
महोत्तरी : देशको जेठो गुरुकुल महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयबाट दुई दलित बटुकले प्रथम श्रेणीमा एसईई उत्तीर्ण गरेका छन् ।
२०७८ मा सम्पन्न एसइइ परीक्षामा सहभागि भएका महोत्तरी भ्रमरपुरा निवासी नवीन खत्वेले ३.० जीपीए ल्याउन सफल भएका छन् ।
त्यसैगरी मटिहानी नगरपालिका–६ का अंकित पासवानले २.८५ जिपिए ल्याउन सफल हुनु भएका छन् । नवीन खत्वेका दाजु दीपेन्द्र खत्वेले पनि गुरुकुलबाट पढी दोलखामा स्वास्थ्यकर्मी भई काम गरिरहेका छन् ।
दलित छात्रालाई संस्कृत पढाएर गुरुकुल परिवार सफल र गौरवको अनुभूति गरिरहेको प्रधानाध्यापक ईश्वरी प्रसाद पौडेलले बताए ।
संस्कृत पठनपाठनमा खसआर्यको मात्रै पहुँच रहेकोमा देशकै जेठो गुरुकुलमा दलित समुदायका बटुकहरु संस्कृत पढेर पण्डित बन्ने सपना बुनिरहेका छन् ।
देशका करिव ३५ जिल्लाका खत्बे, तत्मा, पासवान, मुस्लिम लगायत निम्न वर्गीय र पछाडि पारिएका समुदायका बालबालिकाहरु निर्धक्क भएर संस्कृत भाषामा अध्ययन गरिरहेका छन् ।
उनका अनुसार एसइइमा गुरुकुलबाट अंकित र दिपेन्द्र सहित १७ जना बटुकहरु सहभागि थिए । ती मध्ये १ जनाको प्राविधिक कारणले नतिजा अफसेन्ट देखाइएको छ । अरु सबै बटुकले राम्रो जीपीए ल्याएर एसइईमा उत्तिर्ण भएकोमा विद्यालय परिवार खुशी भएका छन् ।
तीन वर्ष गुरुकुलमा आवासीय रुपमा अध्ययन गरेका एसइई उत्तीर्ण गरेका बटुकहरु संस्कृत धारबाट कक्षा १२ सम्मको पढाई राजकीय संस्कृत माध्यमिक विद्यालयबाट पुरा गर्नमा जुटेका छन् ।
शिक्षाको ज्योतिबाट अझपनि निकै टाढा रहेका ग्रामिण भेगका दलित समुदायका बालबालिकाले संस्कृत धारबाट एसइइ उत्तिर्ण गर्नु ठुलो विषय रहेको मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डलले बताएका छन् ।