जनकपुरधाम : मिथिलाको महाकुम्भ मानिने धार्मिक एवम् ऐतिहासिक १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम आईपुगेको छ । गत शनिबारदेखि धनुषाको ठेराकचुरीबाट यात्रा सुरु गरेको माध्यमिकी परिक्रमाका यात्रीहरु आज बिहान बिहानै जनकपुरधाम आईपुगेका हुन् ।

परिक्रमामा नेपाल र भारतका विभिन्न स्थानका हजारौं साधुसन्त एवं श्रद्धालुहरुको सहभागिता रहेको छ । जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी अर्थात् भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मिथिला माध्यमिकी परिक्रमा विधिवत रुपमा सुरु भएको थियो ।

मिथिलाको महाकुम्भ भनेर चिनिने यस महामहोत्सवमा हजारौंको सहभागिता रहने गरेपनि यस धार्मिक यात्रालाई व्यवसायिक रुप दिन नसक्नु सरकारको कमजोरी रहेको जानकी मन्दिरका सहायक महन्थ राम रोशन दासले बताए । नेपाल भारत दुबै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सदभावको प्रतीक बनेको यस परिक्रमा यात्रामा नेपालको १३ तथा भारतको २ गरी जम्मा १५ वटा विश्रामस्थलहरु छन् ।

मिथिला महात्म्यअनुसार १८औं शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको हो । यस यात्राका सहयात्रीले नेपालका १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिमा पैदलयात्रा तय गर्ने परम्परा रहेको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारवटै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ । प्रत्येक वर्ष झैं यस वर्षपनि परिक्रमामा श्रद्धालुहरूको भीड देखिएको छ ।

मिथिला महात्म्यका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृह गरी तीनवटा परिक्रमाको उल्लेख पाइन्छ । भोली आइतबार बिहान श्रद्धालुहरु अन्तगृह घुमेर परिक्रमालाई समापन गर्नेछन् । जनकपुरमा यसपटक सोमबार होली पर्व मनाइदै छ । आइतबार मध्य परिक्रमा समापन गर्ने भएकाले त्यसको भोलीपल्ट सोमबार होली पर्व मनाउन लागिएको हो ।

२०७७ चैत्र १४, शनिबार ०७:०९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय