महोत्तरी : लक्ष्मीसागरमा हुने श्री लक्ष्मीनारायणको आरति अब आस्था र विश्वासले मिथिलाकै महापर्व बन्दो छ । लक्ष्मीनारायण महाआरतिको तेस्रो वार्षिकोत्सवमा अवसरमा बिहीबार रातभरि आयोजित अनुष्ठानमा उर्लेको जनसमूहले यो अब यस भेगको महापर्व बनेको श्रद्धालु सहभागीले बताएका छन् ।

“महाआरति मिथिलाक आब एक नवपरिचय स्थापित करौने अछि” (महाआरति अब मिथिलाको एउटा थप नयाँ परिचयसाथ स्थापित हुँदैछ) महाआरतिमा सहभागी हुन आउनुभएका भारतीय जिल्ला दरभङ्गाका सङ्गीत प्रवीण डा. विपिन मिश्रले भन्नुभयो, “प्राचीन मिथिलाक संस्कृति, सभ्यता आ संस्कारके यी महाआरति सबके स्मरण करवैत अछि” (महाआरतिले प्राचीन मिथिलाको संस्कृति, सभ्यता र संस्कार हामी सबैलाई सम्झाउँदैछ) । शिवभक्त डा. मिश्र भगवान शिवको नटराज नृत्य र रावणरचित शिव ताण्डवस्तोत्र प्रस्तुतिमा पारङ्गत हुनुहुन्छ ।

बिहीबार साँझ मधेश प्रदेशका प्रदेशप्रमुख हरिशङ्कर मिश्र यजमान भई महाआरतिको सङ्कल्प गर्दा ‘हरहर महादेव’ र ‘भगवान लक्ष्मीनारायणको जय’ ध्वनी गुञ्जेको थियो । समारोहमा मधेश प्रदेशसभाका सदस्य तथा जनकपुरस्थित श्री गङ्गा महाआरतिका संस्थापक रामअशिष यादव, अर्का प्रदेशसभा सदस्य अभिराम शर्मा, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, मटिहानीसँगै जोडिएको भारतीय ग्रामपञ्चायत मधवापुरका सरपञ्च बलराम मिश्र, महोत्तरी जिल्ला अदालतका न्यायधीशहरु , प्रमुख जिल्ला अधिकारी दीपक पहाडी र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको सहभागिताले महाआरतिको धार्मिक महत्व उजागर गरेको मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले बताउनुभयो ।

मटिहानी नगरपालिका-७ स्थित लक्ष्मीसागर तलाउमा २०७८ साल साउनको पहिलो बिहीबार श्री लक्ष्मीनारायणको महाआरति प्रारम्भ भएको हो । त्यसयता लक्ष्मीनारायण आरति प्रत्येक बिहीबार लक्ष्मीसागर तटमा आयोजन हुँदै आएको छ । थोरै अवधिमै एक विशिष्ट परम्परा स्थापित भएको महाआरतिमा सबै धर्म परम्पराका अनुयायी सहभागी हुँदै आएका छन् । सामाजिक कार्यकर्ता वरुण मण्डल संयोजकत्वको महाआरती मूल व्यवस्थापन समितिमा हिन्दूमात्र नभई इस्लाम धर्मावलम्बी पनि सदस्य छन् । महाआरती व्यवस्थापनमा उत्कृष्ट योगदान पुर्‍याएका इस्लाम धर्मावलम्बी युवा २५ वर्षीय मोहम्मद इसराफिल राइनलाई तेस्रो वार्षिकोत्सवको अवसरमा सार्वजनिक सम्मान नै गरिएको छ । महाआरति मूल व्यवस्थापन समितिअन्र्तगत अर्थ व्यवस्थापन , साँस्कृतिक र आरतिको कर्मकाण्डीय जिम्मेवारीका उपसमिति छन् । जसमा अर्थ संयोजक नगरप्रमुख मण्डल, साँस्कृतिक र कर्मकाण्डीय व्यवस्थापन उपसमिति राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकूल) का प्रधानाचार्य ईश्वरी पौडेलको संयोजकत्वमा छ ।

मटिहानीमा फरकफरक सँस्कृतिक पर्वमा सबै धर्म परम्पराका अनुयायीको समान सहभागिता हुनमा संस्कारगत परम्परा बसेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका उपप्राध्यापक हेमनारायण कणर् बताउनुहुन्छ । मटिहानी नगरको आधुनिक परिकल्पना, बसोबास व्यवस्थापन र आपसी चाडपर्वका थिति हिन्दू परम्पराका महान सन्त तस्मैयाबाबा र इस्लाम परम्पराका सुफी सन्त पिरबाबाले बसाल्नु भएको हुँदा यहाँको धार्मिक तथा सामाजिक सद्भाव उच्चकोटीको रहेको कणर्को भनाइ छ । “यहाँ लक्ष्मीनारायण महाआरति, दुर्गा पूजनोत्सव र भूmलन महोत्सवजस्ता हिन्दू परम्पराका साँस्कृतिक पर्वमा इस्लाम धर्मावलम्बी व्यवस्थापनमा जुटेका देख्नुहुन्छ, त्यस्तै पिरबाबा मजारको उत्सव, मोहम्मद डे, सबेबरात , मोहर्रम , ईद र बकरिदजस्ता इस्लाम परम्पराका पर्वमा हिन्दू युवा संयोजन गरीरहेका हुन्छन्” कणर् भन्नुहुन्छ, “अन्य कुरामा कतै कसैबीच केही खटपट भएहुन् , तर धार्मिक खिचोला मटिहानीको इतिहासमा भेटिदैन ।”

पछिल्लो महाआरति परम्परा पनि हिन्दू/इस्लाम भएर हैन, मटिहानीबासी भएर सबैले थेग्दै आएका नगरप्रमुख मण्डलको पनि अनुभव छ । “हामीले मटिहानीस्थित श्री लक्ष्मीनारायण मन्दिर, श्री लक्ष्मीनारायण मठ, लक्ष्मीसागर, १०५ वर्ष पुरानो गुरुकूल (हाल श्रीराजकीय संस्कृत माध्यमिक विद्यालय) र भगवान लक्ष्मीनारायण , महामुनि याज्ञवल्क्यका नाउँमा स्थापित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) र पिरबाबा मजारको सामुहिक परिचय उजागर गर्न श्री लक्ष्मीनारायण महाआरति प्रारम्भ गरेका थियौं” नगरप्रमुख मण्डल भन्नुहुन्छ, “त्यसयता अहिलेसम्म ११० वटा बिहीबार आरति सम्पन्न भएछन्, प्रत्येक आरतिका यजमान फरक फरक ! आरति आयोजनको आर्थिक जिम्मेवारी वहन गर्न पालो पर्खनेकै अहिले लामो पङ्ति छ ।”

दशगजाले देशको सीमा छुट्याएपनि एउटै बस्तीझैं जोडिएका मटिहानी र भारतीय बजार मधवापुरको आरति आयोजनमा समान सहभागिता हुँदै आएको मण्डलले बताउनुभयो । अब २०८१ साउनको पहिलो बिहीबारसम्मको महाआरतिको आर्थिक दायित्वको जिम्मेवारी स्वेच्छाले पालो मिलाएर किटान भइसकेको मण्डल बताउनुहुन्छ ।

अघि त्रेता यूगमा रामसीताको विवाहमा यज्ञ वेदि बनाइन माटो खनिएको पवित्रस्थल मानिने लक्ष्मीसागरमा २०७८ साल साउन (साउन ४ गते) को पहिलो बिहीबार लक्ष्मीनारायण आरतिको थालनी गरिएको थियो । यो महाआरतिले गत वर्ष दोस्रो वार्षिकोत्सव र यसपालि उत्सवमय तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ । मटिहानीस्थित लक्ष्मीनारायण मठ मुलुकभरिकै राजगुठी मठको नायक मानिन्छ । मठ परिसरमै हिन्दूहरुका आराध्यदेव भगवान लक्ष्मीनारायणको मन्दिर छ । लक्ष्मीसागरमा प्रत्येक बिहीबार आयोजन हुँदै आएको महाआरति भगवान लक्ष्मीनारायणप्रति समर्पित गरिएको हो ।

राजकीय संस्कृत पाठशाला, याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस (विद्यापिठ) , लक्ष्मीनारायण मठ , लक्ष्मीनारायण मन्दिर र पिरबाबा मजारमाझअवस्थित लक्ष्मीसागरलाई मटिहानी नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा मर्मतसम्भार, रङ्गरोगन र घेराबेरा गरेपछि यसको महत्ता उजेल्याउने उद्देश्यले लक्ष्मीनारायण महाआरति प्रारम्भ गरिएको हो । प्रत्येक बिहीबार साँझ आयोजन हुने महाआरतिमा मटिहानी नगरबासीको उत्साहपूणर् सहभागिता हँुदै आएको राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाचार्य ईश्वरी पौडेल बताउनुहुन्छ ।

लक्ष्मीनारायण महाआरति प्रारम्भ भएयता लक्ष्मीसागरको नियमित सरसफाई र सम्भारमा आम चासो बढेको छ । प्रथम वार्षिकोत्सव समारोहमा महोत्तरी, धनुषा र मित्रराष्ट्र भारतका साधुसन्त सहभागी हुनुहुन्थ्यो । लक्ष्मीसागर नेपाल भारत सीमा दशगजाबाट मात्र २०० मीटर (बढीमा) उत्तर अवस्थित छ । यस सागरको परार (२०७८) मङ्सिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गर्नसँगै दिवाआरतिमा सरिक हुनुभएको मटिहानीबासी सम्झन्छन् ।

मटिहानीको महत्ता र यसको धार्मिक परिचय उजागर गर्नसके यो ठाउँ धार्मिक नगरीका रुपमा विकास गर्ने नगरप्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ । नगरपालिकाले यसै अभिप्रायसाथ यहाँका मठ मन्दिर, पाठशाला, तलाउ र अन्य प्राचीन सम्पदाको संरक्षण र विकासलाई उच्च महत्व दिएको मण्डलको भनाइ छ ।—

२०८० श्रावण ५, शुक्रबार २१:५५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय