महोत्तरी, २८ माघ । करिब डेढ दशकपछि भर्खरै (२२-२७ माघ २०८०) आयोजित नेकपा (एमाले) महोत्तरीको छैठौं जिल्ला अधिवेशनमा प्रतिष्पर्धी प्यानललाई बढार्दै बलिराम यादवले पार्टीको नेतृत्व हात पार्नुभएको छ । मधेश प्रदेशका दिग्गज नेता रघुवीर महासेठ, पोल्युटब्युरो सदस्य तथा जिल्ला इञ्चार्ज जुली महतो , अर्का पोल्युटब्युरो सदस्य तथा जिल्लामा पछिल्ला डेढ दशकदेखि एकछत्र ‘हाकडाक’ चलाउँदै आउनुभएका रामदयाल मण्डल, प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र प्रदेशसभा सदस्यसहितको जवर्जस्त टिमको रुकावट चिर्दै अत्यधिक बहुमतसाथ यादव अध्यक्षमा विजयी बन्नुभएको राजनीतिवृतमा चर्चा छ । आपूmमात्र नभई पदाधिकारीसहित जिल्ला कमिटीमा लगभग ७० प्रतिशत आफ्नो पक्षका सदस्य जिताउन सफल यादव अब के सोच्दै हुनुहुन्छ ? अब पार्टी कसरी अघि बढाउने योजना बुन्दै हुनुहुन्छ ? एमालेको जीवनमा पछिल्लो जिल्ला अधिवेशनले के प्रभाव पार्नेछ ? यी र यस्तै समसामयिक विषयमा हाम्रा सहकर्मी ममता अर्यालले नवनिर्वाचित अध्यक्ष यादवसँग कुराकानी गर्नु भएको छ । यहाँ सो कुराकानीको सारसङ्क्षेप प्रस्तुत छ । —सम्पादक

Ο जिल्ला अधिवेशनमा प्रतिष्पर्धी टिम त सिनित्तै बढार्नु भएछ त ? के करामत गर्नुभयो ?
—अधिवेशन नयाँ नेतृत्व छान्ने खास अवसर हुन्छ हाम्रो पार्टीमा । निकै लामो अन्तरालपछि हामीले पार्टीको छैठौं जिल्ला अधिवेशन सम्पन्न गर्‍यौं । अधिवेशनले अघिल्लो कार्यकालका लागि खास जिम्मेवारी दिएको छ । पार्टीलाई सुदृढ र एकताबद्ध बनाएर अघि बढाउन पर्ने यो जिम्मेवारीलाई मैले आत्मसाथ गरेको छु ।

Ο खै तपाईँले प्रतिष्पर्धी टिमलाई कुन करामतले सिनित्तै पार्नुभयो ? केही खुलाउनु भएन त….?
—के करामतको कुरा गर्नुभएको ? कुनै करामत होइन । अधिवेशनका प्रतिनिधिको विश्वासमात्र हो । फेरि तपाईँले प्रतिष्पर्धी टिम सिनित्तै बढारेको प्रसङ्ग निकाल्नु भयो । यो विषयलाई अतिरञ्जित बनाउने कुरा भयो । तपाईँ सामान्य रुपमा बुझ्नोस् , यो अधिवेशनका प्रतिनिधिले दिएका विश्वास र सुम्पेका जिम्मेवारीमात्रै हो ।

Ο अनि प्रदेशका मुख्य नेता, जिल्ला इञ्चार्ज, जिल्लाकै प्रभावशाली नेताहरु र प्रतिनिधिसभा सदस्यको विरोधका वावजूद तपाईँ जित्नुभयो भन्ने चर्चा त छ नि !
—पार्टीका विभिन्न तहका अधिवेशन नेतृत्व छान्ने अवसर हुन्छ हाम्रो पार्टीमा । यस अर्थमा लोकतान्त्रिक विधिबाट निर्वाचनमा जाँदा नेता र प्रतिनिधिहरुकै पनि फरकफरक धारणा हुन स्वभाविक छ । हुनसक्छ, कतिपय नेता मभन्दा अर्को साथी यो जिम्मेवारीका लागि उपयुक्त हुनसक्ने धारणामा हुनुहुन्थ्यो होला । ती विषय र प्रसङ्ग निर्वाचन सम्पन्न भएर नयाँ नेतृत्व स्थापित भएपछि असान्दर्भिक भईसकेका छन् । अब हाम्रा अगाडि न कुनै टिम छन् , न फरक मत । समुच्चा पार्टी एकाकार छ । हामी अधिवेशनको यही एकताबद्ध सन्देश लिएर जनतामाझ जानुछ । यो अभिभारा आत्मसाथ गरेर अघि बढ्ने बेला अब पछि फर्केर भुइँ कोट्याएर कुरा काटने बेला छैन । त्यसकारण निर्वाचनका बेला कसको के धारणा रह्यो ? कसले कसलाई सहयोग गरे भन्ने अध्याय नै सकियो । हिजो निर्वाचनमा उमेद्वारी दिनुभएका सबै साथी अहिले हामी एकै ठाउँ छौं । यो पार्टी हामी कार्यकर्तामात्र नभएर नेपाली जनताको समृद्धिको साझा सपना हो । यो अभिभारा हामी सबैले बुझेका छौं । अब हामी सबैको साझा गन्तव्य सुदृढ र एकताबद्ध एमाले हो ।

Ο ल, ठिक छ त ! सुदृढ र एकताबद्ध एमाले तपाईँहरुको साझा गन्तव्य भन्ने त बुझियो । तर भर्खरै सम्पन्न निर्वाचनले कोरेको दुई खेमा रातारात सिद्धियो त ?
—तपाईँ मलाई अनावश्यक प्रश्नमा रुमल्याउन खोज्दै हुनुहुन्छ । मैले भने नि , लोकतान्त्रिक पार्टीमा नेतृत्व छान्ने विषयमा फरक धारणा र विश्वास बने होलान् । निर्वाचन सकिएसँगै ती फरक धारणा अब रहेनन् । तपाईँले खेमाको कुरा उक्काइरहनु भएको छ । हो, हामीले आपूmबीच नै स्वस्थ्य प्रतिष्पर्धा गर्‍यौं । तर खेमाका लागि हैन, आपूmहरुबीचको साझा विश्वास पहिल्याउन । त्यो चरण सक्यौं, अब जहाँ हेर्नोस् , जसलाई हेर्नोस् , एमालेमात्र देख्नुहुनेछ । तपाईँको आँखा चाहिँ एमाले हेर्नसक्ने हुनपर्छ ।

Ο अब जिल्ला अध्यक्षको हैसियतमा भन्नोस् , के गर्नुहुन्छ ?
—किन यसअघिको कुरा चाहिँ अध्यक्षको हैसियतको लागेन ? म एमालेको जिल्ला अध्यक्षको हैसियतमा भन्दैछु, अब एमाले विजय यात्रामा अघि बढ्यो । हाम्रो एकता नचाहनेहरुका लागि ‘डाह’ लाग्नेगरी हामी अघि बढ्छौं । समयले दिएको जिम्मेवारीवोध हामीमा छ । यो कार्यकाल एमाले महोत्तरीको इतिहासमा सम्पूणर् एकता र आपसी सहकार्यको हुनेछ ।

Ο कुराकानीको बिट मार्न अन्त्यमा केही भन्न आवश्यक ठान्नुहुन्छ ?
— तपाईँमार्फत नेपालवाणि प्रकाशनलाई धन्यवाद भन्न चाहान्छु । जिम्मेवारीको प्रारम्भिक अवसरमै केही कुरा राख्ने अवसर दिनुभयो । अन्त्यमा म जिल्लाका आफ्नो पार्टीका सम्पूणर् नेता कार्यकर्तालाई उच्च मनोवलसाथ साङ्गठनिक काममा अघि बढ्न अपिल गर्दछु । र फेरि भन्दछु, हामी सम्पूणर् कार्यकर्ताको एकतामै पार्टीको भविष्य छ । हामी अघि बढौं, विजय हाम्रो सुनिश्चित छ ।

२०८० माघ २८, आईतवार २१:३५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय