जनकपुरधाम : प्रदेश २ मा नेकपा एमाले संसदीय दलको बहुमत सदस्यको बैठकले संसदीय दलको नेता परिवर्तन गरेको छ ।

प्रदेश २ को प्रदेशसभामा रहेका एमालेका २१ सांसदमध्ये आइतबार १३ सांसद उपस्थित बैठकले मण्डललाई हटाएर शत्रुधन महतोलाई संसदीय दलको नेतामा चयन गरेको हो । आइतबारको बैठकमा सहभागी हुने सांसदहरु माधव नेपाल समूहका हुन् ।

सांसद बेचु लुंगेलीका अनुसार दलको उपनेतामा रवीन्द्र बैठा चयन भएका छन् । यस्तै, सुन्दरबहादुर विश्वकर्मालाई प्रमुख सचेतक र लुंगेलीलाई सचेतकमा राखिएको छ । यी दुबै यसअघि पनि यही पदमा रहेका थिए ।

तत्कालिन एमाले र माओवादी मिलेर नेकपा गठन बनेपछि संसदीय दलको नेतामा मण्डल नै थिए । तर, ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि प्रचण्ड–माधव समूहले मण्डललाई नेताबाट हटाएर महतोलाई नै नेता बनाएको थियो ।

सर्वाेच्च अदालतले २३ फागुनमा एमाले र माओवादी केन्द्र दुबै दललाई पुरानै अवस्थामा फर्किने फैसला सुनाएपछि एमालेको बहुमत सदस्यको बैठकले संसदीय दलको नेतामा महतोलाई चयन गरेको हो ।

नेकपा माओवादी केन्द्रले यसअघि नै भरत साहलाई संसदीय दलको नेतामा चयन गरिसकेको छ ।

२०७७ चैत्र २९, आईतवार १६:१८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय