नेपालवाणी डटकम
जनकपुरधाम, फाल्गुन ।
आसन्न फाल्गुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको धनुषा २ २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राम विनोद यादव गाउँ–गाउँको जनहलरले उत्साहित देखिएका छन् । बालेनलाई प्रधानमन्त्री बनाउन लागि परेका रामविनोदलाई अहिले मतदाता भेट्न भ्याइ–नभ्याई छ ।

उम्मेदवार यादवले चुनावी गतिविधिलाई तीब्र बनाउँदै अहिले घरदैलो कार्यक्रमलाई निरन्तरता दिईरहेका छन् । घरदैलोकै क्रममा नेता, कार्यकर्ता तथा सर्मथकहरु ‘अव की बार बालेन सरकार’ अवको भोट परिवर्तनको पक्षमा, राम विनोद यादव जिन्दावाद’ लगायतका नाराले क्षेत्र नै गुञ्जयमान रहेका पाईएको छ ।

उम्मेदवार रामविनोदले ७५ प्रतिशत ठाउँमा घरदैलो गरिसकेको दाबी गरे । उनले भने, ‘घरदैलोमा मतदाता उत्साहित देखिएको छ । परिर्वतनको पक्षमा जनताहरु रहेको छ । बालेनलाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर लागिरहेका छन् । त्यही अभियानलाई हामीले पनि सहयोग, समर्थन गर्दै आएका छौं ।’
विगतको निर्वाचित प्रतिनिधि भन्दा फरक र जनताको भावनाअनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘जनता परिवर्तनको पक्षमा छन् । हामी परिवर्तन गर्न, देशको नेतृत्व गर्न तयार भएर आएका छौं,’उनले भने,‘आफ्नो भुमिका जनताको पक्षमा सदैव रह्ने छ । युवा र किसानको पक्षमा नीति बनाउँछौं । उनका लागि आवश्यकता अनुसारको विकास गर्छौ ।’

बैदेशिक श्रम तथा युवा पलायन रोक्न, कृषिको मुख्य समस्या समाधान गर्न र गरिव विपन्नको हितको लागि काम गर्ने उनको भनाई छ । अहिले मुख्य समस्याको पहिचान गरी निराकरणको लागि काम गरिररहेको उनको भनाई छ । यस निर्वाचन क्षेत्रमा जंगली जनावरले कृषकको बाली नष्ट गर्ने जस्ता समस्या सुनाएको भन्दै उम्मेदवार रामविनोदले यसलाई प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको सुनाए ।

