महोत्तरी,  ५ कात्तिक  ।

चाडवाडका बेला आइपर्ने उपचार कार्यमा रगत अभाव हुन नदिन नेपाल रेडक्रस  सोसाइटी बर्दिबास उपशाखाले सघन रक्तदान अभियान संयोजन गरेको छ । दसैंताका अस्पतालहरुले माग गरेबमोजिम रगत आपुर्तिमा हम्मेहम्मे परेपछि अहिले तिहार र छठअघि रगत सहज उपलब्ध गराउन ठाउँठाउँमा रक्तदान अभियानको संयोजन गरिएको रेडक्रस बर्दिबास उपशाखाले जनाएको हो ।

यसपालि दसैंमा उपशाखाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रमा पर्याप्त रगत नहुँदा अपर्झट बिरामीको रक्तसमूहका दाताको खोजी गरेर बिरामीलाई दिनु परेको उपशाखा सभापति रेवन्त कार्कीको अनुभव छ । यसै अवस्थालाई मध्यनजर गरिदै तिहार र छठका बीचमा उपचार कार्यमा रगत अभाव हुन नदिन अहिले ठाउँठाउँमा रक्तदान कार्यक्रमको संयोजन गरीरहिएको कार्कीले बताउनुभयो । अहिले कात्तिक लागीकन दिनहुँ आयोजित रक्तदान कार्यक्रमबाट २०० प्रिन्ट रगत सङ्कलन गरी सकिएको कार्कीको भनाइ छ ।

“हामीले चाडवाडका बेला रगतबिना उपचारमा  असजिलो नहोस् भनेर विभिन्न सामाजिक सङ्घसंस्थालाई रक्तदान आयोजन गर्न अभिप्रेरित ग¥यौ, रेडक्रसले प्राविधिकपक्षका सबै काम हे¥यो’’ कार्कीले भन्नुभयो, “चालु कात्तिकका चार दिनभित्र नै २०० प्रिन्टमाथि रगत सङ्कलन भयो ।“ अहिले रेडक्रस बर्दिबासको अपिललाई बर्दिबास र ओरपरका अन्य स्थानीयतहमा सामाजिक सङ्घसंस्थाहरुले पहलकदमी लिइदिएपछि रक्त सञ्चार केन्द्रमा दैनिक रगत जम्मा भइरहेको उहाँको भनाइ छ ।

कात्तिक लागेको गतबिहीबारयता वित्तीय तथा सामाजिक सङ्घसंस्थाहरुले एकपछि अर्को रक्तदान कार्यक्रम आयोजना गरीरहेका छन् । यस क्रममा हिजो (आइतबारसम्म) २२५ प्रिन्ट सङ्कलन भएको रेडक्रस बर्दिबास उपशाखाले जनाएको छ ।

“अझै दुई÷ तीन दिनसम्म रक्तदानका कार्यक्रम तय भएका छन् ’’ उपशाखाको रक्तसञ्चार केन्द्रका प्राविधिक शाखा प्रमुख सिर्जना देवकोटा भन्नुहुन्छ, “अब छठसम्मै यस भेगका कुनैपनि अस्पताल र बिरामीले उपचारमा रगतको अभाव खेप्न पर्दैन ।’’

जिल्लामा रक्तसञ्चार केन्द्र सञ्चालन गर्ने रेडक्रस बर्दिबास उपशाखामात्र रहेको हुँदा रगत मागको चाप बढेको हो । यो उपशाखाले पछिल्लो एक वर्षभित्र महिनाको सालाखाला ३०० प्रिन्ट रगत अस्पतालहरूलाई पठाउँदै आएको छ । यसपालि दसैंमा अलि रगतको खर्च बढेपछि तिहार र छठअघि यो अभाव हुन नदिन सचेतता अपनाइएको रेडक्रस बर्दिबास उपशाखाले जनाएको छ ।

“अब हामी ढुक्क भएका छौं, मागबमोजिम उपचारका लागि रगत अस्पताललाई दिनसक्छौ’’ कार्कीले भन्नुभयो । आउने छठ पर्वसम्ममा ५०० प्रिन्ट रगत सङ्कलन हुने गरी रक्तदान अभियान बढेको कार्कीको भनाइ छ ।

बर्दिबासस्थित रक्तसञ्चार केन्द्रबाट बर्दिबासस्थित पाँच अस्पताल, जिल्लाकै गौशाला र जलेश्वर एबं जनकपुरस्थित अस्पतालहरुमा मागअनुसार रगत जाने गरेको रेडक्रस बर्दिबास उपशाखाले जनाएको छ । अन्य बेला सालाखाला ३०० प्रिन्ट खपत हुँदै आएकोमा बितेको दसैंमा माग बढेपछि अहिले रक्तदानका विशेष कार्यक्रम आयोजना गरिएका सभापति कार्कीले स्पष्ट पार्नुभयो ।

२०८१ कार्तिक ५, सोमबार १९:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय