महोत्तरी, १७ साउन,
सरकारले आफ्ना क्षेत्रका सम्भावनाबारे चासो बढाएपछि महोत्तरीका चुरेक्षेत्रका बासिन्दामा नयाँ आशा पलाएको छ । केन्द्र, प्रदेश र स्थानीयतहको चासोले चुरेक्षेत्रका बासिन्दामा नयाँ कामको थालनी हुने र यसले आपूmहरुको जीवनस्तरमा सुधार गर्ने आस जागेको हो ।
“हेर्नोस् बाबु, हाम्रो यो कन्दरामा कोही आउदैनथे, यसपालि साउन लागेयता ठूलाबडाको बाक्लै आउजाउ बढेको छ, अब त यहाँ ठूलठूला काम हुने भन्छन्” चुरेकाछको बर्दिबास-३ राइमण्डलधामकी ७० वर्षीया चन्द्रमाया पुलामी भन्नुहुन्छ, “अब यहाँ सरकारका काम बढे त हाम्रो ठाउँ पनि मान्छेको नजरमा पर्ने बन्ला ।” साउन लागेयता मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह र उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मिञाँ छुट्टाछुट्टै पुग्नु भएर गरिने कामबारे स्थानीयबासीसँग छलफल गर्नु भएपछि चुरे कन्दराको सो बस्तीमा केही हुने आस चन्द्रमायामा पलाएको हो ।
राइमण्डलधामका चन्द्रमायामात्र हैन, अहिलै पुरै बस्तीका बासिन्दा उत्साहित बनेका छन् । “हाम्रो ठाउँको मन्दिर र पाखा वरपर अब विकासका काम हुने कुरा छ, अब हाम्रो ठाउँको चिनारी परपरसम्म पुग्नेछ” सो बस्तीकै ६० वर्षीय दिलबहादुर राना मगर भन्नुहुन्छ, “यहाँ बाटोघाटो र अरु विकासका काम भए हामीले उब्जाएका फसल राम्रो दाममा बिक्नेछन् ।” राइमण्डलधामका लागि केन्द्र र प्रदेश सरकारका महत्वाकाङ्क्षी योजनाबारे राम्रो थाहा नपाएका राइमण्डलबासी मुख्यमन्त्री र मन्त्रीको आउजाउले अब आपूmहरुले फलाउने परवल, चना, बेसार, अदुवा र आफ्ना गाईभैंसीको दूध राम्रो मूल्यमा बिक्री हुने आसमा छन् ।
राइमण्डलमात्र नभएर अहिले चुरेक्षेत्रकै बर्दिबास-५ स्थित टुटेश्वरधाम र बर्दिबास-४ को माइस्थानस्थित पञ्चधुरामाइस्थान मन्दिर वरपरका बस्तीमा पनि आफ्नो ठाउँको विकासबारे निकै चासो बढेको छ । यसपालि साउने मेलाको अवसर पारेर मुख्यमन्त्री सिंह र मन्त्री मिञाँले टुटेश्वर, पञ्चधुरा माइमन्दिर , राइमण्डलधाम र बर्दिबास-३ पाटुस्थित मध्यपाषणकालीन हतियार कारखानाक्षेत्रको गत साता स्थलगत अवलोकन र स्थानीयबासीसँग गर्नसकिने कामबारे छलफल गर्नुभएको थियो । त्यसअघि प्रदेशकै गृह तथा सञ्चारमन्त्री राजकुमार लेखी र पछि भौतिक पूर्वाधार मन्त्री सरोज यादवको अवलोकन भ्रमणले स्थानीयबासीमा चासो र उत्साह जगाएको हो ।
यसपालि केन्द्र (सङ्घीय) र प्रदेश सरकारले चुरेक्षेत्रका धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वका ठाउँको विकासमा गहिरो रुची देखाएको यहाँका बासिन्दाको बुझाइ छ । “बजेटमा यहाँका कुरा परेका छन् रे , अनि मन्त्रीहरु पनि आउजाउ र हामीसँग छलफल गरीरहनु भएको छ” चुरेकाछकै बर्दिबास-३ पाटु बस्तीका ६५ वर्षीय होमबहादुर खड्का भन्नुहुन्छ, “केही काम अघि बढ्लाजस्तो छ ।”
चुरेक्षेत्रका आम बासिन्दामा केन्द्र र प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१/०८२ को बजेटमा यहाँका विषय समावेस हुनु र प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको सघन आउजाउ र स्थानीयसँग घनिभूत छलफल गर्न थालिएपछि सकारात्मक आश जागेको बर्दिबास-५ का वडाअध्यक्ष काहारमान स्याङ्वा बताउनुहुन्छ । अवलोकन भ्रमणकै क्रममा मुख्यमन्त्री सिंहले प्रदेश सरकारले रातु राइमण्डल पर्यटन विकास क्षेत्रमा ८० लाख, टुटेश्वरधाम क्षेत्रमा ५० लाख, पञ्चधुरा माईमन्दिरमा ५० लाख र बर्दिबास-३ पाटुमा ताल सौन्दर्यीकरणका लागि ५० लाख गरी चुरक्षेत्रमै दुई करोड ३० लाख रकम विनियोजित रहेको आपूmहरुलाई बताउनुभएको यहाँका बासिन्दा बताउँछन् । यसबाहेक केन्द्र सरकारले पनि रातु राइमण्डल पर्यटन विकास क्षेत्रमा ४५ लाख र टुटेश्वरधाम क्षेत्रको पूर्वाधार विकासमा ३६ लाख विनियोजन गरेको छ ।
केन्द्र र प्रदेश सरकारबाट विनियोजित रकम विस्तृत परियोजना प्रस्ताव निर्माण र पूर्वाधार विकासमा एउटै डालाबाट खर्च गरिनपर्ने यहाँका स्थानीयबासी बताउँछन् । “केन्द्र र प्रदेश सरकारमात्र हैन, स्थानीयतहले पनि यी क्षेत्रमा लगाउने रकम एक ठाउँ जम्मा गरेर खर्च गर्ने प्रणाली बसाउन पर्छ , यसले कामको गुणस्तर र मात्रा दुबैमा सकारात्मक प्रभाव पार्छ” बर्दिबास-४ का सामाजिक कार्यकर्ता सोम कार्की भन्नुहुन्छ , “सबैतिरबाट विनियोजित रकम एउटै डालामा राखेर विस्तृत परियोजना प्रस्ताव बनाएर सोअनुसार काम अघि बढे राम्रो परिणाम प्राप्त हुनेछ ।”
चुरेक्षेत्रका धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वका ठाउँबारे दुबै तह (केन्द्र र प्रदेश) का सरकारले यहाँका पर्यटकीय गन्तव्यबारे बढाएका चासोले अब चुरे क्षेत्रमा पर्ने मध्यपाषण युगकालीन हतियार कारखाना, गिद्धबास, परेवा पाखा (भिर) र राइमण्डलधाममा रातु राइमण्डल पर्यटन विकास क्षेत्र शिर्षकबाट काम हुने प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मिञाँले स्पष्ट पार्नुभएको छ । यी ठाउँका कामलाई एकठाउँबाट काम गर्ने वातावरण मिलाउन केन्द्र सरकारको संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र बर्दिबास नगरपालिकासँग समन्वयको प्रयत्न गरिने मन्त्री मिञाँको भनाइ छ ।
नयाँ आर्थिक वर्षको प्रारम्भताका नै यसभेगका बासिन्दा र प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुको चासोले यसपालि समयमै यी प्रस्तावित क्षेत्रका काम अघि बढ्ने यहाँका सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको धारणा बनेको छ । नयाँ आर्थिक वर्ष सुरु हुनासाथै यहाँका कामबारे सरकारी चासो देखिनु सुखद भएको होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका महासचिब नारायण घिमिरे बताउनुहुन्छ । यसैगरी बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काले पनि पछिल्ला सरकारी चासो यहाँको विकासमा सहयोगी हुने आस पलाएको बताउनुभयो ।
“मुख्यमन्त्री सिंहले चुरे क्षेत्रका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका ठाउँको पूर्वाधार विकासका लागि स्थानीय मौलिकता गुम्न नदिइ दीर्घकालीक योजना बनाइन पहल थालिने आश्वासन दिनुभएको छ” खड्का भन्नुहुन्छ, “अहिले मुख्यमन्त्रीको दौडधूपमा कामको हुटहुटी देखिन्छ, अब यस भेगका कामले गति लिनेछन् ।”
खड्काले पछिल्लो पटक सरकारले आपूmहरुका प्रस्तावबारे लचकता देखाएको प्रतिकृया दिनुभएको छ । “हामीले गत माघ ६ गतेदेखि गत जेठ मसान्तसम्म चुरेक्षेत्रका पर्यटकीय गन्तव्यको पहिचान गर्न १० वटा सामाजिक सङ्घसंस्थाको पहलकदमीमा पदयात्रा गर्दा ठम्याइएका ३५ स्थानबारे मुख्यमन्त्रीलाई जानकारी गरायौं” खड्काले भन्नुभयो, “मुख्यमन्त्री र प्रदेश सरकारका मन्त्रीहरुको सकारात्मक चासो बढेको छ, अब यसक्षेत्रका विकास कार्यले गति लिने विश्वास जागेको छ ।” पर्यटन गन्तव्यका लागि पदमार्गीले पहिचान गरेका ३५ ठाउँको परिचयसहित सो क्षेत्रमा गर्नसकिने कामबारे पदमार्गमा सम्मिलित संस्थाहरुले स्थानीयतह, प्रदेश सरकार र केन्द्र सरकारलाई प्रतिवेदन नै दिइएको खड्काको भनाइ छ । यसपालि नयाँ आर्थिक वर्षको बजेटमा प्रदेश र केन्द्र सरकारले गरेको सम्वोधनले सर्वसाधारणमा आशा जगाएको खड्का बताउनुहुन्छ ।
पछिल्लो पटक मुख्यमन्त्री सिंह र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री मिञाँले टुटेश्वरधाम, पञ्चधुरा माईस्थान, राइमण्डलधाम र मध्यपाषाणकालीन हतियार कारखाना रहेको ठाउँमा सघन कामको आवश्यकता औंल्याउनुभएको छ । मुख्यमन्त्री सिंहले मध्यपाषाणकालीन हतियार कारखानाबारे “यो मध्यपाषणकालीन हतियार कारखानाको पक्ष रोचक रहेछ, यसबारे गहिरिएर खोजअन्वेषण गरिन पर्छ, प्रदेश सरकारले यसको पहलकदमी लिन्छ” भन्नुभएको छ ।
सन् १९७५ देखि १९८५ सम्म १० वर्ष लगाएर जर्मन नागरिक गुडन कर्विन्सले चुरेक्षेत्रको पाटु वरपर गर्नुभएको खोजअन्वेषणमा रातो माटोले पुरिएको अवस्थामा ं ढुङ्गे हतियारहरु भेटिएपछि यो नै मध्यपाषण युगको हतियार कारखाना भएको निष्कर्ष कर्विन्सले निकाल्नु भएको थियो । सो समय १० देखि १२ हजार वर्ष पुरानो रहेको उहाँले आफ्नो खोज कृति ‘प्रि हिस्टोरिकल कल्चर्स इन नेपाल’-भाग १ (पृष्ट २३९, सन २००७) मा उल्लेख गर्नुभएको छ । हतियार कारखाना रहेको अहिलेको पाटु र रातु नदी वरपरको त्यतिखेरको मानव सभ्यता भियतनामसँग मेल खाने कर्विन्सले उल्लेख गर्नुभएको सन्दर्भ मुख्यमन्त्री सिंहले यसबारे निरन्तर खोज अध्ययन गरीरहनु भएका पत्रकार विशाल बस्नेतबाट जानकारी लिनुभयो । कर्विन्सको खोज अन्वेषणका सामग्री हाल पुरातत्व विभागमा रहेका छन् ।
कर्विन्सले आफ्नो कृति (पुस्तक) मा उल्लेख गरेअनुसार ढुङ्गा, पशुबस्तुका हाड र काठबाट निर्मित एकातिरको भाग धारिलो बनेका हतियार हजारौ सङ्ख्यामा भेटिएका थिए । अहिलेको पाटुको रातमाटे डाँडाक्षेत्रमा खनिदा ३० देखि ७० सेन्टीमिटर मुनि यस्ता हतियार भेटिएका कर्विन्सको वणर्न छ । यी हतियार त्यतिखेरको भारतका हतियारसँग मेल नखाएका हुँदा यहाँ भारततर्फबाट दक्षिणपूर्व तर्फबाट आएका हुनसक्ने कर्विन्सको अड्कल छ ।
पछिल्ला तीन महिनायता नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेश समितिले ‘घुमौ मधेश, बुझौ मधेश’ भन्ने नारासहित प्रदेशभित्रका धार्मिक, साँस्कृतिक, ऐतिहासिक, पुरातात्विक तथा वातावरणीय दृष्टिले खास महत्वका ठाउँको पहिचान गर्दै यिनको विकासमा स्थानीय, प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । यसअघि बारा र सिरहा जिल्लाका पर्यटकीय गन्तव्यबारे चासो बढाएको महासङ्घले अहिले जारी साउनको पहिलो साता मुख्यमन्त्री, मन्त्री, सञ्चारकर्मी, पर्यटन व्यवसायी र सामाजिक सङ्घसंस्थाका प्रतिनिधिलाई अवलोकन गराएको छ । यसले पर्यटकीय गन्तव्यबारे खोज, अन्वेषण र गर्नसकिने कामबारे राज्यका निकायहरुको ध्यानाकर्षण गराउने महासङ्घको विश्वास छ ।
“हामीले पर्यटन विकासको प्रचुर सम्भावना बोकेको मधेशबारे अब स्थलगत रुपमै चासो जगाउने अभियान थालेका छौं” बर्दिबास नगरपालिकाको संस्कृति तथा पर्यटन प्रबद्र्धन समितिका संयोजकसमेत रहनु भएका महासङ्घ मधेश प्रदेशका अध्यक्ष हिलालाल गौतम भन्नुहुन्छ, “अभियानको पहिलो चरणमा राज्यका विभिन्न निकायका पदाधिकारी तथा पर्यटनसम्बद्ध क्षेत्रका प्रतिनिधिसहित सर्वसाधारणको चासो बढेको छ ।” महोत्तरीका चुरेक्षेत्रका पर्यटकीय गन्तव्य र यिनको विकासका कुरामा सरकारका प्रतिनिधि र विभिन्न निकायमा बढेको चासोले अब काम अघि बढ्ने वातावरण मिल्दै गएको गौतम बताउनुहुन्छ ।
महोत्तरीमा चुरे पाहाडी क्षेत्र बर्दिबास नगरपालिकाले मात्र ओगटेको छ । त्यसैले यस ठाउँको विकासमा मुख्यतः बर्दिबास नगर नेतृत्वकै पहलकदमी हुनपर्ने यस भेगका बासिन्दा बताउँछन् । वन सम्पदा तथा जलाधार क्षेत्रले जिल्लाभरि नै प्रभाव पार्नेहुँदा यिनको संरक्षणमा सबै स्थानीयतहको ध्यान पुग्नपर्ने चुरे तथा जलाधारक्षेत्रको संरक्षणमा लामो अनुभव सँगाल्नु भएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादव बताउनुहुन्छ । यद्यपि यस कार्यको समन्वयमा बर्दिबास नगरपालिकाको पहलकदमी अपरिहार्य हुने यादवको भनाइ छ ।
चुरे क्षेत्रका पर्यटकीय गन्तव्यको पहिचान र यिनको सम्बद्र्धनका क्षेत्रमा यहाँका सामाजिक सङ्संस्थाले औंल्याएका स्थलबारे नगरपालिकाको चासो रहेको बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षत्री बताउनुहुन्छ । “हामीले पर्यटन र संस्कृतिका क्षेत्रमा मसिनो गरी काम बढाउन संस्थागत प्रयत्न थालेका छौं, यस क्षेत्रका काम हेर्न नगरमा संस्कृति तथा पर्यटन प्रबद्र्धन समिति गठन गरिएको छ” क्षत्रीले भन्नुभयो, “हाम्रो साधन स्रोत सिमित छ, हामी यसलाई अधिकतम परिचालित गर्दैछौं , पर्यटन प्रबद्र्धनका क्षेत्रका कामका फराकिलो क्षेत्र भएका हुँदा यसमा प्रदेश र केन्द्र सरकारको सहयोग खोजिनेछ ।”
पछिल्लो समय तीनै तहका सरकार, निजीक्षेत्र, पर्यटन व्यवसायी र सामाजिक सङ्घसंस्थाको चुरेक्षेत्रका पर्यटकीय गन्तव्यबारे चासो बढेपछि अब यसभेगमा योजनाबद्ध काम अघि बढ्ने यस भेगका बासिन्दामा विश्वास बढेको छ ।