वीरगंज : जिल्ला प्रहरी कार्यालय, बाराले जीतपुरसिमरा उपमहानगर–२३ भलुही निवासी १४ वर्षीय साहिद हुसेन मियाँको हत्या सम्बन्धमा तीन जना युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ। बुधवार जिल्ला प्रहरी कार्यालय, बारामा पत्रकार सम्मेलन गरी २५ वर्षीय क्यामुद्दीन मन्सुरी, २१ वर्षीय अमर हुसेन मियाँ हजाम र १९ वर्षीय आबेद्दीन मियाँ अन्सारीलाई सार्वजनिक गरेका हुन्। पक्राउ पर्नेहरु भलुही निवासी हुन्। साहिदको हत्यामा यी तीन जनाको संलग्नता रहेको प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले दाबी पेश गरे।

फागुन ११ गतेदेखि हराएका साहिदको शव २८ गते जीतपुरसिमरा उपमहानगर–१० बेहरास्थित फैक्ट्रीको फोहर फाल्ने डम्पिङ साइटमा सडेगलेको अवस्थामा बरामद भएको थियो।

जिप्रका बाराका प्रवक्ता एवं प्रनाउ गौतम मिश्र नेतृत्वको अनुसन्धान टोलीले तीनजना अभियुक्तलाई सो घटना सम्बन्धमा पक्राउ गरेको पत्रकार सम्मेलनमा बताइएको थियो। पक्राउ परेका तीनजना र मृतक साहिद लागूऔषध प्रयोगकर्ता भएको बताइएको छ। उक्त दिन गाउँमा जन्ती आएको बेला बाहिर निस्केका साहिदलाई अमर हुसेनले गाँजा खानको लागि घटनास्थलमा लिएर गएको र त्यहीं थप दुईजना आबेद्दीन र क्यामुद्दीन रहेको र उनीहरूले मिलेर हत्या गरेको प्रहरीले जनाएको छ।

मृतक साहिदलाई घाँटी थिचेर ढुङ्गाले टाउकोमा प्रहार गरी हत्या गरेको र दाबले खुट्टा, कम्मर, ढाडमा प्रहार गरेको प्रहरीले दाबी गरेको छ। हत्यापछि तीनै जनाले साहिदलाई घिसार्दै खाल्डोमा पुरेर भागेको बयान दिएको पत्रकार सम्मेलनमा प्रहरीले जनायो। हत्याको कारण पारिवारिक तथा जग्गाजमीनसम्बन्धी विवाद, प्रेम सम्बन्ध, रिसइबी रहेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको थियो।

२०७७ चैत्र ५, बिहीबार ०८:५७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय