महोत्तरी । लाउँलाउँ खाउँखाउँको २० वर्षे उमेरमै पतिवियोग खेप्नु भएकी ७० वर्षीया गुणकुमारी कोइरालाका आँखाका डिलबाट लगातार आँसुका ढिका झरी रहे । महोत्तरीको मटिहानी-८ स्थित पति अमर सहिद केशव कोइरालाको सहादतस्थलमै निर्मित उद्यान र प्रतिमा राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार उद्घाटन र अनावरण गरीरहँदा गुणकुमारीका आँसु थामिएनन् । छचल्की रहे । यद्यपि यो आँसु शोकको नभइ आफ्ना पति सहिद केशव कोइरालाप्रति कार्यक्रममा व्यक्त सम्मानले भावविह्वल बनाउँदा झरेका हर्षका आँसु थिए ।

“उहाँ (केशव कोइराला) को सहादतस्थलमै निर्मित उद्यान र प्रतिमा राष्ट्रपतिले उद्घाटन र अनावरण गर्नुभयो । लाग्यो, राष्ट्रले गर्नसक्ने सबै कुरा पाइयो, उहाँ (केशव) प्रति व्यक्त सम्मानभावले मन राख्ने ठाउँ पाएजस्तो लाग्यो” आँसु पुछ्दै गुणकुमारीले भन्नुभयो, “यहाँ (मटिहानीमा) उहाँप्रति आम मान्छेले दर्शाउने सम्मान र अपनत्वभावले परिवारमाझ छु जस्तो लाग्दैछ ।” निकै लामो समय खण्डपछि मन खुल्दा आँसु खुशी बनेर झरेका उहाँले खोल्नुभयो ।

राम्रोसँग परिवारमा भिज्नै नपाई त्यतिखेर नेपाली काँग्रेसले पञ्चायतविरुद्ध प्रजातन्त्र पुनस्र्थापनाका लागि आह्वान गरेको सशस्त्र आन्दोलनमा होमिनु भएका पति केशव कोइराला २०३१ सालको साउन ३१ गते राती प्रहरीसँगको मुठभेडमा सहादत हुनुहुँदा गुणकुमारीको उमेर २० वर्ष कटेको थिएन । काखमा हुनुहुन्थ्यो आठ महिनाकी छोरी समिता ।

पञ्चायतकालका ती दिनमा प्रहरीका हातबाट मृत्यु वरण गर्नेको शोक मनाउन पनि परिवारजनले मन खुलाएर पाउँदैनथे । करिब पाँच दशकअघिको घटना सम्झदै गुणकुमारी भन्नुहुन्छ, “विवाह भएपछि घरपरिवारसँग सायद राम्ररी भिज्न पनि पाएकी थिइन, अल्लारे उमेर नै थियो” अविरल बगेका आँसु पुछ्दै अवरुद्ध गलामै उहाँ भन्नुहुन्छ, “सायद शोक व्यक्त गर्न पनि जानेकी थिइन, त्यो बज्रपात सुन्नु, खेप्नु पर्‍यो ।” त्यसपछि परिवारजनको वास्ता र काखकी छोरीको हाँसोले दिने ढाडसमै बाँच्न पर्छ र सकिन्छ भन्ने लागेको हुनसक्ने उहाँको अड्कल छ ।

परिवारमा पञ्चायती व्यवस्थाले जनताका प्रजातान्त्रिक हकअधिकार खोसेको हुँदा प्रजातन्त्र ल्याउन लाग्नुपर्छ भन्ने गफ त बाक्लै हुने गरेको गुणकुमारी सम्झनुहुन्छ । उहाँ (केशव) निस्कदा सबै खुलाखुलस्त सल्लाह भने हुने नगरेको गुणकुमारी बताउनुहुन्छ ।

“सायद अलिपछि बुझ्दै गएँ , उहाँ (केशव) त प्रजातन्त्रका लागि लड्दालड्दै सहादत हुनुभएको रहेछ” गुणकुमारी सम्झनुहुन्छ, “म उहाँको वियोगमा रुनभन्दा काखको छोरीको हाँसोमा रमाउने प्रयत्न गर्थे , तर बाहिर आँसु नदेखिए पनि मन रोइरहेको हुन्थ्यो ।” छोरी हुर्कदै गर्दा उसकै अनुहारमा आफ्नो मनबाट उहाँ (केशव)को रुप उतारेर चित्त बुझाउने गरेको गुणकुमारी विगत सम्झदै बताउनुहुन्छ ।

मटिहानी नगरपालिका र सहिद केशव कोइराला स्मृति प्रतिष्ठान महोत्तरीले सहिद केशव कोइरालाको प्रतिमा अनावरण र उद्यान उद्घाटन राष्ट्रपतिबाट हुने जानकारीसाथ निम्ता गरेपछि गुणकुमारी देवर शम्भु कोइराला, छोरी समिता कोइराला र ज्वाइँ उज्ज्वलप्रसाद बरालसाथमा शुक्रबार नै मटिहानी आइपुग्नु भएको हो । मटिहानीको घुमफिर र बसाइले आपूmलाई बुढेसकालमा उत्साह भरेको उहाँको भनाइ छ । मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले सहिदप्रति देखाउनुभएको सम्मानभाव हामी परिवारजनप्रतिको चासो आफ्नालागि सकारात्मक उर्जा बनिरहने गुणकुमारीको भनाइ छ ।

