काठमाडौं : ६/७ वर्षअघि अभिनेत्री अनु शाहले फिल्म र म्यूजिक भिडियो लगातार गरिरहेकी थिइन् । तर, कोभिडपछि उनले म्यूजिक भिडियो छिटपुट गरिरहेको भए पनि फिल्मको अफर लगभग शून्यजस्तै छ । उनी ठूलो पर्दामा नदेखिएको नै ४/५ वर्ष भइसकेको छ । अब उनको कमब्याक फिल्म ‘ईश्वर’ आगामी साउन ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यो फिल्मप्रति उनलाई ठूलो आशा छ ।

झन्डै १५ वर्षदेखि अभिनयमा सक्रिय अनुलाई निरन्तर फिल्म पाउन कठिन छ भन्ने लाग्छ । आइतबार ‘ईश्वर’को पत्रकार भेटघाटमा उनले भनिन्, ‘निरन्तर फिल्म पाइरहन कठिन नै छ । ‘ईश्वर’ नै मैले ४/५ वर्षपछि गरेकी हुँ । बीचमा कुनै फिल्म गरिनँ । अफर नै नआएको चाहिँ होइन । यद्यपि, विभिन्न कारणले गरिनँ ।’ म्यूजिक भिडियोका कारण कामको अभाव भने नरहेको उनको दाबी छ ।

कोरोनाअघि फिल्मबाट प्रस्ताव आइरहेको भए पनि त्यसपछि फिल्म नै कम बन्न थालेको उनी बताउँछिन् । ‘कोरोना अगाडि मलाई फिल्मको अफर आइरहेकै थियो । म्यूजिक भिडियो त म हप्ताभरि नै गरिरहेकी हुन्थेँ । अहिले पनि म्यूजिक भिडियोको चाहिँ कमी छैन । तर, कोरोनापछि पैसाको खडेरीले होला फिल्म नै कम बनिरहेका छन् । म्यूजिक भिडियो पनि धेरै नै कम छ,’ उनले भनिन् ।

गएको ५ वर्षमा उनलाई राम्रो फिल्म गर्न पाए हुन्थ्यो भन्ने इच्छाले आफैंलाई गाह्रो बनाएको रहेछ । यस्तो इच्छा हरेक कलाकारलाई हुने उनको बुझाई छ । प्रायः स्थापित ब्यानरहरुमा आफ्नै कलाकार हुनु र कोरोनापछि फिल्म बन्न कमी हुँदा धेरै कलाकारहरुलाई काम एकदमै कम मिलिरहेको छ भन्ने उनलाई लाग्छ । अनुले डेढ दशकमा लगभग दुई दर्जन फिल्ममा अभिनय गरिसकेकी छन् ।

२०८१ असार १७, सोमबार १०:५२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय