
महोत्तरी, ११ असार । मधेश प्रदेश पर्यटकीय सम्भावनाको उर्वर भूमि रहेको यसक्षेत्रका अगुवाले औंल्याएका छन् । पूर्वको सप्तरीदेखि पश्चिमको पर्सासम्ममा पर्यटकीय सम्भावनाका कैयौं ठाउँ रहेपनि ती ठाउँ राज्यपक्षको उदासिनताले बेखबर बनेका पर्यटन व्यवसायीको गुनासो छ ।
“मधेशमा पर्यटन क्षेत्रका प्रचुर सम्भावना छन् , राज्य र हामी सम्बद्धपक्षले तिनको समुचित खोजी गर्न सकेका छैनौ” नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतम भन्नुहुन्छ, “यसपालि राज्यपक्षबाट चासो बढेको छ, अब केही काम अघि बढ्ने आशा जागेको छ ।”
गत जेठदेखि महासङ्घले मासिक तालिकामा प्रदेशका विभिन्न जिल्लाका पर्यटकीय सम्भावनाका ठाउँहरुको खोजी र अवलोकन, अन्तर्कृयाका कार्यक्रम आयोजना गर्दै आएको छ । पहिलो पटक बाराको पर्सा राष्ट्रिय निकुञ्ज आधिभार अवलोकनसँगै सो जिल्लाका महत्वपूणर् धार्मिकस्थल, ऐतिहासिक गढी र पुरातात्विक महत्वका ठाउँहरुबारे जानकारी लिएको महासङ्घले असारमा सिरहाका विभिन्न पर्यटकीय सम्भावनाका ठाउँको अवलोकन गरेको छ । पछिल्ला यी दुबै अवलोकन भ्रमणमा प्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईको सहभागिताले पर्यटन व्यवसायी हौसिएका छन् ।
“हाम्रा दुबै अवलोकन भ्रमणमा मन्त्री भट्टराई, मन्त्रालयका सचिब, सम्बद्ध जिल्लाका प्रमुख प्रशासक र प्रहरी प्रमुखको सकृय सहभागिताले हामी उत्साहित भएका छौं” गौतम भन्नुहुन्छ, “जिल्ला जिल्लाका सम्भावनाबारे स्थलगत अवलोकनमा मन्त्री , सचिब र जिल्लाका मुख्य प्रशासक , प्रहरी प्रमुख र नागरिक समाजको चासोपूणर् सहभागिताले अब यी ठाउँबारे राज्यको आँखा पुग्दैछ भन्ने विश्वास जगाएको छ ।” गत शनिबारमात्र सिरहाका मिर्चैया-५ स्थित चुरे हिल, हिल उद्यान, लहान-१५ का हात्तीदह सीमसार तथा पर्यटकीय क्षेत्र र राजदेवी पञ्चावती देवीस्थान एबं प्रसिद्ध सलहेस फुलबारी क्षेत्रको अवलोकन भ्रमण सम्पन्न भएको छ ।
प्रत्येक मासिक तालिकाको भ्रमण अवलोकन कार्यक्रमअघि महासङ्घको प्रदेश समिति बैठक बसेर विगत समीक्षा र आगामी कार्य योजनाबारे छलफल गरिने परिपाटी बसालिएको छ । बैठक सम्पन्न गरिएपछि सरोकारवालाहरुसँगको अन्तर्कृया हुँदै आएका छन् । यी अन्तर्कयामा सम्बन्धित जिल्लाभित्रका पर्यटकीय सम्भावनाका ठाउँबारे खुला छलफल हुँदै आएका महासङ्घका प्रदेश महासचिब वैकुण्ठ सापकोटा बताउनुहुन्छ ।
“अन्तर्कृयामा पर्यटकीय सम्भावनाका ठाउँबारे खुला छलफलको विधि बसालेका छौंं, यसले हामीलाई ठाउँको परिचय, महत्व र यिनका सम्भावनाबारे जानकारी बढाएको छ” सापकोटा भन्नुहुन्छ, “ यी कार्यक्रममा प्रदेशका सम्बद्ध मन्त्री, सचिब र सरोकारवालाबीच भएका खुला छलफलले राज्यका निकायहरुले चासो बढाएका अनुभूति मिलेको छ ।” सिरहाको सम्पन्न छलफलमा कमलदह, मानिकदह, सलहेस अखारा, फुलबारी र महिसोथा दरबारबारे निकै जानकारी पाइएको र यी ठाउँबारे राज्यको चासो मन्त्री भट्टराईबाट व्यक्त भएको सापकोटाको भनाइ छ ।
मासिक बैठकसँगैको नियमित अन्तर्कृया र स्थलगत अवलोकनमा महासङ्घ प्रदेशका पदाधिकारी तथा सदस्यहरु, राज्यका विभिन्न निकायका अधिकारी, सञ्चारकर्मी , सामाजिक सङ्घसंस्थाका प्रतिनिधि र नागरिक समाजका अगुवाको सहभागिता हुँदै आएको छ । महासङ्घले सुरु गरेको यो अभियानमा सरिक हुने अवसरले पर्यटकीय गन्तव्यको पहिचान, यिनको सम्भार, संरक्षण र प्रबद्र्धन गर्न सकिने कामका बारेमा स्पष्ट धारणा बन्न सहयोग पुगेको मन्त्री भट्टराईको प्रतिकृया छ ।
“महासङ्घले ‘घुमौ मधेश, बुझौं मधेश’ भन्ने नारा नै बनाएर थालेको अभियानले प्रदेशका पर्यटकीय सम्भावनाका ठाउँबारे चासो बढाएको छ” मन्त्री भट्टराई भन्नुहुन्छ, “मधेशमा चुरे पाहाडि शृङ्खलादेखि तराईका कृषियोग्य उर्वर ठाउँछन् , भौगोलिक विविधताको यो ठाउँलाई वरदान र अवसरका रुपमा लिएर भएका साधन, स्रोतको अधिकतम परिचालन अब हामीले गर्नु छ ।” मन्त्री भट्टराईले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा प्रदेशका यस्ता ठाउँबारे योजना बनाइएर रकम छुट्याइएको जानकारी दिनुभयो ।
पछिल्लो पटक आव २०८१/०८२ का लागि पर्यटन क्षेत्रमा प्रस्ताव गरिएका योजनाको सफल कार्यान्वयनले यहाँको रुपरेखा कोर्न मद्दत पुग्ने पर्यटन व्यवसायीले आस सँगालेका छन् ।