अब अर्थ सञ्चयतिर अग्रसर

बर्दिबास (महोत्तरी) , २४ वैशाख :  मधेशका आदिबासी तथा सीमान्तकृत मुसहर समुदायसँगसम्बन्धित थुप्रै आहान छन् । ‘न राख्ने अन्न, न सञ्चय गर्ने धन’ मुसहरलाई देखाएर भनिने आहान हो । यसैगरी ‘पेरवा धन, मुसहर जन’ भन्ने आहान पनि मुसहरको उदाहरण दिइदा उभ्याइन्छ । राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक अवसरबाट निकै टाढाका मुसहरको धन भनेकै परिवारमा हुर्केका सदस्य र तिनका हातपाखुरा हुन् भनिन्छ । यस्तो आहानमा उभ्याइने मुसहर अब क्रमशः आर्थिक गतिविधिमा सरिक हुँदै सञ्चय अभियानमा जोडिदै छन् । यसको कडि तीन वर्षे लघु जीवन बीमा बनेको छ ।

मुसहर आम रुपमा भरे, भोलिका नाउँमा सञ्चय गर्ने जाति समुदाय मानिदैनन् । एक बिहान गिरहत (मालिक, काम दिने किसानलाई मुसहर गिरहत भन्छन्, जसको अर्थ मालिक हो) कहाँ काम गरेपछि पाएको बनी (पारिश्रमिक) को आधा रकमले चामल किन्ने, आधाले मरमसला । अनि दिउँसो घोङी (सङ्खे किराजस्तै जीव, मुसहरको विशिष्ट खाद्य परिकार) र माछा मार्न जाने । साँझ परिवारका सबै सदस्य वरिपरि झुरुप्प बसेर एकसाथ खाने मुसहरको आम चलन हुन्छ । मुसहर महिलाले सबैलाई ख्वाएर अन्तिममा उब्रेको खानु पर्ने नियति व्यहोर्नु पर्दैन । काममा सबै सँगै, खान पनि सबै सँगै । मधेशका अन्य जाति समुदायमा नदेखिने यो चलन मुसहरको विशिष्ट संस्कृति नै रहेको एकडारा गाउँपालिकाको भटौलिया बस्तीका राजनीतिक, सामाजिक कार्यकर्ता विजय कणर् बताउनुहुन्छ ।

कृषि कार्यका पोख्त मानिने मुसहर एक बिहान काम गरेर पाएको बनीले त्यो दिनको गर्जो टर्ने भएपछि दिउँसो कसैकहाँ काम गर्न जाने मन गर्दैनन् । ‘कमाइ ल्यायो, भुटी खायो’ आहान पनि प्रयोग हुने यो समुदायलाई यसै कारण ‘न राख्ने अन्न, न सञ्चय गर्ने धन’ भन्ने कहावत (आहान) सँग जोडिन्छ । सामान्यतया घरआँगनको खोपमा पालिने परेवा भोलिपल्टै अर्कैको खोपमा पुग्छ, त्यसैले यो धन स्थिर मानिदैन, यसैगरी मुसहर जसले अलिकति बढी बनी दिने लोभ देखायो उसैकहाँ काम गर्न जान्छन् , भोलि काम गर्न आउनु है भनेर कुरा पक्का गरेर आएपनि उनीहरु कहाँ पुग्छन् यकिन हुँदैन । यसैले यो जाति समुदायका लागि ‘पेरवा धन, मुसहर जन’ भन्ने आहान बनेको मधेशमा आम भनाइ छ । यो बानीव्यहोरका मुसहरलाई सञ्चिति अभियानमा जोड्न बर्दिबास नगरपालिकाले सामुहिक बीमा कार्यक्रम सञ्चालन गरेको छ । नगरका वडानम्बर १०, १२ र १४ का गरी २३५ परिवारका ३५३ जना मुसहर ‘सामूहिक म्यादी जीवन विमा’ कार्यक्रममा आबद्ध भइसकेका नगरप्रमुख प्रहलादकुमार क्षत्रीले जानकारी दिनुभयो । जीवन बीमामा जोडिएका मुसहर अब क्रमशः कमाएको रकम पछिलाई सञ्चय गर्न लागेका क्षत्री बताउनुहुन्छ ।

“चरम गरिबी, अशिक्षा र सााजिक चेतनाको कमीले कष्टकर जीवन धानीरहेका मुसहर समुदायलाई क्रमशः अर्थोपार्जन र सञ्चय एबं अन्य अवसरमा जोड्दै लाने अभियान हामी (नगरपालिका) ले थालेको छ , यसको प्रारम्भ हामीले ‘सामूहिक म्यादी जीवन विमा’ बाट थालेका छौं” नगरप्रमुख क्षत्रीले भन्नुभयो, “नगरका मुसहर अब नानीहरुलाई विद्यालय पठाउन र अर्थोपार्जनका विभिन्न अवसर र क्षेत्रमा रुची बढाउँदैछन् , कमाएको केही अंश बचत सञ्चिति पनि गर्दैछन् ।”

नगरपालिकाले नगरक्षेत्रका केही कागजात अपूग भएका बाहेक १८ वर्षदेखि ६९ वर्षसम्मका मुसहर सबै यस कार्यक्रममा समेटिएका क्षत्रीको भनाइ छ । नगरपालिकाले बीमा रकम एकमुष्ट जम्मा गरीदिएर यो कार्यक्रममा जोडिएका मुसहरमा बर्दिबास-१० खयरमाराका २५ परिवारका ४३ जना , वडा नम्बर १२ विजलपुराका १५० परिवारका २०२ जना र बर्दिबास-१४ नमुना मुसहर बस्तीका ६० परिवारका १०८ जना छन् । यी सबैको बीमा नगरपालिका र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड बर्दिबास शाखाका प्रतिनिधि टोल वस्तीमै पुगेर बीमा दर्ता गराएका हुन् ।

मधेशका सीमान्तकृत जाति समुदायमा पर्ने मुसहरको भविष्य सुरक्षित गर्न , उनीहरुलाई आफ्ना हितका कुराबारे सजग गराउन र राज्यबाट प्रदान गरिने अवसरमा जोड्न प्रारम्भिक रुपमा बीमा कार्यक्रममा जोडिएको नगरप्रमुख क्षत्री बताउनुहुन्छ । कठोर मेहनत गर्ने मुसहर अब भवितव्यमा परे वा गम्भीर रुपमा बिरामी भए यिनीहरुलाई बीमाले निश्चित दायित्व पूरा गर्ने बन्दोबस्त भएको क्षत्रीको भनाइ छ । बीमा गरिएका सबै मुसहरको यस अभियानमा जोडिन आवश्यक रकम बर्दिबास नगरपालिकाले ब्यहोरेको छ । तीन वर्षे अवधिको यो बीमामा क्रमशः उमेर पुग्दै गएका मुसहरलाई आबद्ध गराइँदै लगिने नगरपालिकाको योजना छ ।

किशोर अवस्था नकटी बिहे गरेर २० वर्ष नपुग्दै दुई/तीन वटा सन्तान जन्माइसक्ने मुसहर महिला यसैकारण गम्भीर प्रकृतिका स्वास्थ्य समस्यामा परेका छन् । यो अवस्था अन्त्य गरी उमेर पुगेर (२० वर्ष पूरा भएर) बिहे गर्न उत्साहित बनाउने उद्देश्यसाथ बर्दिबास नगरपालिकाले एक महिना पहिले (गत चैत) नै २० वर्ष पूरा भएपछि बिहे गर्ने नगरक्षेत्रका मुसहर दम्पतिलाई ५० हजार प्रोत्साहन दिइने घोषणा गरीसकेको छ । यद्यपि अहिलेसम्म यो मापदण्डमा विवाह गर्ने बर्दिबास-१४ का मञ्जय सादामात्र हुनुहुन्छ । मञ्जय स्नातक तह उतिणर् गर्ने बर्दिबासकै पहिलो मुसहर हुनुहुन्छ । मञ्जयले यही वैशाख ६ गते आपूmजस्तै उमेर पुगेकी मुसहर महिला युवासँग विवाह गरेर नगरपालिकाले घोषणा गरेअनुसारको प्रोत्साहन रकम पाउनु भएको छ । यो लगभग जिल्लाकै पहिलो दृष्टान्त हुने अड्कल गरिएको छ ।

महोत्तरी जिल्लाका सबै (१५ वटै) स्थानीयतहमा धेरथोर बसोबास रहेका मुसहर समुदायको जनसङ्ख्या पछिल्लो २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार २७ हजार ३५२ छ । यो जिल्लाको कूल जनसङ्ख्याको ३. ८७ प्रतिशत हो । यति जनसङ्ख्या भएका मुसहरमा माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरा गर्ने दुई हातको औंलामा गन्न सकिन्छ । उच्च शिक्षामा पुग्ने त तीन/चार बढी छैनन् । यो अवस्था अन्त्य गरी मुसहर समुदायलाई विकासको मूलप्रवाहमा जोड्न आवश्यक रहेको शिक्षाविद् तथा नेपाल सरकारका पूर्वउपसचिब जलेश्वर-४ का बासिन्दा ८५ वर्षीय कृष्णचन्द्र झा बताउनुहुन्छ । सरकारी सेवामा रहँदा शिक्षाक्षेत्रबाटै अवकास लिनुभएका झाको बर्दिबास नगरपालिकाले थालेको प्रयत्न जिल्लाका अन्य स्थानीयतहले पनि अनुशरण गरे सकारात्मक नतिजा अलि चाँडै भेट्टाइने धारणा छ ।

२०८१ बैशाख २४, सोमबार २१:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय