
काठमाडौं : कमै अभिनेत्रीलाई पहिलो फिल्मबाटै सफलताको उत्कर्षमा पुग्ने मौका मिल्छ । यसमानेमा भाग्यमानी अभिनेत्री हुन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । पहिलो फिल्म ‘ड्रिम्स’ले नै उनलाई युवापुस्तामा जबर्जस्त लोकप्रियता दिलायो । दोस्रो फिल्म ‘ए मेरो हजुर २’को सफलताले उनको स्टारडम थप मजबूत बन्यो । यतिसम्मकी उनको स्टारडमले नै फिल्म चल्छ भन्ने विश्वास मेकरमा हुन थालेको थियो ।
फिल्म वितरक तथा निर्माता सुनील मानन्धरले ६ महिना अगाडि एक अन्तर्वार्तामा भनेका थिए, ‘रेखा थापापछि हिरोइनको नामले नै फिल्म चल्ने साम्राज्ञीको हो ।’ तर, यो ६ महिनामा बागमतीमा धेरै पानी बगिसकेको छ । गत वर्ष प्रदर्शनमा आएका साम्राज्ञी अभिनीत फिल्म ‘तिम्रो मेरो साथ’ र ‘ह्यारी कि प्यारी’को दयनीय नतिजाले उनको नामले नै फिल्म चल्छ भन्ने भ्रम तोडिदिएको छ ।
यसअघि उनका ‘कायरा’, ‘मारुनी’ र ‘रातो टीका निधारमा’ पनि असफल भएका थिए । रिलिजको हिसाबले चौंथो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ भने औसत चलेको थियो । ‘ड्रिम्स’पछि उनको नामैले हलमा दर्शक तानेको नदेखिएको होइन । तर, श्रृंखलाबद्ध विवादले उनको क्रेज कमजोर बनेको फ्लप फिल्मको बढ्दो संख्याले देखाउँछ । अब उनलाई पुरानो क्रेज ब्यूँताउनु पर्ने ठूलो चुनौती छ ।
आगामी भदौ २९ गते उनी अभिनीत फिल्म ‘नाङ्गो गाउँ’ प्रदर्शन हुँदैछ । बक्स अफिसका हिट मेशिन मानिएका अभिनेता दयाहाङ राईको पनि फिल्ममा अभिनय छ । ब्लकबस्टर फिल्म ‘छ माया छपक्कै’का निर्देशक दीपेन्द्र लामाले फिल्म निर्देशन गरेका हुन् । यसैले उनलाई यो फिल्मप्रति ठूलो आशा छ । फिल्म हिट भैदिएको खण्डमा उनको संकटउन्मुख करिअर लयमा फर्कन सक्नेछ ।