महोत्तरी : चारैतिर हुस्सुले डम्म ढाकेको छ । पश्चिमी सिरेटोले लगलगी मुटु कमाउँदो छ । पुसको अन्तिम साता चल्दै गर्दाको छिप्पिदो जाडोबीच महोत्तरीका किसानलाई भने सास फेर्ने फुर्सत छैन । गहुँमा पहिलो पानी बाली लगाएर नाइट्रोजन मल (बोलिचालीमा युरिया मल) छर्न बेला भर्कदै गएको, कोभी, खोर्सानीलगायतका तरकारीबाली बजार पुर्‍याउन पर्ने पालो, उखु कटान गरी चिनीमिल पुर्‍याउने चटारो । वैशाखी तरकारी (वैशाखमा उत्पादन लिइने तरकारी बाली) लगाउन खेतबारी खनजोत र डोब खन्न भ्याइनभ्याई । समय घर्कदा बित्ने यी कामसँगै मुखमा आएको तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्वको जोहोमा पनि लाग्नुपर्ने भएपछि यहाँका किसानले चिसो सिरेटो , हुस्सु , जाडो केही भन्न पाएका छैनन् । लगलगी मुटु कमाउने जाडोबीच कामको भ्याइनभ्याई छ ।

“खेतीपातीका बेलाका कामले जाडो गर्मीको छुट दिदैन, समयमै गर्न परीहाल्छ, हेर्नोस न, असरल्ल काम छन्” धमाधम खेतको उखु काट्ने, मुठा पार्ने र ट्रेक्टरमा लोड गराइरहनु भएका बर्दिबास-९ पशुपतिनगरको टोकीटोलका किसान रामचन्द्र थापा मगर भन्नुहुन्छ, “यतिमात्र हो र , कोवी टिपेर दुई दिने पालोमा बजार लगिएनभने लगत्तै पूmल फक्रेर कक्रक्क पर्छ, खै ! खेतीमा जोतिने हामीलाई आराम भन्ने त कर्म (भाग्य) मै लेखिएर आ’को छैन ।” खेतीका कामले जाडो गर्मी केही भन्न नदिने उहाँको ६० वर्षे उमेरको अनुभव छ ।

खेतीपातीका यी कामसँगै अहिले मधेश प्रदेशका प्राचीन मिथिला क्षेत्रका किसानलाई तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्वको चटारोले पनि छोपेको छ । तिलासक्रायतका लागि चिउरा/मुरी बनाउन धान भिजाउने, उसिन्ने, कुट्ने काममा घरघरका गृहिणी लागेका छन् । त्यसैगरी तील खेती गरेका किसान तील झाँट्ने, निफन्ने र आपूmलाई चाहिने राखेर अरु बजार पुर्‍याउन व्यस्त देखिन्छन् । पर्वमा चिउरा, मुरी र तीलका ‘लाई’ (लडडू) बनाउन चाहिने सख्खरको जोहोका लागि कतिपय किसान आफैं धमाधम उखु पेलेर सख्खर पकाउँदैछन् । आफ्नो घरको पर्व सामग्रीको जोहो पनि हुने र यी सामग्रीले अहिले राम्रो भाउ पाउने भएपछि किसान जाडो नभनी काममा जुटेका हुन् । मिथिलामा माघ सङ्क्रान्तिका दिन तिलासक्रायत पर्व मनाउने परम्परा छ । पर्व अब दुई दिनपछि नै हुँदा कामको चटारो बढेको किसान बताउँछन् ।

“पवनी (पर्व)ले छोपी सक्यो, खेतीपातीका काम असरल्ल छन् , अहिले सख्खरका लागि उखु पेल्ने, मुरी/चिउराका लागि धान उसिन्ने र झाँटेको तील बजार लाने काम छन् , लगत्तै अब आजैदेखि अलुवा (सखरखण्ड, सुठुनी), पिंडालु र तरुल खन्ने कामले छोप्छ” भङ्गाहा-४ टोका बस्तीका ५५ वर्षीय किसान राजकुमार दास भन्नुहुन्छ, “अहिले बजार पुर्‍याउन नसकिएको तीलको भाउ सङ्क्रान्तिपछि खस्छ ।” मिथिलामा तिलासक्रायत पर्वमा अलुवा, तरुल र पिडालुजस्ता कन्दमूल उसिनेर खाने/ ख्वाउने स्थापित परम्पराले सङ्क्रान्तिअघि यी उत्पादनले राम्रो बजार पाउने गरेका छन् । मात्र एक कठ्ठा क्षेत्रफलमा लगाइएको अलुवाबाट सङ्क्रान्तिअघि बजार पुर्‍याउनसके १० हजार हाराहारी आम्दानी गर्न सकिने दासको भनाइ छ । यी कन्दमूल खनेको केही दिनसम्म टिक्ने हुँदा सङ्क्रान्तिका तीन/चार दिनअघि खनेर बजार पुर्‍याइने गरिएको उहाँले बताउनुभयो ।

पर्वमा सख्खर, तील, चिउरा , मास, जुनेलो (अन्नविशेष) र तरुवा खाइने तरकारीविशेषको खुबै माग हुन्छ । पर्वमा सख्खरको खुँदोमा मिसाएर बनाइने तील, चिउरा, मुरी र जुनेलोको लाई (लड्डु) खाने/ख्वाइने चलन छ । त्यसैगरी कोवी, भाण्टा, हरियो केरा, आलु , परवल र लौकीको तरुवा खाने आमप्रचलनले यी बस्तुले पर्वताका राम्रो भाउ पाउँछन् । पर्वको लागि आफ्नै घरको तयारी र पर्वअघि नै यी फसल बजार पुर्‍याउनै पर्ने र नियमित खेतीपातीका कामले अहिले सास फेर्ने फुर्सत पनि नभएको गौशाला-१० लक्ष्मीनियाँका किसान लक्ष्मी महतो बताउनुहुन्छ ।

“हेर्नोस् न, कुहासा (हुस्सु) ले ढाकेर दिनरात छुट्याउन सकिन्न, चिसो हावा उत्तिकै बहीरहेछ , तर जाडो भनेर घर बस्ने बेला छैन” महतो भन्नुहुन्छ, “खेतीपातीका मुख्य काम यसै बेला छन्, नयाँ खेती लाउने तुक (बेला, समय) र केही बाली थन्क्याउने र बजार पुर्‍याउन नसके गुजारामै असर पर्छ ।” त्यसैले जाडो नमानी काममा जोतिनु परेको उहाँ बताउनुहुन्छ ।

अहिले पर्वकै तुक पारेर केही उखु किसान धमाधम उखु पेल्ने र खुँदो पकाएर मिठ्ठा (सख्खर) बनाउने काममा तल्लिन देखिएका छन् । “हेर्नोस न मुटु छिचोल्ने जाडो छ, तर के गरौं समयले पर्खदैन, अहिले जाँगर नचलाए जहान परिवारको मुखमा माड लाग्दैन” मिठ्ठा (सख्खर) बनाउन ठूलो भठ्ठी चुलोमा खुदो उमाल्न व्यस्त बर्दिबास-९ पशुपतिनगरका किसान भोला महतो भन्नुहुन्छ । उखु फसलबाट हुने आम्दानीले वर्षभरिको खाने अन्नको जोहो गर्नुपर्दा अहिले मिठ्ठाले राम्रो भाउ पाउने बेला जाडो नभनी काममा जोतिनु परेको महतोको भनाइ छ । उखु धेरैजसो चिनी उद्योगलाई दिइने भएपनि चाडपर्वको तुकमा किसानले तत्कालको नगद गर्जो टार्न र आफ्नो घर आवश्यकताको सख्खर बनाउन केही उखु पेल्ने गरेका छन् ।

त्यसैगरी तिलासक्रायत पर्वमा मासको दाल मिसाइएको खिचडी खाइने चलनले मास किन्ने/ बेच्नेको पनि अब बजारमा भीड देखिने गरेको छ । तील खेती गर्ने किसानले पनि पर्वविशेषमा आफ्नो फसलबाट राम्रो आम्दानी लिदैछन् ।

मिथिलामा सबै जातजाति र समुदायले तिलासक्रायत पर्व मन खोेलेर मनाउने गर्छन् । यहाँका थारु र मगर समुदायको त यो मुख्य पर्व नै हुँदा एक महिना पहिलेदेखि नै तयारी थालिन्छ । थारु र मगर समुदायमा पर्वविशेषमा मासु अनिवार्य परिकारमा पर्ने हुँदा आफ्नो सावगासअनुसार यसको जोहो गर्न केही पहिलेदेखि नै यी समुदायमा पर्वविशेषको व्यस्तता बढ्ने गरेको छ ।

तिलासक्रायत पर्वपछि यसको सनेस (कोसेली) पठाउने मिथिलामा आम चलन छ । खासमा विवाह भएका छोरी/चेली (फुपू, दिदीबहिनी र छोरीभतिजी) मित/मितिनी र नजिकी इष्टमित्रकहाँ पर्वविशेषका परिकार पुर्‍याइने परम्पराले यो पर्वका लागि केही दिन पहिलेदेखि नै तयारी थालिन्छ । तिलासक्रायत खाने/ख्वाउने र भेटघाटको खास अवसर पनि बन्ने गरेको हुँदा यो रमाइलो पर्व रहँदै आएको पाका मैथिल बताउँछन् ।

परम्पराले जाडो गर्मीबीच नै मन रमाउने पर्व गाँथेका छन् । खेतीपातीका कामको क्रम प्रकृतिले जोडेको छ । जाडो गर्मी यसैबीच छन् । त्यसैले यिनै परिस्थितिबीच आपूmलाई लगाउँदै उभिन जान्नुपर्ने भङ्गाहा-४ रामनगरका पाका किसान ८० वर्षीय वृदेवसिंह दनुवार आफ्नो अनुभवको निष्कर्ष बताउनुहुन्छ ।

२०८० पुष २७, शुक्रबार ११:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय