महोत्तरी, १० जेठ । मधेश प्रदेशसभाको पाकृतिक स्रोत तथा वातावरण समिति चुरे संरक्षणका मुद्दा पहिल्याउन चुरे क्षेत्रका बासिन्दासँग सघन अन्तर्कृया गर्दैछ । प्रदेशका महोत्तरी, धनुषा र सिरहासहितका जिल्लाका चुरे क्षेत्रमा यसको संरक्षणका लागि भएका स्थानीय पहलकदमीको समितिका सभापति र सदस्यहरुले स्थलगत अवलोकन गर्दै सर्वसाधारणसँग अन्तर्कृया बढाएका छन् ।

“हामीले महोत्तरी, धनुषा र सिरहाका चुरे नजिकका बस्तीको स्थलगत अनुगमन गरेका छौं, चुरे र यसबाट निस्कने नदीनाला, खोल्साखोल्सी र वनक्षेत्रको संरक्षणका लागि भएका स्थानीय पहलकदमीको अवलोकनसँगै सर्वसाधारणसँग अन्तर्कृया गर्दैछौ” समितिका सभापति शारदा पहाडी भन्नुहुन्छ, “यो अन्तर्कृयाले प्रदेशसभामा प्राकृतिक सम्पदाबारेका नीति बनाउन, यिनको संरक्षणको पहलकदमी लिन र तत्सम्बन्धी कानुनको तर्जुमा गर्न सहयोग पुग्नेछ ।”

प्रदेशसभाको प्राकृतिक स्रोत तथा वातावरण समितिलाई यसरी स्थलगत रुपमा अवलोकन र सर्वसाधारणसँगको अन्तर्कृयामा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले सघाउ गर्दैछ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको संसद सहयोग परियोजनाले समितिका पदाधिकारी तथा सदस्यलाई प्राकृतिक सम्पदाबारे नीति निर्माणमा सघाउ पुग्ने उद्देश्यसाथ सुखा, आगलागी, प्रकोप जोखिम अवस्था, वन तथा वातावरण व्यवस्थापनसन्दर्भमा संसदीय निगरानी बढाउन स्थलगत अवलोकन र सर्वसाधारणसँगको अन्तर्कृया गर्न आवश्यक सहयोग गर्ने गरेको हो ।

जिल्लाजिल्लामा गरिने यस्ता अवलोकन र सर्वसाधारणसँगको अन्तर्कृयाले सैदान्तिकभन्दा व्यावहारिक ज्ञान बढाएको समितिका सदस्य प्रदेशसभा सदस्यहरुको अनुभव छ । “हामी प्रदेशसभामा प्राकृतिक सम्पदाको संरक्षणबारे सैदान्तिक पक्ष उठाइ रहेका हुन्छौं, चुरेक्षेत्रका बासिन्दासँग घुलमिल गर्न थालेपछि यससम्बन्धी स्थानीय पहलकदमीमा भएका प्रयत्नबारे जानकारी बढेको छ” महोत्तरीको बलवा-९ की बासिन्दा प्रदेशसभा सदस्य नूरन नेशा भन्नुहुन्छ, “यसले हामीलाई प्राकृतिक सम्पदाहरुको संरक्षण र उपयोग नीति बनाउन सहयोग पुग्ने विश्वास बढेको छ ।” मधेश प्रदेशसभाको प्राकृतिक स्रोत तथा वातावरण समितिका सदस्य नेशा भन्नुहुन्छ, “हामीले महोत्तरी, धनुषा र सिरहाका चुरे क्षेत्रका बासिन्दाका अनुभव सुन्यौ, यसले नीति निर्माण र कानुनको तर्जुमामा व्यावहारिक पक्षलाई हेक्का राख्न मद्दत पुग्नेछ ।”

जिल्लाजिल्लामा भइरहेका स्थलगत अवलोकन र अन्तर्कृया कार्यक्रमहरुमा सभापति पहाडीसँगै समितिका सदस्यहरु नागेन्द्र साह, नेशा, संजिलाकुमारी यादव प्रदेशसभा सचिवालयका सचिब अरुणकुमार झा , अधिकृत महेन्द्र शर्मा र प्राविधिक कर्मचारीको सहभागिता हुँदै आएको छ ।

समितिले प्रदेशका आठवटै जिल्लामा अवलोकन भ्रमणसँगै सर्वसाधारणसँगको अन्तर्कृया बढाउँदै लगिने जनाएको छ । चुरे क्षेत्रका बासिन्दाले सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासको समन्वय र सहकार्यमा चुरे संरक्षणका लागि खोल्साखोल्सी नियन्त्रण, पानी पुर्नभरणका पोखरी निर्माण, खानेपानी व्यवस्थापन, वृक्षारोपण र जिविकोपार्जनका लागि तरकारी खेती , बगर बगैंचाः बगैंचामा खेतीजस्ता कार्यक्रम सञ्चालन गरेका देख्न पाइएको समितिका सदस्य नागेन्द्र साह बताउनुहुन्छ । महोत्तरी, धनुषा र सिरहामा भएका यी प्रयत्नबारे अन्य जिल्लाका चुरे बासिन्दालाई पनि अवलोकन गराउन सके सिकाइ उपलब्धी बढ्ने साहको विश्वास छ ।

प्रदेशसभाको प्राकृतिक स्रोत तथा वातावरण समितिका पदाधिकारी तथा सदस्यले जति धेरै ठाउँ पुगेर स्थलगत अवस्थाको अवलोकन र स्थानीयसँग अन्तर्कृया गर्नुहुन्छ, प्रदेशसभाले बनाउने नीति र कानुन त्यति नै व्यावहारिक तथा प्राकृतिक सम्पदाको संरक्षणमा उपयोगी हुने युएनडिपीको यो परियोजनाका संसदीय मामिला अधिकृत बिटु श्रीवास्तव बताउनुहुन्छ । त्यसैले परियोजनाले समितिका पदाधिकारी तथा सदस्यलाई ठाउँठाउँका अन्तर्कृयामा सहभागी गराउने कार्यलाई निरन्तरता दिदै आएको श्रीवास्तवको भनाइ छ ।

२०८१ जेष्ठ १०, बिहीबार १८:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय