गोपाल बराल,
बर्दिबास (महोत्तरी) २१ मङ्सिर ।

सामुदायिक हितका लागि धर्मशाला बनाएर कीर्ति राख्ने पुरानो मैथिल परम्परालाई महोत्तरीको बर्दिबास-१४ का एक परिवारले अनुशरण गरेका छन् । आफ्ना दिवङ्गत पितामाताको स्मृतिमा यहाँका एक हमाल परिवारले एक करोडभन्दा बढी लागतको धर्मशाला बनाएर समुदायलाई हस्तान्तरण गरेका हुन् । बर्दिबास-१४ स्थित श्री रामजानकी मन्दिर परिसरमा निर्मित नीर-रत्न धर्मशाला सञ्चालनमा आएको छ ।

स्थानीय समाजसेवी स्वर्गीय नीरबहादुर हमाल र उहाँकी दिवङ्गत पत्नी रत्न हमालको स्मृतिमा बर्दिबास-१४ श्री रामजानकी मन्दिर परिसरमा निर्मित नीर-रत्न धर्मशाला सर्वसाधारणको प्रयोगका लागि सञ्चालनमा आएको हो । स्वर्गीय हमाल दम्पतिका भाइहरु मीनबहादुर हमाल र अर्थबहादुर हमाल एबम् छोराहरु डा. कृष्णबहादुर हमाल, चिरिञ्जीवी हमाल, ओमकार हमाल , ईश्वर हमाल, र दिपक हमाल तथा छोरी दुर्गा हमालसहितले संयुक्त रुपमा यो धर्मशाला निर्माण गर्नुभएको हो ।

विक्रम सम्वत् २०११ सालमा स्व. नीरबहादुर हमालले दान गर्नुभएको ११ कठ्ठा १५ धुर क्षेत्रफलको जग्गाभित्र निर्मित मन्दिर परिसरमै अहिले धर्मशाला निर्माण भएको हो । बर्दिबास-२ स्थित जनता माध्यमिक विद्यालयको स्थापना र सञ्चालन एबम् बर्दिबास-१४ मा बजार बसाउनु भएका स्व. हमालले यी संस्था सञ्चालनका लागि १० बिघाभन्दा बढी जग्गा दान गर्नु भएको थियो । स्व. पिता माताको स्मृतिमा धर्मशाला निर्माण गरी समुदायलाई हस्तान्तरण गरिदा समाज उत्प्रेरक स्व. बुबा/आमाको सही तरिकाले सम्झना गरिएको अनुभूति आपूmहरुलाई भएको नेपाली काँग्रेसका महासमिति सदस्यसमेत रहनु भएका चिरिञ्जीवी हमाल बताउनुहुन्छ । धर्मशाला निर्माणमा एक करोड पाँच लाख खर्च भएको उहाँले जानकारी दिनुभयो ।

दुईतले यो पक्की धर्मशाला भवनको भुईँ तलामा उत्तरतर्फ फराकिलो पटाङ्गिनीसहित खानेपानी धारा र शौचालय सुविधासहितका तीनवटा कोठा छन् । भुईँतलाकै मुख्य सडकतिर पर्ने दक्षिणपट्टी ब्यापारिक प्रयोजनका तीन कोठा (सटर) छन् । यसैगरी माथिल्लो तलामा २०० मानिस अटाउने क्षमताको सभा भवनसहित आन्तरिक शौचालय सुविधासहितको एक फराकिलो अतिथिकक्ष छ ।

धर्मशाला व्यवस्थापनमा ब्यापारिक प्रयोजनले बनाइएका सटरको आम्दानी र बिभिन्न समारोह (विवाह, ब्रतबन्ध, धार्मिक र साँस्कृतिक समारोह)का लागि उपलब्ध गराइँदा लिइने न्यूनतम शुल्कले सहज हुने विश्वास गरिएको छ । परिसरभित्रै विवाह मण्डप पनि निर्मित छ ।

बर्दिबास हटिया नजिकै निर्मित यो धर्मशालाले अब वैवाहिक, अन्य धार्मिक र साँस्कृतिक समारोहका पाहुनाको बसोबास व्यवस्थपनमा निकै सहज हुने बर्दिबास-१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भरत हमाल बताउनुहुन्छ । मधेशको प्राचीन मिथिलाक्षेत्रमा केही दशकअघिसम्म कीर्तिकै लागि विद्यालय, धर्मशाला, इनार, पोखरी निर्माण गर्ने र छहारीदार रुख रोपेर चौतारी बनाउने परम्परा थियो । मिथिलामा थुप्रै दानवीरले निर्माण गरेका यस्ता कीर्ति अझै खडा छन् । पछिल्लो कालमा हराउँदै गएको यो उदात्त परम्परालाई स्व. हमाल दम्पतिका सन्तानले अनुशरण गरेर निकै राम्रो काम गरेका अहिले बर्दिबासका पाका मैथिल बताउँछन् ।

२०८० मंसिर २१, बिहीबार ०८:१३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय