
महोत्तरी : मिथिला माध्यमिकी यात्राका सहभागी बुधबार पाँचौं दिन महोत्तरी जिल्लाको जलेश्वार प्रवेश गरेका छन् ।
मगलबार चौथौ दिन महोत्तरीको मटिहानीमा प्रवेश गरेका थिए ।
यसअघि गत शनिबार धनुषाको ठेराकचुरीबाट यात्रा शुरु गरेका माध्यमिकी परिक्रमाका यात्रीले क्रमशः धनुषाको हनुमानगढी, भारतको मधुवनी जिल्लामा पर्ने कल्याणेश्वर, गिरिजास्थान र मटिहानीमा पहिलो, दोस्रो, तेस्रो र चौथो दिन प्रवेश गरेका थिए ।
पाँचौ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको रात्रिविश्रामपछि यात्री फेरि धनुषा जिल्ला प्रवेश गर्नेछन् ।
नेपाल र भारतको गरी जम्मा १३३ किलोमिटरको यो यात्रामा महोत्तरीमा २५ किलोमिटरको यात्रा गरिन्छ । अघि त्रेतायुगमा श्रीराम र सीताजीले विवाहपश्चात मिथिलाका विभिन्न ठाउँमा घुम्दै विहार गरेका सम्झनामा मिथिला माध्यमिकी परिक्रमाको परम्परा अठारौँ शताब्दीमा शुरु भएको मिथिला संस्कृति र परम्पराका जानकार बताउँछन् ।
रामसीताका पदचाप पछ्याउँदै उहाँहरूकै प्रतिमा राखिएका डोली अगाडि लगाएर गरिने यो यात्रा दैहिक नभएर पारलौकिक भएको साधुसन्तको भनाइ छ ।