धनवीर महतो 

महोत्तरी :  गौशाला नगरपालिकाको कार्यालयद्धारा निर्माण भईरहेको श्रीमावि भेडियाही फुलकाहाको निर्माणाधिन भवनमा कुहिएको रड प्रयोग भएको पाईएको छ । नगर विकास योजनामार्फत निर्माण भईरहेको सो दुईतल्ले भवनमा पुरानो एवम कामै नलाग्ने रडको प्रयोग भएको छ ।

७० लाखको लागतमा निर्माण भईरहेको भवनको सिढी लगायतका स्थानमा जीर्ण रड प्रयोग गरिएको छ । ४ कोठा तल र ४ कोठामाथि गरि ८ वटा भवन निर्माण भईरहेको सो भवन निर्माणको क्रममा अनेकौपटक नगरपालिकाका जनप्रतिनिधी एवम कर्मचारीहरुले अनुगमन गर्दा समेत सोतर्फ कसैको ध्यान पुग्न नसक्दा भवन निर्माणको क्रममा कामै नलाग्ने रडको प्रयोग भएको हो ।

भवन निर्माणको क्रममा रडको अपुग भएपछि तत्कालको समयमा पुरानो रड प्रयोगमा ल्याएको उपभोक्ता समितीका अध्यक्ष रामबाबु यादवले बताउनुभयो । निर्माणस्थलमा रहेको पुरानो एवम कामै नलाग्ने रड अब प्रयोगमा नल्याउने अध्यक्ष यादवको भनाई रहेको छ । गुणस्तरहीन रड केहीमात्रामा भवन निर्माणको क्रममा प्रयोग भएको अध्यक्ष यादवले स्वीकार गर्नुभयो ।

यस सम्बन्धमा वडा नं. ६ का वडाअध्यक्ष नथुनी राउतले आ आईन्दा यस्ता गुणस्तरहीन सामग्रीहरु प्रयोगमा नल्याउने प्रतिवद्ध जनाउनुभयो । आफुले नियमित रुपमा अनुगमन गर्दै आएको र सिढीको संरचना निर्माण गर्ने क्रममा रडको भने प्रयोग भएको वडाअध्यक्ष राउतले बताउनुभयो । गाँउमा रहेको सो विद्यालय संचालन गर्नका लागि भौतिक संरचनाको अभाव भएपछि नगरपालिकाको कार्यालयले गाँउभन्दा टाढा चौरीमा सो विद्यालयको नयाँ संरचना निर्माण गरिदैछ ।

यस सम्बन्धमा आफुलाई जानकारी नभएकोले आफुले यस सम्बन्धमा अनुगमन गरि वास्तविकता पता लगाउने गौशाला नगरपालिकाको ईन्जिनियर प्रवीण सिंहले बताउनुभयो । आफु लकडाउनको समयमा घरमै रहेकोले यस सम्बन्धमा सव ईन्जिनियरसँग जानकारी लिईने ईन्जिनियर सिंहले जानकारी दिनुभयो ।

२०७८ जेष्ठ ८, शनिबार ०९:०८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय