
काठमाडौं : प्रहरीले साढे २ केजी युरेनियमसहित काठमाडौंबाट चारजनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख हरिबहादुर पालले पत्रकार सम्मेलन गर्दै यसबारेको विवरण सार्वजनिक गरेका हुन् ।
युरेनियम २३८ को गैरकानुनी कारोवार भइरहेको सूचनाका आधारमा उनीहरुलाई बौद्धबाट पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा रामेछाप लिखु तामाकोशी-५ का ४० वर्षीय नारायण सिंह तामाङ र ४० वर्षीया जानुका तामाङ, रामेछापकै बागजोर नगरपालिका निवासी २० वर्षीय प्रकाश चौहान र सिन्धुलीको सुनकोशी–४ बस्ने २० वर्षीय मनोज न्यौपाने छन् । पक्राउ परेका चारै जनालाई कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ ।
बरामद युरेनियम प्रतिकेजीको मूल्य एक अर्ब भन्दामाथि पर्ने महानगरीय प्रहरी कार्यालय प्रमुख पालले जानकारी दिएका छन्। तर उक्त युरेनियम प्रशोधन नभइसकेको अवस्थामा पाइएको हो।
पालले परीक्षणबाट युरेनियम नै भएको पुष्टि भए पनि प्रशोधन हुन बाँकी रहेको बताए। पक्राउ परेकाहरुलाई विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार कारबाही हुने बताइएको छ ।
यसरी भेटियो युरेनियम
नेपालकै इतिहासमा पहिलो पटक यति महँगो मूल्यको युरेनियम समातिएको प्रहरीले जनाएको छ । यो घटनाको सुरुवात प्रहरीलाई आएको खबरबाट भएको बताइन्छ ।
करिब ३ महिना अगाडि प्रहरीलाई खबर आयो, बौद्धमा राखिएको युरेनियमबारे । भनियो-बेच्नका लागि बौद्धको एक घरमा ठूलो परिमाणमा युरेनियम राखिएको छ ।
महानगरीय प्रहरी कार्यालयका एक अधिकारी भन्छन्, ‘यो खबर आउनसाथ विशेष टोली खटायौँ । त्यसपछि प्रहरीमा आएको सूचनाबारे खोजबिन हुन थाल्यो । खबर पुष्टि भइसकेपछि त्यसतर्फ निगरानी बढायौँ। त्यसपछि नियन्त्रणमा लिने रणनीति तय भयो।’
महानगरीय प्रहरी कार्यालय प्रमुख पालका अनुसार पक्का भएपछि एकजना कारोबारी खडा गरिएको थियो। ‘त्यसपछि एक जना कारोबारी खड गरियो, तिनै कारोबारीमार्फत बार्गेनिङ गरेर चारै जनालाई नियन्त्रणमा लियौँ।’यसमा संलग्न अन्यबारे खोजबिन भइरहेको पनि पालले जानकारी दिए।
२० वर्षदेखि एउटै घरमा
प्रहरीको प्रारम्भिक अनुसन्धानमा यो युरेनियम काठमाडौंमा लामो समयदेखि राखेको पाइएको छ । प्रहरी अधिकारी भन्छन्, कम्तीमा १५/२० वर्षदेखि एकै घरमा युरेनियम राखिएको थियो।’
धेरै समय राखिएपछि यति महंगो सामान राख्न नहुने भन्दै उनीहरुले गोप्य रुपमा कारोबारी खोज्न थालेको खुलेको छ। यसलाई बेच्ने योजना अनुरुप कारोबारीहरु विभिन्न ठाउँमा पुगेको पाइएको छ। त्यहीँबाट प्रहरीले सूचना पायो अनि छापा हान्यो।
प्रहरीका अनुसार यो युरेनियम लुकाउने र बेच्ने योजनामा घरबेटीको पनि संलग्नता रहेको छ। त्यहीकारण घरबेटी जानुका तामाङ पनि पक्राउ परेकी छन् । फरकधारबाट