जनकपुरधाम : मिथिला माध्यमिकी परिक्रमाको आज दसौं दिन यात्रीहरु धनुषाको धनुषाधाम प्रवेश गर्ने क्रम सुरु भएको छ ।
यस अघि नवौं दिनको विश्रामस्थल पर्वता रहेको थियो । जहाँ हनुमानजीको विहाल मन्दिर छ । पर्वता पुग्नुपूर्व भक्तजनहरुले हरिहरपुर स्थित क्षीरेश्वरनाथ महादेव स्थानमा पूजा अर्चना गर्छन् ।

परिक्रमाको दसौं दिन यात्रीहरु धनुषाधाम आइपुग्ने क्रम सुरु भएको छ । सीताजीसँग स्वयम्बर हुनुअघि भगवान् रामले भाँचेको धनुषका एक टुक्रा धनुषाधाममा खसेको विश्वास गरिन्छ । यो ठाउँ धनुष दर्शनका लागि प्रख्यात छ । विवाह पञ्चमी तथा रामनवमीका बेला पनि ठूलोमेला लाग्ने धनुषाधाम स्थित पोखरी, वाणगंगा नदी एवं उत्तरपट्टी करिब ५ सय विघामा फैलिएको घना वन क्षेत्रको यो ठाउँलाई विशेष रमणीय बनाएको छ । यहाँ माघ महिनाको प्रत्येक आइतबार मकर मेला लाग्ने गर्छन् ।

madhymik-parikrama-prikram-nepalvani-2

नेपाल–भारतका लागि सामाजिक तथा सद्भावको प्रतीक

नेपाल–भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्राको नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् । मिथिला महात्म्यमा विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे बेग्लाबेग्लै रूपमा चर्चा गरिएको स्थलप्रति भक्तजनमा अटुट विश्वास रहेको पाइन्छ ।

मिथिला महात्म्यअनुसार १८औँ शताब्दीदेखि धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाको रूपमा मनाइँदै आएको छ । यस यात्रामा सहभागी हुने श्रद्धालु भक्तजनले नेपालको १ सय ७ तथा भारतको २६ गरी १ सय ३३ किमि भूमि पैदलयात्रा तय गर्ने परम्परा छ । परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभंगा, सीतामढी, बैजनाथधामका साधुहरू उल्लेख्य रूपमा सहभागी हुने गर्छन् भने नेपालका विभिन्नस्थलबाट प्रतिनिधिमूलक उपस्थित साधुसन्तको रहने गरेको छ ।

महाशिवरात्री सम्पन्न लगत्तै प्रारम्भ हुने यस धार्मिकयात्रा १५ दिनभित्र जनकपुर पुगी होली खेलेर फागुनपूर्णिमा तिथि पारी समापन गर्ने परम्परा छ । यस परिक्रमामा सहभागी भएमा मन, वचन र कर्मले भएका अनेकन पाप तथा अन्याय नष्ट भएर मनोकामना पुरा हुने एवं मोक्ष प्राप्ति हुने धार्मिक मान्यता रहेको साधुसन्तहरूको दाबी छ ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा छ । यसलाई मिथिलाञ्चल क्षेत्रकै महाकुम्भ भनेर चिनिने गरिन्छ ।

मिथिला महात्म्यमा हरिहर क्षेत्रबाट प्रारम्भ भई गण्डकी नदीको किनार हुँदै हिमालय क्षेत्र, कोसी नदी भएर पुनः हरिहर क्षेत्रमा समापन हुने बृहत् परिक्रमाको चर्चा गरिएको छ । भारतको पटनास्थित गंगा नदीको तटमा हरिहर क्षेत्र अवस्थित छ ।

वृहत् माध्यमिकी र अन्तःगृह परिक्रमा मंसिर, माघ, फागुन र वैशाख महिनामा गर्नसक्ने वैदिक मान्यता भए पनि परिक्रमा फागुन महिनामै हुने परम्परा छ ।

पाँचसयको सानो संख्यालाई बढाएर २० हजार पु-याई परिक्रमाको महत्व बढाउने तथा वैष्णव सम्प्रदायको प्रवद्र्धनमा महन्त परमंहसको उल्लेखनीय योगदान रहेको ।

mithila-parikrama-nepalvani

माध्यमिकी परिक्रमाको विश्रामस्थल र विशेषता

मध्य परिक्रमा अर्थात् पञ्चकोसी परिक्रमा नेपाल–भारतको ८० कोशको वृत्ताकारमा घुमी मनाइने गरिन्छ । नेपाल र भारतको १५ विश्रामस्थलमा फागुन अमावस्यादेखि सुरु गरी फागुन पूणिर्मासम्ममा यो परिक्रमा अन्त्य गर्ने गरिन्छ । हरेक विश्रामस्थलको आफ्नो छुट्टै विशिष्ट र पुरातात्विक महत्व छ ।

हनुमानगढी, कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडै, धु्रवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोषर, औरही, करुणा र विशौलको परिक्रमा गरिन्छ । परिक्रमाको अन्तिम विश्रामस्थल जनकपुरधाममा तिर्थालु पुगी विश्राम लिन्छन् । यहाँ राति विश्राम लिएपश्चात अन्तिम प्रहरमा अन्तगृही परिक्रमा गर्ने गर्छन् । जानकी र राम मन्दिरलाई केन्द्रबिन्दु मानी अन्तगृही परिक्रमा गर्ने गर्छन् । यससँगै मिथिलामा होली प्रारम्भ हुन्छ । १५ दिने माध्यमिकी परिक्रमामा सहभागी भएका तिर्थालुहरू पैदल यात्रा गर्ने परम्परा छ । file photo

madhymik-parikrama-prikram-nepalvani-1

२०७७ चैत्र ९, सोमबार १०:२६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय