रमेशप्रसाद गौतम

रमेशप्रसाद गौतम /

आधुनिक सिकाइका विधि र प्रविधिका सम्बन्धमा कुरा गर्दा योग्य तालिमप्राप्त शिक्षकबाट मात्र यो सम्भव हुन्छ । अबका विद्यार्थीले शिक्षण शिक्षा विधिबाट धेरै कुरा सिक्ने गर्दछन् ।

विद्यार्थीको सिर्जनालाई खुम्च्याएर होइन, जति सक्यो फराकिलो र अध्ययनको दायरा बढाएर सिकाउनुपर्दछ । विद्यार्थीलाई अनुशासनका नाममा डर, त्रास र धम्की देखाई सिकाउने विधिले प्रतिफल निराशाजनक दिलाउँछ । तसर्थ विद्यार्थीको सिकाइ कार्य जटिल र चुनौतीपूर्ण छ । हरेक विद्यार्थीलाई उसको रुचिअनुसार उत्प्रेरित भएर सिक्ने र बुझ्ने वातावरण सिर्जना गरिनुपर्छ । यस किसिमको वातावरणमा सिक्ने अवसर पाएका केटाकेटी उच्च स्तरीय क्षमतावान् बन्न सक्ने हुन्छन् ।

बालबालिकाको रुचि भने एकै प्रकारको हुँदैन । बालकैपिच्छे फरक हुने हुँदा कुनैको कुनै कुरामा बढी रुचि हुन्छ भने अर्काको त्यसै विषयमा कम रुचि देखिन सक्छ । यसर्थ अब्बल शिक्षकको दायित्व भनेको नै आफ्ना बालबालिकाको रुचि जगाउने हो । शिक्षकले शिक्षण सिकाइ विधिमा पाठ्यक्रमलाई आधार मानी बालबालिकाको कुन क्षमता कसरी विकास गराउन सकिन्छ त्यसतर्फ ध्यान दिने हो ।

पठनपाठनमा सिकाइ भनेको बालबालिकाको रुचिअनुसार स्वस्फुर्त वातावरण बन्नुपर्नेमा हामीकहाँ ठीक विपरीत विद्यालय तथा अभिभावकको चाहनामा निर्भर गर्ने गरेको छ । बालबालिकामा निहित प्रतिभा प्रस्फुटन नभई कुण्ठित हुन पुग्दछ ।
सामुदायिक विद्यालयमा भन्दा संस्थागत विद्यालयमा बालबालिकाको पठनपाठनलाई स्वैच्छिक नभई बाध्यकारी बनाउने प्रचलन बढी देखिन्छ । यस्ता विद्यालयबाट एकातिर किताब–कापीको भारीले थिचाइएका छन् भने अर्कातर्फ गृहकार्यको बोझ पनि तिनकै थाप्लोमा थोपरिएको छ ।

हाम्रो अधिकांश अभिभावकको चाहना पनि त्यही छ कि जति भारी किताब–कापी बोकायो र जति धेरै गृहकार्य दियो उति आफ्ना नानीबाबुहरुले राम्रो गरी बुझ्छन् । यस्ता विद्यालय र अभिभावक दुवैले आवश्यकभन्दा बढी बोझ बालबालिकाले थेग्न सक्दैनन् भन्ने कुरा महसुस गर्दैनन् । बालबालिकामा भारी बोकाएको बोझले तिनको मानसिकतामा पर्ने नकारात्मक असर कस्तो होला ? बालबालिकाको क्षमता विकसित गराउन कस्तो शिक्षण विधि चाहिन्छ ? कुन–कुन सिकाइ उपलब्धि हासिल गराउन शिक्षकले के–के गर्ने ? बालबालिकाको रुचिअनुसारको स्वस्फुर्त वातावरण बनाउने खालका क्रियाकलाप हुनु जरुरी छ ।

विद्यार्थीको जीवन सफल बनाउन जीवनोपयोगी शिक्षा चाहिन्छ, जसबाट उसले आफ्नो जीवन र जगत्लाई बुझ्न सक्ने बनोस् । तर हाम्रो शिक्षा व्यवस्थामा सैद्धान्तिक पढाइ मात्र हुने हुँदा बालबालिकामा जीवनका लागि आवश्यक व्यवहार र आत्मनिर्भरप्रतिको दृष्टिकोणमा समेत फरक सोच देखिन्छ । उन्नत देशका बालबालिकाको सिकाइमा आत्मनिर्भर कसरी बन्न सक्छ, त्यसतर्फ नै जोड दिएको पाइन्छ । बालबालिकाको उमेरअनुसार स–साना काम गर्न सिकाइन्छ । त्यहाँ सैद्धान्तिक किताबी ज्ञानभन्दा व्यावहारिक सीप र तदनुरुप प्रयोग गर्न सिकाइन्छ ।

हाम्रा जस्तो किताबको भारी बोकाउने र गृहकार्यको बोझले थिचाउने काम त्यहाँ हुँदैन । बालबालिकालाई व्यावहारिक र स्वावलम्बी बनाउने शिक्षा नै आजको आवश्यकता हो । निश्चित उमेरपछि हरेक बालबालिका आफ्नो खुट्टामा उभिने अनि बाबुआमाको सम्पत्ति र भरथेग नखोज्ने खालको मनोभावनाको विकास प्रारम्भिक शिक्षादेखि नै गराई आत्मनिर्भरको सीप र प्रयोग सिकाइनु जरुरी छ ।

विकसित मुलुकहरुले किताबलाई भन्दा व्यवहार र प्रयोगलाई जोड दिने हुँदा त्यहाँका बालबालिमा आफ्नो अध्ययनकाल बोझिलो हुँदैन । आफ्ना सिर्जनात्मक प्रतिभालाई सहजरुपमा प्रस्फुटन गराउँदै आएका हुन्छन् । निश्चित उमेरपछि आफ्नै खुट्टामा उभिएर आत्मनिर्भर हुन्छन् । र, उनीहरु पैत्रिक सम्पत्तिको लालसी बन्दैनन् । अभिभावकबाट समयमै स्वतन्त्र भएर जीवनयापन गर्नुमा नै गौरव ठान्दछन् । हाम्रा बालबालिका भने आत्मनिर्भरभन्दा स्नातक तहसम्म पढ्दा पनि बाबुआमामा निर्भर हुन्छन् । प्रायः यस्ता केटाकेटी पढाइमै सबै समय खर्च गर्छन् । बेफुर्सदी बन्ने हुँदा आफ्नो घर व्यवहारका कुराप्रति ध्यान दिन सक्दैनन् । केटाकेटीले अभिभावकका सुख–दुःखका कुरा बुझ्दैनन् ।

यसले गर्दा जीवन र जगत्का पाटा पछाडि पर्ने गरेका छन् । जीवनोपयोगी र व्यावहारिक कुराहरुबाट विमुख भइरहेका हुन्छन् । केवल सुखानुभूति ग्रसित बन्ने हुँदा भोलि सानो दुःख आइपर्दा पनि आत्तिने बानी हुन्छ । शिक्षाले सुख–दुःखलाई नजिकबाट चिन्न सिकाउन सक्नुपर्दछ । व्यावहारिक जीवनमा आइपर्ने समस्या थुप्रै हुन्छन् । तिनलाई कसरी समाधान गर्ने र दुःखलाई नजिकबाट कसरी पहिचान गर्ने ? यावत् अनुभवबाट जीवन सफल बनाउन सकिन्छ भन्ने कुराबाट पनि बालबालिकालाई अनभिज्ञ बनाउनुहुँदैन ।

हाम्रो धारणामा सिकाइ भनेको केवल शिक्षकले सिकाउने कुरा मात्र बालबालिकाले सिक्ने भन्ठान्छौं । शिक्षकले सिकाएको भन्दा बढी जान्नु वा सिक्नुपर्ने जरुरी छैन भन्ने सोच गलत भैसकेको छ । आधुनिक सिकाइ विधिमा बालबालिका शिक्षकभन्दा बढी इन्फरमेटिभ हुन सक्छन् । कुरा बढी सिकेका पनि हुन्छन् । शिक्षण विधि, सिकाएका तौरतरिका, कौशलसम्बन्धमा शिक्षक पूर्ण पारंगत हुन्छन् भन्ने पनि छैन ।

शिक्षकले सिकाएका भन्दा विद्यार्थीले आफ्नै प्रयासबाट धेरै कुरा सिक्ने प्रयास गर्नुपर्छ । शिक्षकले सिकाएको दायराभन्दा बाहिर जानु ठीक होइन भन्नु गलत हो । कति प्रतिभाशाली केटाकेटी यही सीमिततामा रमाउनु भनेको तिनको प्रतिभालाई खुम्च्याउनु हो । यसर्थ हरेक विद्यार्थीले आफ्नो सिर्जनालाई फुक्का दिलले प्रस्फुटन गराउन दिनुपर्छ । तिनलाई स्वतन्त्ररुपमा रमाएर आफ्नै प्रयासमा सिक्ने वातावरण तय गरिनु पनि त्यत्तिकै जरुरी छ ।

हुन त हाम्रा बालबालिकालाई नयाँ विधि र प्रविधिबाट नयाँ ज्ञान र सीप सिकाउने भन्दा कलिलै उमेरदेखि पाठ घोकाउने गराइन्छ । पुस्तकमा भएका कन्टेन्ट कण्ठ गराउने प्रवित्ति छ । निश्चित समय अवधिमा लिइने परीक्षामा पाठ्यपुस्तकमा जे छ त्यसलाई घोकाएर सूचनालाई जस्ताको त्यस्तै उत्तरपुस्तिकामा लेख्न सक्ने विद्यार्थी उत्कृष्ट ठान्ने मान्यता रहँदै आएको छ । शिक्षकले पनि आफ्नो समयमा जे–जस्तो सिक्यो त्यही विषय आफूले पढाउँदाको पुस्तालाई हस्तान्तरण गर्ने शिक्षण सिकाइ क्रियाकलापको उद्देश्य मानिदै आएको कुरा गलत छ । आजको विश्वबजारमा विकसित भएका नवीनतम प्रविधि र शिक्षण सिकाइ अनि क्रियाकलाप अझै हाम्रो शिक्षा नीतिले पकड्न सकेको छैन ।

अबको शिक्षण सिकाइद्वारा बालबालिकाको सीप आर्जनका लागि सिर्जनात्मक र आलोचनात्मक चिन्तन, अनि सिर्जनशीलता, सहकार्यजस्ता सिकाइगत सीपहरु विकास गरिनु जरुरी छ । बालबालिकामा एकोहोरो कण्ठ गरेर जानेका कुरा मात्र उत्तर दिने बानीले प्रतिभा प्रस्फुटन हुन सक्दैन । बालबालिकाको मौलिक र सिर्जनात्मक सोचको विकास गराउँदै उनीहरुमा समस्या समाधान गर्ने क्षमताको विकास गराउन सिर्जनशील क्रियाकलापका प्रवद्र्धन गर्नु जरुरी छ । यसका लागि हाम्रो यथास्थितिको पठनपाठन विधिमा सुधार ल्याउन जरुरी छ । बालबालिकाले विद्यालयमा सिकेको सीपबाट जीवनयापनका लागि मद्दतगार हुनुपर्छ । मानिस सामाजिक प्राणीको रुपमा स्थापित हुनका लागि पनि आधारभूत सीपको जरुरी छ । बाल्यकालदेखि नै सामाजिक सीपअन्तर्गत समुदायसँग मेलमिलाप, सम्पर्क, उपसमूह गठन तथा सामाजिक सेवाकार्य आदिका लागि सक्रियता देखाउने खालको कुशलता प्रवद्र्धन गरिनु जरुरी छ ।

बालबालिकासँग शिक्षक, अभिभावक, समुदायले समेत मैत्रीपूर्ण व्यवहार गर्न जान्नुपर्दछ । बालबालिकाले जिज्ञासुपूर्वक सोधनी गरेका हरसमस्याको सबै पक्षले झर्को नमानी सहजै समाधान दिनुपर्दछ । शिक्षकले अझ बढी सजग हुन जरुरी छ । हरविद्यार्थीको जिज्ञासालाई नम्रताका साथ जवाफ दिइनुपर्दछ । विद्यार्थीले नबुझी जतिपटक प्रश्न गरे पनि बुझाउने प्रयास गर्नुपर्दछ । कक्षाकोठामा बालबालिकाले शिक्षकले सिकाएको बुझ्दैनन् भने त्यो शिक्षकको कमजोरी हो । शिक्षकले आफ्नो सिकाइमा विभिन्न विधि र प्रविधि अपनाई बालबालिकालाई स्नेहपूर्वक सिकाउनुपर्दछ । बालबालिकाले बझेनन् भने जतिपटक लगाएर भए पनि शिक्षकले बुझाउनु उनीहरुको दायित्व हो ।

शिक्षकले सिकाइ उपलब्धिको नियमित जाँच पनि गरिरहनुपर्छ । यसका लागि साप्ताहिक, मासिकरुपमा सामान्य परीक्षण गरिरहनुपर्छ । अन्तिम त्रैमासिक र वार्षिक परीक्षाबाट उपलब्धि स्तर पत्ता लगाउन मद्दत गर्दछ । परीक्षाबाट कमजोर देखिएका विद्यार्थीलाई विशेष कक्षा सञ्चालन गरेर जान्ने साथीसँगै राखी पढाउने कलाले पनि कतिपय नजान्ने विद्यार्थी जान्ने हुन्छन् । सिकाइ उपलब्धिका लागि शिक्षकको इच्छाशक्ति र सक्रियताका साथै अभिभावकको चासो पनि त्यत्तिकै जरुरी छ ।

हरेक विषयको शिक्षकले विद्यालयप्रति अपनत्व ठानी त्यहाँ पढ्ने बालबालिकालाई आफ्ना छोराछोरीसरह माया गरी गरी पढाउने गर्नुपर्छ । हरेक विद्यार्थी कक्षामा उपस्थित भई पढाइमा सक्रिय हुने÷नहुने, परिवारको वातावरण शैक्षिक अनुकूल बालमैत्री छ-छैन भनेर सबैतिर ध्यान पु¥याउन जरुरी छ । विद्यालय व्यवस्थापनले समय–समयमा अभिभावक भेला गराई छलफल, अन्तरक्रिया गराउनुका साथै समय–समयमा लिइएका सिकाइ उपलब्धि परीक्षाको नतिजाका बारेमा पनि अवगत गराउँदै कमी–कमजोरी पत्ता लगाएर सुधार्नेतर्फ अग्रसर हुनु विद्यालयको दायित्व हो ।

(लेखक गौतम शिक्षाविद् हुनुहुन्छ ।)

२०७९ श्रावण ५, बिहीबार २०:४४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!