
बर्दिबास (महोत्तरी), ३ माघ ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेशमा विपद प्रतिकार्यका लागि दक्ष जनशक्ति अपूग भएको औंल्याउनु भएको छ । आज बिहीबार महोत्तरीको बर्दिबास–४ स्थित कामीडाँडा माध्यमिक विद्यालय पसिरमा सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयले आयोजना गरेको विपद् व्यवस्थापनसम्बन्धी प्रतिकार्यको कृतिम नमूना अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले अब यस कार्यका लागि दक्ष जनशक्ति बढाउनपर्ने बताउनुभयो ।
आज २७ औं भूकम्प दिवसको अवसरमा बाहिनी मुख्यालयले आयोजना गरेको कार्यक्रममा मन्त्री लेखीले विपद् प्रतिकार्यका लागि सबैभन्दा पहिले सुरक्षा निकायमै जनशक्ति बढाइन पहलकदमी लिइने उल्लेख गर्नुभयो । “सबैभन्दा पहिले हामीले सुरक्षा निकायभित्रै दक्ष जनशक्ति बढाउन तालिमको व्यवस्था गर्न पर्छ” मन्त्री लेखीले भन्नुभयो, “यससँगै रेडक्रससहितका सामाजिक सङ्घसंस्था र माध्यमिक तहका विद्यालयमा पनि प्रतिकार्य अभ्यास गराएर दक्ष जनशक्ति बढाइन पर्दछ ।” प्रदेश सरकारले यस कार्यमा पहलकदमी लिने उहाँको भनाइ छ ।
कार्यक्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले विपद् प्रतिकार्य अभ्यास र यससम्बन्धी उद्धारका लागि स्थानीय जनशक्ति बढाउन स्थानीयतहहरुले नियमित कार्यक्रममा समावेस गर्नुपर्ने सुझाव राख्नुभयो । बाहिनी मुख्यालयका प्रमुख तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौबोजी श्रेष्ठले मधेश प्रदेशमा बाढी, डुवान , आगलागी र शीतलहरजस्ता विपद् बर्सेनि पर्दै आएका हुँदा यसको प्रतिरक्षा पूर्वतयारी र उद्धार कार्यका सामग्रीसहित ५० जनाको दक्ष टिम तयारी अवस्थामा राखिने गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरीका विपद् उद्धार टोलीका जवानहरुले भूकम्प आएका बेला कसरी उद्धार र जनधनको सुरक्षा गर्ने कृतिम अभ्यास प्रदर्शन गरेका छन् । यसैगरी आगलागी , बाढी/ुडुवान र शीतलहरका बेला गरिन पर्ने कार्यको पनि अभ्यास देखाएका छन् ।