आमा गुणकुमारीजस्तै सहिदपुत्री समिता कोइरालाका आँखा पनि कार्यक्रम अवधिभर ओभाउन पाएनन् । यसअघि पनि कैयन अवसरमा मटिहानी आउजाउ भइरहेको बताउने समिताले शनिबार भने फरक अनुभूति भएको बताउनुभयो । “एक वर्ष पहिले पनि मटिहानी नगरपालिकाले बाबा (केशव कोइराला)को नाउँमा निर्माण गरेको सहिद केशव कोइराला स्मृति सभा भवन उद्घाटनमा बोलाएको थियो, हामी (पति उज्ज्वल र आपूm) आएका थियौं, त्यसदिन पनि सायद आँसुले खुशी प्रगट गरेको थियो” समिता भन्नुहुन्छ, “अहिले त बाबाको प्रतिमा अनावरण र उद्यान उद्घाटनलाई राष्ट्रपति स्वयं आउनुभयो, काख खोसिएको र बाबा भनेर चिन्न नसकेको सारा पीडा हलौं भएजस्तो लाग्छ ।” बाबाको सहादतले आफ्नो काख खोसिएपनि पञ्चायतविरुद्धको प्रजातान्त्रिक आन्दोलन निणर्ायक बन्दै २०४६ सालको अन्त्यतिर प्रजातन्त्र पुनस्र्थापना हुँदा केही कुरा पाएको भन्ने लागेको समिताको विगत सम्झना छ ।

सहिद केशव कोइरालाका परिवारजनजस्तै प्रजातान्त्रिक योद्धा स्व. गणेश नेपालीकी जीवनसँगिनी ७७ वर्षीया दानादेवी नेपालीका आँखा पनि आज थामिएका छैनन् । पञ्चायतकालमा आफैं पनि नेपाली काँग्रेसमा आबद्ध भइ प्रजातान्त्रिक आन्दोलनमा होमिनु भएकी नेपाली आफ्नै बस्ती जलेश्वर-५ चौरियामा राष्ट्रपति पौडेलले स्व. पति गणेश नेपालीको स्मृतिमा निर्मित उद्यान उद्घाटन र स्व. नेपालीको प्रतिमा अनावरण गरीरहँदा भक्कानिनु भयो । नेपाली प्रजातान्त्रिक आन्दोलनका प्रणेता स्व. बिपी कोइरालाको पहिलो स्मृति दिवस (२०४० साउन ६ गते) का दिन गणेश नेपालीको अगुवाईमा वृक्षारोपण गरिएको चौरिया कुटी परिसरमै स्व. नेपालीको स्मृतिमा उद्यान र उहाँको प्रतिमा स्थापना गरिएको छ । राष्ट्रपति पौडेलले शनिबार नै एक भव्य समारोहबीच सो उद्यान उद्घाटन र प्रतिमा अनावरण गरीरहँदा दानादेवीका आँखा हर्षासुले छचल्किएका हुन् ।

“नेपालीजी (पति) साँसद र मन्त्री पनि हुनुभयो, सायद त्यतिखेर पनि खुशी भएकी थिएँ होला, तर हर्षका आँसु बगेका थिएनन्”करिब १५ वर्षअघि पति मन्त्री बन्नुभएको बेला सम्झदै दानादेवी भन्नुहुन्छ, “तर शनिबारको खुशीमा आँखाले आपूmभित्रै आँसु लुकाउन सकेनन् , स्व. नेपालीको सम्मानमा राष्ट्रपतिले दिनुभएको समय, दर्शाउनुभएको आत्मियता र स्थानीय जनता तथा राजनीतिक दलले देखाएका अपनत्वभावले धेरै कुरा पाएँजस्तो लाग्यो ।” प्रजातान्त्रिक योद्धा स्व. गणेश नेपालीको स्मृतिमा निर्मित उद्यान र स्थापित प्रतिमा मधेश प्रदेश सरकारको आर्थिक सहयोगमा सम्पन्न भएको हो । दानादेवीले मधेश प्रदेश सरकारप्रति पनि कुराकानीमा आभार व्यक्त गर्नुभयो ।

पञ्चायतकालमा स्व. गणेश नेपाली आन्दोलनमा होमिदा दानादेवीले कहिल्यै मन कुड्याउनु भएन । जेठो छोरा भर्खर काखमा हुँदा उहाँ (गणेश नेपाली) आठ वर्ष हराउनुभयो । विक्रम सम्वत् २०२६ सालमा घर फर्कदा उहाँले काँग्रेसका लागि बाँच्ने/ मर्ने कसम (शपथ) खाइसक्नु भएको थाहा पाएपछि आपूm सधैं उहाँको सहयोगी बनेको दानादेवीको विगत अनुभव छ ।

विक्रम सम्वत् २०३१ सालको साउन ३१ को मटिहानी प्रहरी चौकी कब्जा गर्ने आक्रमणमा सहिद केशव कोइरालासँगै स्व. गणेश नेपाली पनि हुनुहुन्थ्यो । पाँच जनाको टोलीले गरेको आक्रमणमा कोइरालाले सहादत प्राप्त गर्नुभयो । त्यतिखेरको अवस्था सम्झदै दानादेवी त्यसपछिका कैयन दिन स्व. नेपाली सम्पर्कविहिन भएको सम्झनुहुन्छ ।

पति स्व. गणेश नेपाली र उहाँकै सहयोद्धा अमर सहिद केशव कोइरालाप्रति आआफ्ना ठाउँका समुदाय, स्थानीयतह , मधेश प्रदेश सरकारको सदासयता र राष्ट्रपतिले दुबै योद्धाप्रति दर्शाउनुभएको सम्मानले विगतका अभाव र दुःखका दिन बिर्सन मद्दत गरेको दानादेवीको भनाइ छ ।

२०८० चैत्र ४, आईतवार २२:४१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय