बर्दिबास, १७ चैत । 

महोत्तरीको बर्दिबास नगरक्षेत्रका विभिन्न विधाका खेलाडी उत्साहित भएका छन् । बर्दिबास नगरपालिकाको नगर खेलकुद विकास समितिले खेलाडीहरुको सम्मान, खेल सामग्री सहयोग र वृति विकासका लागि पहलकदमी लिने प्रतिबद्धता जनाएपछि यहाँका खेलाडी उत्साही भएका हुन् ।

आज शनिबार नगरपालिका कार्यालयको सभा भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा नगर खेलकुद विकास समितिले जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई सम्मान गरेको छ । भर्खरै सम्पन्न जिल्लास्तरीय यो प्रतियोगिताका २१ विधामा नगरका २९ खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम स्थान लिएर नगरको शान बढाएका छन् । कार्यक्रममा उत्कृष्ट खेलाडीलाई खादा र अबिर लगाइ सम्मान गरिएको छ ।

नगरको सम्मानले आपूmहरुको हौसला अझ बढेको प्रतियोगितामा १५०० र ३००० मीटर दौडमा प्रथम स्थान प्राप्त गरेकी चन्द्रकला मण्डलले बताउनुभयो । यसैगरी ८०० मीटर दौडमा प्रथम स्थान हासिल गरेकी सपना यादवले पनि आगामी दिनमा अझ उच्च मनोवलका साथ खेल्न हौसला मिलेको बताउनुभयो ।

आजै नगर खेलकुद विकास समितिले महिला क्रिकेट खेलाडीका लागि खेल सामग्री वितरण गरेको छ । समितिका अध्यक्ष दिपेन्द्रकुमार शिवभक्तिले आउने जेठभरिमा क्रिकेटका लागि उत्कृष्ट कोर्ट निर्माण गरिने प्रतिबद्धता जनाउनुभयो । यसैगरी कार्यक्रममा क्रिकेट प्रशिक्षक शोभा आलेले प्रतिकूल अवस्थामा पनि बर्दिबासमा महिला क्रिकेट खेलाडीको सङ्ख्या बढेको उल्लेख गर्नुभयो । नगरपालिकाको साथ सहयोग प्राप्त भइरहे बर्दिबासमा क्रिकेटको राम्रो सम्भावना रहेको आलेको प्रतिकृया छ ।

कार्यक्रममा बर्दिबास नगरपालिकाका प्रवक्ता विजयकुमार महतोले नगरका विभिन्न विधाका खेलाडीको वृति विकासका लागि नगरपालिकाले संस्थागत र योजनाबद्ध काम गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रम समितिका अध्यक्ष शिवभक्तिको अध्यक्षतामा सम्पन्न भएको हो ।

२०८० चैत्र १७, शनिबार २१:४१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय