बर्दिबास : महोत्तरीको बर्दिबास अस्पतालले २० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त गरेको छ ।

कारितास नेपाल, कारितास जर्मनी, आड्रा नेपाल र स्वीस सोलिडारिटीसहितका अन्तराष्ट्रिय गैर सरकारी संस्थाले बर्दिबास अस्पताललाई कोभिड-१९ सङ्क्रमण प्रतिरक्षा, जाँच र बिरामीको उपचार प्रयोजनका स्वास्थ्य सामग्री प्रदान गरेको हो । दातृ निकायका साझेदार संस्था तथा सामग्री व्यवस्थापनका समन्वयकर्ता सामुदायिक बिकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादवले सामग्री अस्पताल बिकास समितिका अध्यक्ष तथा बर्दिबास नगरप्रमुख बिदुरकुमार कार्कीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो ।

कोभिड-१९ को सघन उपचार गर्दै आएको अस्पताललाई कारितास नेपाल र कारितास जर्मनीले १६ लाख ४७८ र आड्रा नेपाल र स्विस सोलिडारिटीले दुई लाख १३ हजार ४९७ मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरेका बर्दिबास अस्पतालले जनाएको छ ।

प्राप्त सामग्रीमा अक्सिजन कन्सेट्रेटर मसिन, नेबुलाइजर मसिन, पल्स अक्सिमिटर, प्रोटेवल सक्सेन मसिन, अक्सिजन सिलिण्डर, सेनिटाइजर, भिटिएम ट्युव, एन्टिजेन किट, एक्सट्रक्सन किट, पिपिई सेट, थर्मल गन, सर्जिकल ग्लोव्स, सर्जिकल मास्क र एन-९५ सहितका सामग्री रहेका अस्पतालका जनस्वास्थ्य निरीक्षक तथा कोभिड-१९ स्रोतव्यक्ति रामबाबु यादवले जानकारी दिनुभयो । यसै साताको प्रारम्भमा सामुदायिक बिकास तथा पैरवी मञ्च नेपाल (बोलीचालीमा पैरवी मञ्च भनिन्छ) कै समन्वयमा हेल्भाटस अन्तराष्ट्रिय गैर सरकारी संस्थाले अस्पताललाई १२ लाख मूल्य बराबरका यस्तै स्वास्थ्य सामग्री प्रदान गरेको थियो ।

यसैगरी कारितास नेपाल र कारितास जर्मनीले आजै जिल्लाको गौशाला नगरपालिका-१२ स्थित कोभिड-१९ आइसोलेशन सञ्चालन गरेको स्वास्थ्यचौकी इमलीबजारलाई पाँच लाख मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरेको छ । यसैगरी आड्रा नेपाल र स्विस सोलिडारिटीले छिमेकको धनुषा जिल्लामा पर्ने बटेश्वर स्वास्थ्यचौकीलाई करिब ३७ हजार मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको पैरवी मञ्चले जनाएको छ ।

२०७८ जेष्ठ २०, बिहीबार १३:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय