काठमाडौं : काठमाडौँको ठमेलमा तेस्रो अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ । शिवारङको आयोजनामा काठमाडौँको ठमेलस्थित मिथिला येँ आर्ट ग्यालरीमा ‘रङ उत्सव थ्री’ तथा तेस्रो अन्तर्राष्ट्रिय कला प्रदर्शनी आजदेखि सुरु भएको हो । प्रदर्शनीमा नेपालका पाँच र भारतका ३० कलाकारले कोरेका चित्रहरू राखिएका छन् ।

उक्त कला प्रदर्शनीको उद्घाटन गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धरले कलाले नेपाल र भारतको सम्बन्धलाई थप प्रगाढ बनाएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता प्रदर्शनीलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

वरिष्ठ कलाकार महेश आचार्यले सबै कलाको आआफ्नो विशेषता रहेको उल्लेख गर्दै यस्ता कला प्रदर्शनीले नेपाली कलाकारलाई अन्तर्राष्ट्रिय कलाकारसँग जोड्न सहयोग पुगेको बताउनुभयो । मिथिया येँ ग्यालरीका सञ्चालक एवं वरिष्ठ कलाकार श्यामसुन्दर यादवले मिथिला येँ ग्यालरीमा विभिन्न समयमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी हुँदै आएको र कलाले नेपालसँग विश्वको कलाकारलाई जोड्दै आएको बताउनुभयो ।

विगत १७ वर्षदेखि सञ्चालमा रहेको मिथिला येँ आर्ट ग्यालरीमा हालसम्म तीन सयभन्दा बढी स्वदेशी तथा विदेशी कला प्रदर्शनी भइसकेको छ । कला प्रदर्शनीकै क्रममा आजै भारतका वरिष्ठ कलाकार राहुल स्वामीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिर कोर्नुभएको थियो । आजदेखि सुरु भएको प्रदर्शनी कात्तिक २५ गतेसम्म चल्नेछ ।


२०७९ कार्तिक २५, शुक्रबार १०:१६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय