फाेटाे- खडेरीले बीउ ब्याडमै डढेपछि चिन्तित भङ्गाहा-४ रामनगरका रामप्रित सदा मुसहर ।

महोत्तरी, १२ साउन ।

“अब घरका कोठी , भकारी र अन्न राखनधरनका भाँडा सबै खाली भए, खडेरीले रोपाइँ गर्न नपाएपछि यसपालि नयाँ धान भित्रिने कुरै छैन” बर्दिबास–९ टोकीटोलका किसान रामचन्द्र थापा मगर लामो सुस्केरा काढ्दै भन्नुहुन्छ, “दिनरात झमझम पानी परेर धान रोपाइँमा लाग्नु पर्ने साउन मासमा चैतवैशाख बिर्साउने हुरहुरे बतास पो चलेको छ , पानी पर्ने त छाँट नै देखिन्न ।” साउन किसानका घरमा भएको अन्नपात रित्तिने र नयाँ अन्न उब्जाउन धान रोपाइँको महिना मानिन्छ । यसपालि लामो खडेरीले धान रोप्न नपाएपछि यहाँ अब गुजाराको सङ्कट बढेको छ ।

पानी नपरेर यसपालि किसानले चैते र बर्खे धान पनि लगाउन सकेनन् । अहिले मुख्यबाली मानिएको हिउँदे धान पनि पानीबेगर रोप्न नपाएपछि किसानलाई अबको गुजाराको चिन्ताले पिरोलेको हो । आसै त हो, लामो खडेरीले आहत महोत्तरीका किसान अझै आकाश ताक्न छाडेका छैनन् । साउन दोस्रो साता चल्दै गर्दासम्म पानीबेगर धान रोप्न नपाएका किसानको अन्तिम आस नै आकासे पानी हो । अझै पानी परी हाले दुःखसुख केही त रोपिएला भन्ने आस हुँदा किसान आकाश ताक्दै छन् ।

“साउनमा पश्चिम दिशाबाट हावा चलेर कालो बादल मडारिदा पानी पर्ने लक्षण हुन्थ्यो, अहिले त पूर्वीया हुरी चलेर चैतवैशाख झैं धुलो पो उडेको छ”अहिलेको मौसम लक्षणले दिक्दार हुनुभएका भङ्गाहा–४ रामनगरका ६० वर्षीय किसान शुभनारायण ठाकुर भन्नुहुन्छ, “खै साउन दोस्रो साता भइसक्यो, खेत रोप्न पाएको छैन , पानी पर्ने छाँटकाँट नै देखिन्न, के गरी होला रोपाइँ ? कसरी चलाउने होला गुजारा ?” मुख्यबाली धान रोप्न नपाएपछि अब जहान परिवार के गरी पाल्ने भन्ने चिन्ताले पिरोल्न थालेको ठाकुरको भनाइ छ ।

करिब तीन बिघा धानखेती गर्ने ठाकुरले यसपालि मुस्किलले १० कठ्ठा धान रोप्नु भएको छ । रोपिएको रोपो पनि लामो खडेरीले धजा फाटेर पहेंलिदै गएको उहाँले बताउनुभयो । “घरमा भएको अन्नपात तै भइहाल्छ कि भन्ने आसले किनेको पानीमा रोपाइँ गर्दा सकियो, अब घरमा न अन्न छ, न खेतबाट केही आउला भन्ने आस” ठाकुर भन्नुहुन्छ, “अब खेतीबाट उभो लाग्ने त हैन, गुजारा चलाउनमै सकस पर्ने भयो ।” यसपालि थोरै रोपिएको खेत पनि निकै खर्चिलो भएको ठाकुरको भनाइ छ । आफ्नो खेतमा इनार, बोरिङ्ग र स्यालोट्युवबेल (भूमिगत सिँचाइका स्रोत) नहुने किसानले पानी किनेर रोपाइँ गर्नुपर्दा घरमा रहेको अन्नपात सबै त्यसमै गएको ठाकुरसहितका साना (गरिब) किसानको बिलौना छ ।

यो ठाकुरको मात्र नभइ यहाँका आम किसानको अवस्था बनेको छ । असार २२ ताका सक्नु पर्ने बीउ रोप साउन दोस्रो साता चल्दै गर्दासम्म नरोपिएपछि किसान रनभुल्ल छन् । अब पानी परी हालेपनि ब्याडको बीउ डढेको हुँदा रोपाइँ खासै बढ्ने अवस्था नरहेको किसान बताउँछन् । “धेरैजसो बीउ ब्याडमै डढ्यो, कति बुढो (छिप्पिएर) भएर अब रोप्न हुने छैन”ठाकुरकै छिमेकी हरिदेव साह भन्नुहुन्छ, “अब पानी परेपनि खै के होला रोपाइँ ?” बीउको रोप राम्रो नचल्दा र यसअघि दुःखले थोरथार रोपिएको रोपो पनि गाँजिन नसक्दा यसपालि खरुअन (कलम, पहिलो रोपो गाँजिएपछि उखेलेर रोपिने धान) पनि लगाउन पाइने अवस्था नरहेको उहाँ बताउनुहुन्छ ।

यसपालि मधेश नै खडेरीको सङ्कटमा छ । सरकारले नै तीन महिनाको विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरीसकेको छ । मधेशमा हालसम्म रोपाइँ ५० प्रतिशत पुगेको छैन । मधेशको कृषि निर्देशनालयले हालसम्म ४७ प्रतिशतमात्र धान रोपाइँ भएको जनाएको छ । मधेशका आठ जिल्लामध्ये महोत्तरीको धान रोपाइँ त झन निकै पछि छ ।

महोत्तरीमा कूल ७१ हजार हेक्टर खेतीयोग्य जग्गा भएमध्ये ४२ हजार ५०० हेक्टर धानखेती गर्न मिल्ने छ । तर यहाँ १० प्रतिशत जग्गामा मात्र स्थायी सिँचाइ (कुलो, नहर) को व्यवस्था हुँदा अधिकांश खेती आकासे पानीमा निर्भर छ । पछिल्ला केही वर्षयता वैकल्पिक सिँचाइका प्रबन्धका लागि इनार, डिपबोरिङ्ग र स्यालोट्युवबेल जडान गरिदै जाँदा यो प्रयत्नले थप १० प्रतिशत जग्गामा सिँचाइ सुविधा पु¥याएको छ । तर यसपालि लामो खडेरीले कुलो , नहरको पानीका स्रोतका मूहान तथा इनार, बोरिङ्गपनि धमाधम सुक्दैजाँदा पानीको हाहाकार परेको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत देवानन्द यादव बताउनुहुन्छ ।

“जिल्लामा सबैतिर पानीको हाहाकार छ, किसानले भरमग्दुर प्रयत्नले हालसम्म ३५ प्रतिशत रोपाइँ गरेका छन्”यादव भन्नुहुन्छ, “तर लगातारको खडेरीले रोपेको धान पनि राम्ररी उक्सन पाएको छैन, अरु बाँकी खेत त बाँझै छन् ।” अब धान रोपाइँ बढ्न नसकेपछि समयमै वैकल्पिक खेतीबारे किसानले तयारी गर्न पर्ने कृषि विज्ञ बताउँछन् ।

न्यूनतम साधन, स्रोत र सुविधा नहुँदा कहिल्यै समयमा खेती लगाउन नपाएको किसानको गुनासो छ । सिँचाइ, मल, बीउ र समयसमयमा प्राविधिक सल्लाहको सुनिश्चितता भएमात्र अबको खेती गर्नसकिने किसान बताउँछन् । तीनै तहका सरकारले यस दिशामा समन्वयात्मक पहलकदमी लिएमात्र खेती बढ्नसक्ने पाका किसानको भनाइ छ ।

 


२०८२ श्रावण १२, सोमबार १३:१६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय