
जनकपुरधाम : मिथिला परिक्रमाको आज छैटौं दिन यात्रीहरु महोत्तरीको जलेश्वरबाट मडई प्रवेश गरेका छन् ।
बुधबार पाँचौ दिन महोत्तरीको जलेश्वरमा प्रवेश गरेका थिए । यहाँ मुनेश्वर महादेवको मन्दिर तथा २ वटा आकर्षक पोखरी छन्।
यसअघि गत शनिबार धनुषाको ठेराकचुरीबाट यात्रा शुरु गरेका माध्यमिकी परिक्रमाका यात्रीले क्रमशः धनुषाको हनुमानगढी, भारतको मधुवनी जिल्लामा स्थित कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर र आज छैटौं दिन यात्रीहरु महोत्तरीको जलेश्वरबाट मडई प्रवेश गरेका छन् ।
नेपाल–भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राको नेपालको धनुषा र महोत्तरीका १३ तथा भारतका दुई गरी १५ विश्रामस्थल छन् । मिथिला महात्मयमा यी विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे छुट्टाछुट्टै प्रकाश पारिएकाले यी स्थलप्रति भक्तजनमा अटुट आस्था रहेको पाइन्छ ।
मिथिला महात्म्यअनुसार १८औँ शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको हो । यस यात्राका सहयात्रीले नेपालको १०७ एवं भारतको २६ गरी १३३ किलोमिटर भूमिका पैदलयात्रा तय गर्ने परम्परा रहेको छ । परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभङ्गहा, सीतामढी, बैजनाथधामका साधुहरु उल्लेख्य रुपमा सहभागिता हुने गर्दछ ।