काठमाडाैं : शिक्षण अस्पताल महाराजगञ्जको नयाँ भवनमा हाल कोरोना संक्रमणका बिरामीलाई मात्र उपचार गर्ने गरी १४० शय्याको उपचार कक्ष सञ्चालनमा आएको छ ।

क्यान्सर उपचारका लागि निर्माण गरिएको सुरेश वाग्ले क्यान्सर सेन्टरलाई अहिलेका लागि कोभिड–१९ उपचार कक्ष बनाउन लागिएको हो । अहिले ४० शय्या सञ्चालनमा आइसकेको छ ।

अस्पताल तयारीका सम्बन्धमा जानकारी लिन मंगलवार साँझ काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र ३ नम्बर वडाका अध्यक्ष दीपक केसी अस्पताल पुगेका थिए । त्यसक्रममा अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिनेश काफ्लेले जनशक्ति परिचालन र स्रोत व्यवस्थापनका कोणबाट महामारी व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले त्यस किसिमको व्यवस्था गरिएको बताए ।

महानगर प्रमुख शाक्यले कामपाले संस्थागत साझेदारीबाट कोभिड रोकथाम र नियन्त्रणका लागि दीगो र परिणाममुखी काम गर्ने योजनामा रहेको बताए । ‘जटिल अवस्थामा पुगेका कोभिडका बिरामीको उपचारका लागि अस्पतालबाट प्राप्त प्रस्तावबारे छिट्टै निर्णय दिनेछौं,’ उनले भने ।

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार अस्पतालले अहिले २५० शय्या कोभिडका विरामीका लागि छुट््याएको छ । यीमध्ये २१८ बिरामीले उपचार गराइरहेका छन् । अस्पतालमा उपचार गराउन आएका कोभिडका बिरामीमध्ये यसपटक २ जनाको मृत्यु भएको छ ।

२०७८ बैशाख २३, बिहीबार ०८:२७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय