बर्दिबास: मधेसको कैलास पर्वत टुटेश्वरनाथ महादेव मन्दिरमा जल अभिषेक गर्न आउने डन्डी बमको स्वास्थ्य परिक्षण गर्दै स्वागत् तथा सम्मान गरिएको छ । गौशालाको त्रिवेणीबाट जल लिएर दण्ड काट्दै शनिबार साँझ टुटेश्वर गाउँको फारलाइनमा लाइपुगेका उनीहरुलाई शुभ स्वस्तिक हस्पिटल बर्दिबासले सेवा र सम्मान गरेका हुन् ।
३० बढीको संख्याका रहेको डन्डी बमहरुको स्वास्थ्य जाँच गर्दै औषधी पनि वितरण गरिएको थियो । उनीहरुलाई फलफूल वितरण गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको हस्पिटलका संचालक दिपक कार्कीले बताए । डन्डी बम, डाक बम र काँबरीहरु टुटेश्वरनाथ महादेव मन्दिरको मुख्य आकर्षण रहेको उनले बताउ ।
नेपालको बाबाधाम र मधेसको कैलास पर्वतमा अवस्थित यो मन्दिरको विकासमा सबै जुट्नु पर्ने बर्दिबास नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष काहारमान स्यांगवाले बताए ।
डन्ड बमका नेतृत्वकर्ता बाबुदेव महतोले ३४ बर्ष अघि सुरु भएको डन्डी बम प्रति यस बर्ष सबैतिरबाट चासो , माया र सहयोग पाएको बताए । डन्डी बम टुटेश्वरनाथ महादेवको बिशेष आकर्षण हुन् ।
डन्डी बमको स्वागत र सम्मान कार्यक्रममा बर्दिबास उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सन्तोष सिग्देल, व्यवसायी कुमार भण्डारी, नेपाल बैंक बर्दिबास शाखका प्रबन्धक कृष्ण कुमार पौडेल लगायत थिए ।
गौशालाबाट चार दिन अघि दण्डी बमहरुले जल लिएर यात्रा सुरु गरेका थिए । पहिलो दिन गौशाला -८ कै स्वणर्मती नदी किनारको शम्भुस्थानमा रात्री विश्राम गरेका यात्री दोस्रो दिन गौशाला-८ कै ढल्केवरमा रात्री विश्राम गरेका थिए । । तेस्रो दिन पूर्वपश्चिम राजमार्गको टुटेश्वरचोक र चौथो दिन टुटेश्वर बस्तीको पुछारस्थित फारलाइनमा रात्री विश्राम गरेका थिए । आइतबार बिहान पाँचौ दिन मन्दिरमा पुगेर जल अभिषेक गर्दैछन् ।