पोखरा : व्यावसायिक घराना बतास अर्गनाइजेसनले जनकपुरमा ३०० शय्याको अत्याधुनिक अस्पताल बनाउने तयारी गरेको छ । बतासअन्तर्गतको बापो होल्डिङ्सद्वारा सञ्चालित मणिपाल मेडिकल एजुकेसन एन्ड मेडिकल ग्रुपले जनकपुरमा ३०० शय्याको अस्पताल बनाउने तयारी गरिएको हो ।

त्यसबाहेक महोत्तरीको जलेश्वरमा इन्जिनियरिङ कलेजसँगै अन्तर्राष्ट्रियस्तरको प्राविधिक कलेज सञ्चालनको तयारी गरिएको छ । मणिपालले २४ वर्षअघि नै ३५ बिघा जग्गा खरिद गरेर इन्जिनियरिङ कलेज सञ्चालन गर्ने भनिएको थियो । त्यति बेला मणिपालमा भारतीय व्यवस्थापन थियो ।

तर, तत्कालीन द्वन्द्वका कारण कलेज सञ्चालन गर्न नसकेको बताइन्छ । २७ करोड रुपैयाँ खर्च भइसकेको थियो । भग्नावशेष बनेका भौतिक संरचना कोभिड–१९ महामारीको समयमा मधेस स्वास्थ्य प्रतिष्ठानले कोरोना अस्पतालका रूपमा प्रयोग गर्‍यो ।

अहिले मणिपालको व्यवस्थापन बापो होल्डिङ्सको अधीनमा छ । सोहीअन्तर्गतको मणिपाल मेडिकल एन्ड एजुकेसन ग्रुपले गएको असार १९ गते सामाजिक विकास मन्त्रालयलाई पत्र लेखेर प्रतिष्ठानले सञ्चालन गरिरहेको अस्पताल खाली गरिदिन भन्यो ।

मणिपाल शिक्षण अस्पतालले स्थायी अस्पताल सञ्चालन गर्ने तयारीका लागि जनकपुर, मुजेलियास्थित उक्त अस्पतालको भवन खाली गरिदिन पत्राचार गरिएको थियो । तर, हालसम्म प्रतिष्ठानबाट भवन खाली गरिएको छैन ।

स्रोतका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बोधार्थ गराउँदै असार २३ मा नै पत्राचार गरिए पनि महिना दिन बितिसक्दा समेत अस्थायी अस्पताल खाली नगरिएको हो । त्यही कारण अस्पताल सञ्चालनमा ढिलाइ भएको मणिपालले प्रशासनले जनाएको छ ।

बतासले सञ्चालन गरिरहेको मणिपाल मेडिकल एजुकेसन एन्ड मेडिकल ग्रुपले मधेस प्रदेशको शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गर्न लागेको ग्रुपका अध्यक्ष आनन्दराज बतासले बताए ।

उक्त गु्रपले जलेश्वरमा इन्जिनियरिङ कलेजसँगै अन्तर्राष्ट्रियस्तरको प्राविधिक कलेज सञ्चालनमा ल्याउनुका साथै जनकपुरमा अस्पताल स्थापना गर्न लागेको हो । जलेश्वरमा मणिपालको तत्कालीन सञ्चालक समूहले अढाई दशकअघि खरिद गरेको करिब पाँच बिघा जग्गामा इन्जिनियरिङ कलेजसँगै अन्तर्राष्ट्रियस्तरको प्राविधिक कलेज सञ्चालनमा ल्याउनका लागि प्रक्रिया अघि बढाइएको बतासले बताए ।

ग्रुपले प्रदेश सरकारमार्फत प्रतिष्ठानलाई उक्त भवन खाली गर्न आग्रह गरिएसँगै अस्पताल भवननजिकै रहेको गुठी संस्थानको जग्गा भाडामा सञ्चालन गर्ने गरी करार सम्झौता गरिसकेको छ ।

मणिपालका प्रमुख कार्यकारी अधिकृत अनिल ओभिनले जलेश्वर नगरपालिकामा इन्जिनियरिङ कलेजको निर्माणकार्य तत्काल थालिने बताएका छन् । २४ वर्षअघि नै जग्गा खरिद गरिए पनि त्यहाँ हालसम्म नक्सापास गर्ने कामबाहेक अरू कुनै कार्य भएको छैन । उक्त स्थानमा सञ्चालनमा आउने विभिन्न कलेजमा स्थानीयलाई रोजगारी र छात्रवृत्तिमा पहिलो प्राथमिकता दिइने जनाइएको छ ।

२०७९ भाद्र ५, आईतवार १२:०६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय