
काठमाडौँ : रौतहटको गरुडा गाँउपालिका वडा नम्बर–७ पिपरिया दोस्तीयास्थित श्री माध्यमिक विद्यालयका ९ जना शिक्षकमा कारोना संक्रमण देखिएको छ । शिक्षकमा संक्रमण देखिएपछि आगामी वैशाख १२ गतेसम्मको लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक लखेन्द्रप्रसाद यादवले बताए ।
उनले भने, ‘गत वैशाख २ गते विद्यालयको एक जना शिक्षकमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरेका हौँ ।’विद्यालयका अन्य शिक्षकको पीसीआर जाँच गर्दा वैशाख ४ गते (हिजो) थप ८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित शिक्षकहरुको नेगेटिभ रिपोर्ट नआउँदासम्मको लागि विद्यालय बन्द हुने उनले बताए ।
उनले भने, ‘धेरै शिक्षकहरुमा संक्रमण देखिएकाले थप संक्रमण फैलिन नदिन विद्यालय बन्द गरिएको हो ।’ विद्यालयका कर्मचारी, विद्यार्थी र अभिभावकहरुको पीसीआर जाँच गर्न जिल्ला प्रशासन कार्यालय, वडा कार्यालय र नगरपालिकाहरुलाई आग्रह गरेको उनले जानकारी दिए ।
गाउँको एउटै विद्यालयका ९ जना शिक्षकमा कोरोना देखिएपछि सो क्षेत्रका अरुलाई पनि कोरोनाको संक्रमण भएको हुनसक्ने उनले बताए ।
उनले भने, ‘सरकारले शहरी क्षेत्रमा मात्र कोरोना संक्रमणको उच्च जोखिम रहेको बताउँदै आएको छ तर हाम्रो विद्यालय रहेका स्थान रौतहट जिल्लाको दुर्गम गाउँ हो ।’ सरकारले शहरी क्षेत्रलाई मात्र नभएर गाँउलाई पनि प्राथमिकतामा राखेर कोरोना चेकजाँच प्रभावकारी ढंगले अघि बढाउनुपर्ने उनले बताए ।