य सेवा र विद्यालय शिक्षा निःशुल्क प्रदान, खाद्य सुरक्षा, आवास, रोजगारी, स्वच्छ वातावरण, जातीय, क्षेत्रीय एवं लैङ्गिक समानता लगायत मौलिक हकको कार्यान्वयन गराउने चौधरीको प्रतिबद्धता छ ।
उनले भने, ‘सार्वजनिक, सामुदायिक (सहकारी) र निजी क्षेत्रको पहलकदमी र सहकार्यमा आधारित आर्थिक विकासको ढाँचामा समाजवादोन्मुख समृद्धिको परिकल्पनाका साथ निर्वाचनमा होमिएको हुँ ।’