जनकपुरधाम : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि धनुषा, सर्लाही र महोत्तरीमा निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ ।
तीनै जिल्लामा अब अगामी जेष्ठ १० गते राति १२ बजेसम्म निषेधाज्ञा रहनेछ । महोत्तरीको जलेश्वरमा रहेको मिना बजार, त्यसको आसपास, साहुजी पट्टी, महादेव मन्दिर क्षेत्रलाई पूर्ण रुपमा बन्द गरिएको छ । यस्तै विवाह, ब्रतबन्ध, न्वारन र मृत्यू संस्कारमा १० जनाभन्दा बढी सहभागी गराउन नहुने निर्णय पनि महोत्तरी डीसीसीएमसीले गरेको छ ।
यस जिल्लामा खाद्यान्न, फलफूल, दुध÷डेरी र ग्याँस पसल भने विहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न दिइने छ । यता, धनुषामा विवाह, ब्रतबन्ध र मृत्यू संस्कार जस्ता कार्यमा १५ जनासम्म सहभागी हुन पाउने निर्णय भएको छ । अत्यावश्यक पसल भने धनुषामा पनि विहान ६ बजेदेखि ९ बजेसम्म खोल्न पाउने भनिएको छ । जनकपुरको प्रादेशिक अस्पताल क्षेत्रमा भने निषेधाज्ञाको प्रभाव परेको छैन ।
उक्त क्षेत्रमा विरामी बाहेकका मानिस आवतजावत गरिरहेको देखिन्छ । टेम्पु पनि सञ्चालनमै रहेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले निषेधाज्ञाका बेला खाद्यान्न, फलफूल, तरकारी, दुध, ग्याँसका पसलहरु मात्र विहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए । उनका अनुसार अत्यावश्यक बाहेकका सबै पसल, सवारी साधन, उद्योग कलकारखाना बन्द रहने उनको भनाई छ । पर्सामा भने बुधवार नै निषेधाज्ञा लम्ब्याउने निर्णय गरिसकिएको छ ।
अगामी जेठ ६ गतेसम्मका लागि पर्सामा निषेधाज्ञा बढाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अन्य जिल्लामा उद्योग कलकारखान बन्द गरिएपनि पर्सामा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न पाउने निर्णय गरिएको छ ।