देवनारायण मण्डल
मधेशको पानीका मूहानहरुको पूनःभरन क्षेत्र चुरे हो त्यसैले चुरेमा हुने गतिविधीले मधेशको पानीको मूहानलाई प्रत्यक्ष असर गर्छ तर नेपालका मिडीयाहरु र स्वघोषित सरकारी विज्ञहरुको कुरा सुन्दा र पढ्दा के लाग्छ भने ….
१. सुकुम्बासी आयोग र भूमी आयोग जस्ता बिभिन्न कालखण्डमा फरक फरक नाममा लाखौ बिघा चुरेको वनक्षेत्र विनास गरेर निःशूल्क लालपूर्जा वितरण गरी, पहाडबाट आप्रवासन गराई चुरेमा व्यवस्थित शहर र अव्यवस्थित गाऊँहरु विकास गर्दा मधेशको पानीको मुहानलाई कुनै असर हुँदैन ।
२. यसरी आप्रवासन भई आएका परिवारहरुको पानीको आवश्यकता पूर्ती गर्नका लागि चुरेमा सिल्ट्रशन टैंक बनाउने, ओभरहेड टैंक बनाउने र माटो मूनी कंक्रीटको पर्खाल बनाई मधेशको पानीका मूहान प्राकृतिक रुपमा पूनःभरन हुने सबै माध्यम बन्द गर्दा मधेशको पानीको मुहानलाई कुनै असर हुँदैन ।
३. राजमार्ग, खेल मैदानहरु, मेडिकल कलेज, एअरपोर्ट, बिभीन्न निकायहरुको तालिम केन्द्रका तथा अन्य थूप्रै कंक्रिटका भौतिक संरचनाहरुका साथै अन्य बिभिन्न राष्ट्रिय गौरबका आयोजनाहरु प्राकृतिक वनक्षेत्र र चुरेमा मात्रै निर्माण गर्ने र त्यसका लागि आवश्यकता भन्दा धेरै वन फडानी गरी रुख बिरुवाहरु काट्नाले मधेशको पानीको मुहानलाई कुनै असर हुँदैन ।
४. अधिकांश सडकहरु आवश्यक नभए पनि कमिशनको लागि मात्रै कंक्रिट ढलान गर्नु र बिकल्पहरुको बारेमा सोँच्दै नसोँच्नुले मधेशको पानीको मुहानलाई कुनै असर हुँदैन ।
५. प्राकृतिक र जैविक खेती प्रणालीलाई लत्याएर लहलहैमा लागेर अनावश्यक हानीकारक मलखाद र बिषादीहरु हाल्ने तथा खेतबारीमा हलोको ठाऊँमा कम्प्रेशरको काम गर्ने रोटाभेटर प्रयोग गरि मधेशको अधिकांश क्षेत्रफल ओगटेको खेतबारी मार्फत हुने पानी मुहानको प्राकृतिक पूनःभरको सबै माध्यमहरु समाप्त पार्नाले मधेशको पानीको मुहानलाई कुनै असर हुँदैन ।
६. जताततै प्लाष्टिकजन्य फोहर फालेर तथा पोखरी र नदीनालाहरुमा कम्लेशरी मातालाई पूजा सामग्री बिशर्जनका नाममा प्लाष्टिकजन्य फोहर फालेर तथा पोखरीको चारैतिर कमिशनका लागि मात्रै आवश्यक नभए पनि कंक्रिटका घाटहरु निर्माण गरेर पोखरी तथा नदीनालाले प्राकृतिक रुपमा पानीको मूहान पूनःभरन गर्ने प्राकृतिक संरचना ध्वष्त पार्दा मधेशको पानीको मुहानलाई कुनै असर हुँदैन ।
७. नेपालको योगदान अति नै न्यून रहेको (त्यस भित्र पनि मधेश र मधेशीको योगदान शून्य भन्न मिल्ने) तर अन्तर्राष्ट्रिय भौतिकवादी विकासका कारण सिर्जना भएको ग्लोबल वार्मिङ्ग र जलवायू परिवर्तनका कारण मधेशको पानीको मुहानलाई कुनै असर हुँदैन ।
८. मधेशका गाऊँहरुमा भएका सार्वजनिक तथा निजी जग्गामा रहेका पूराना वर, पीपल, समी, निम, पाखर, गुलर, महुवा, जामुन र बाँस लगायतका पानी रोकेर राख्ने रुखहरु काटिँदा र उक्त ठाऊँमा काम न काजका कंक्रिटका भौतिक संरचनाहरु निर्माण गर्दा मधेशको पानीको मुहानलाई कुनै असर हुँदैन ।
तर ………
कुनै बेला “आलीआलीमा सपेता, दश बर्षमा गरिबी बेपत्ता” भने नारा सहित हचुवाको भरमा मधेशको आलीआलीमा सपेता रोप्नाले मात्रै मधेशको पानीको सबै मुहान सुकेको र मधेश मरुभूमी बन्दै गएको छ भने भाष्य तयार पारिँदै छ ।
हे मधेशीहरु, चिया पसलमा मात्रै बक्ने लालबुझक्कडहरुको बकबकबाट आफूलाई पनि बिज्ञ बनाउने बाणी र मधेशको बिरुद्धमा मात्रै रणनितीक रुपमा काम गर्ने अधिकांश सरकारी संयन्त्रहरुद्वारा रचिएको चक्रब्यूहबाट बाहिर निश्किनका लागि कहिले काहीँ पढ्ने गर्नुस् । कालो अक्षरले प्रश्न गर्न पनि सिकाऊँछ र हरेक प्रश्नको उत्तर पनि दिन्छ ।
माथीका ८ वटै बुंदाहरुमध्ये मधेशीले गरेका गल्ति ३ ओटा मात्रै छन् (यस बिपतका लागि तिनीहरुको पनि योगदान छ तर अन्य भन्दा नगन्य मात्रामा मात्रै) तर बाँकी ५ ओटामा मधेशी समुदायको कुनै योगदान छैन् । अहिले चलिरहेको सपेताको हल्ला मधेशीहरुलाई बाँकीका ५ ओटा सरकारी अपराधहरुबाट बँग्याउने षडयन्त्र पनि हुने सम्भावना जिवित छ ।
भँग्हामा सपेता रापेकै कारण पानीको मुहान सुकेको देख्ने आँखाले भँग्हाको पानीका मूहानहरुको प्राकृतिक पूनःभरण क्षेत्रको रुपमा रहेको बर्दिवाँस लगायतका चुरे क्षेत्रमा हजारौ सखुवा/सालको रुख कटान गरी, सयौ हेक्टरमा कंक्रिटको संरचना तयार हुने गरी मेडिकल कलेज निर्माण गर्ने निर्णयलाई मधेशको जितको रुपमा वर्णन गर्छ । यस्ता न्यूजहरु शेयर गर्दा तपाईंहरुको मष्तिष्कमा यस्ता कुराहरु आउन पर्ला जस्तो लाग्छ ।
सपेताको बारेमा बिगत १ दशकमा सयौँ खोज र अनुसन्धानहरु भएका छन् । नेपालका सरकारी विज्ञहरुले रेफरेन्स लिने १–२ लाईनभन्दा पर अन्तर्राष्ट्रिय स्तरका सयौं अनुसन्धानका रिजल्टहरु हेर्नुस् । कहिले काहीँ पढ्ने गर्नुस् ।
यस्ता न्यूज लिंकहरु शेयर गर्ने महामनाहरु र मसला/सपेता उन्मूलन अभियान चलाउने मधेशी जनप्रतिनिधीहरुसँग मेरा केही जिज्ञाशाहरु यस प्रकार छन् ।
१. मधेशमा अहिले सरकारी र निजी स्तरमा काठको आवश्यक्ता कति मात्रामा छ र त्यसको कति प्रतिशत योगदान मसलाको काठले पू¥याऊँदै आएको छ भन्ने तथ्यांक तपाईहरुसँग छ ?
२. निजी निर्माण कार्यका लागि मात्रै मधेश र मधेशीलाई अहिले बार्षिक रुपमा कति काठ चाहिन्छ र त्यसको लागि मसलाको बिकल्पको रुपमा अरु कुन–कुन काठ मधेशी समुदायको खेतबारीमा उपलब्ध छ भन्ने तथ्यांक तपाईहरु सँग छ ?
३. मसलाको काठ र काठबाट निर्मीत फर्निचरहरुले मधेशी किशानलाई बार्षिक रुपमा कति आर्थिक लाभ भईरहेको छ र त्यसको बिकल्पमा के गर्न सकिन्छ, के के रोजगार कति मात्रामा सिर्जना गर्नुपर्छ भन्ने अध्ययन कसैले गरेको छ ?
४. मधेशको कुल ग्राहस्थ उत्पादनमा मसला/सपेताको योगदान कति छ भन्ने अध्ययन कसैले गरेको छ ?
५. अहिले भईरहेको सपेता उन्मूलन अभियानमा नेपालका ठूला शक्तिकेन्द्रहरुको लगानी रहेको काठ आयात गर्ने कम्पनि, एल्यूमिनियम र आयरण उत्पादकहरुको कुनै रणनितीक भूमीका छैन् भन्ने कुरामा तपाईंहरु पूर्ण विश्वस्त हुनुहुन्छ ?
६. पहाडी समुदायलाई नेपालका वनमा उत्पादित सालका काठहरु सुलभ दरमा सामुदायिक वन उपभोक्ता समूहहरु र पहाडी जिल्लाका डिभिजिन वन कार्यालयहरु मार्फत सजिलै उपलब्ध छन् तर मधेशीहरुलाई पछिल्लो पटक डिभिजन वन कार्यालय, सिरहाले सहजिकरण गरेको बाहेक अरु कुनै माध्ययमबाट आवश्यक्ता बमोजिम र सुलभ दरमा काठ उपलब्ध भएको अथवा हुन सक्ने उपायहरुको बारेमा सोँच्ने फूर्सद तपाईहरुसँग छ ?
७. मसलालाई धेरै पानी चाहिन्छ भन्ने कुरामा कुनै दुई मत छैन् तर त्यो पानीको मात्रा मसलालाई कति बर्षको उमेर सम्म चाहिन्छ भन्ने अध्ययन गर्नुभएको छ ?
८. पुरै जिवन भरी एकनासे खाना त कुनै पनि प्राणीलाई चाहिँदैन् फेरी मसला उन्मूलन अभियान चलाऊँदा कति बर्ष उमेर समूहको मसला भनेर निर्णय कसले गरदिने होला ?
पढ्नुस, हे मधेशीहरु आँखा खोलेर पढ्नुस । कालो अक्षरले मात्रै यी र यस्ता प्रश्नहरुको उत्तर दिन सक्छ । लहलहैमा नलाग्नुस् । पढेर, बुझेर अथवा त्यति फूर्सद नभए कमिशन दिने काठमाण्डौ केन्द्रित विज्ञहरुभन्दा आफै पनि भुक्तभोगी रहेका स्थानिय अनुभवी विज्ञहरुसँग निःशूल्क सल्लाह लिनुस् । मधेश मरुभूमीकरण भयो भने यसले सबैलाई असर पार्छ कुनै एउटा पालिका अथवा समुदायलाई होईन । त्यसैले यस्ता निर्णयहरु वैज्ञानिक अनुसन्धान र दिगो असरहरुलाई मध्य नजर गरेर गरिनु पर्छ । बाँकी तपाईंहरु आफै सर्वज्ञाता हुनुहुन्छ ।

२०८१ असार ९, आईतवार १७:०६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय