काठमाडौं : नेपाली फिल्ममा आफूलाई स्थापित गर्न संघर्षरत अभिनेत्री मिरुना मगरको जन्म हङकङमा भएको हो । अहिले परिवारसँग बेलायतमा बस्दै आएकी उनी १३ वर्षसम्म धरानमा बसेकी थिइन् । आमा शशी थापा सुब्बाले लामो समय नाट्यकर्ममा विताएकाले उनलाई बाल्यकालदेखि नै अभिनयप्रति रुची थियो । नेपाल बसाईको क्रममा उनले अनुप बरालबाट अभिनयको कोर्ष लिइन् ।
नाटक ‘कथादेश ३’ मा अभिनय गर्दैगर्दा उनलाई फिल्म ‘लालपुर्जा’ अफर भएको थियो । यो फिल्ममा उनी अडिसनबाट छानिएकी थिइन् । फिल्ममा उनको जोडी सौगात मल्लसँग बाँधिएको थियो । तर, उनलाई पहिलो गाँसमै ढुंगा लाग्यो । फिल्म बक्सअफिसमा चलेन । न त उनको अभिनयको नै रुचाइयो । उनले अहिलेसम्म ‘रोज, साइँनो, चच हुईं, जारी’ फिल्ममा काम गरिसकेकी छन् ।
मंगलवार इन्स्टामा एक प्रशंसकले फिल्म प्रवेशलाई लिएर सोधेको प्रश्नमा उनले नाटकदेखि फिल्मसम्मको आफ्नो सफरको बारेमा बताएकी छन् । उनले भनेकी छन्, ‘मलाई अभिनयप्रति सधैं रुची थियो तर यो मैले गर्नु पर्छ वा पर्दैन भन्ने निर्णय लिन सकेको थिइनँ । २०१६ मा अभिनय कोर्ष गरेपछि मैले एउटा नाटकमा काम गरेँ, त्यही नाटकका कारण मैले पहिलो फिल्म पाएको थिएँ ।’
अभिनय कोष, नाटक हुँदै फिल्मसम्मको प्रक्रियामा आफूले पूरा आनन्द लिएको र अभिनयप्रति माया बसेको उनले बताएकी छन् । स्थिति सामान्य भएपछि उनी फिल्म ‘कबड्डी ४’ को छायांकनमा व्यस्त हुँदैछिन् । यही फिल्मका लागि उनी गत फागुनमा बेलायतबाट नेपाल आएकी थिइन् । तर, कोरोनाले फिल्मको छायांकन रोकियो । मिरुनाको पाइपलाइनमा अर्को पनि फिल्म छ ।