भूमिका उपाध्याय,
बर्दिबास, १४ असार ।
मध्य असारमा किसानको ध्याउन्नमा जोडिदै साहित्य सर्जकहरुले राष्ट्रिय धान दिवसको सम्झना गरेका छन् । धनुषाको मिथिला–९ बेंगाडावरमा शनिबार प्रगतिशील लेखक सङ्घ मधेश प्रदेशले आयोजना गरेको साहित्यिक विमर्श तथा रचना वाचन कार्यक्रममा श्रष्टाले असार –१५ को राष्ट्रिय धान दिवस र यससँगै जोडिएर आउने किसानका विवशतालाई शब्दमा उतारेका हुन् ।
असार–१५ साहित्य सिर्जनाका सामग्रीको दृष्टिले अत्यन्त उर्वर बेला हुँदा यसलाई अवसर बनाएर कार्यक्रम आयोजना गरिएको प्रलेस मधेश प्रदेश समितिले जनाएको छ । कार्यक्रममा २० भन्दा बढी श्रष्टाले असारे–१५ पर्व र किसानले भोगेका समस्या आफ्ना सिर्जनामार्फत् व्यक्त गरेका छन् ।
कार्यक्रममा प्रसिद्ध साहित्यकार डा. राजेन्द्रप्रसाद विमलले साहित्यबाटै चेतनाको विकास हुने उल्लेख गर्दै राष्ट्रिय धान दिवसको पर्वसँगै किसानका दैनिकी साहित्यमा उतारिनपर्ने बताउनुभयो । यसैगरी शिक्षाविद् नारायणविक्रम थापाले मुलुकको उत्पादनसँग जोडिएको मुख्य मन्त्र नै ‘कृषि मुलश्च जीवनम्’ हुँदा साहित्य सिर्जनामा यो क्षेत्र प्रतिबिम्ब हुनपर्ने औंल्याउनुभयो । कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी र मिथिला नगरपालिकाका उपप्रमुख सुनितासिंह बुढाथोकीले साहित्य समाजको ऐना हुने उल्लेख गर्दै यसबाट समाजले अघिल्लो दिशा पाउन पर्ने बताउनुभयो ।
प्रलेस मधेसका अध्यक्ष नारायण घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी पत्रकार, किसान र छात्राछात्राले पनि रचना वाचन गरेका थिए ।




